लोप हुँदै गरेको ‘संगिनी’ नाचको संरक्षणम काँकरभिट्टाका महिला

२१ साउन, मेचीनगर  : खासगरी महिलाहरुद्वारा गीत गाएर नाची–नाची खेल्ने एक परम्परागत नृत्य हो ‘संगिनी’ । ‘संगिनी’ नाचमा धार्मिक ग्रन्थहरू जस्तै रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको कुरालाई गीत र लयमा परिणत गरी ताली बजाई नाच्ने र गाइने गरिन्छ ।

यसरी नाच्नुलाई ‘संगिनी’ नृत्य भनिन्छ । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै गाउंदै नाच्दै गरिने यो ‘संगिनी’ गीत सुन्नमा मिठो हुन्छ । विस्तारै गीत गाउंदै र नाच्दै गरिने यो ‘संगिनी’नाच बढ्दो आधुनिकीकरण सँगै विस्तारै लोप हुने स्थितिमा पुगेको छ । अहिलेको पुस्ता त ‘संगिनी’ नृत्य के हो भन्नेसमेत बुझ्न नसक्ने अवस्था छ ।

तर, पछिल्लो समय यसको संरक्षणमा झापा मेचीनगर—६ काँकरभिट्टाका महिलाहरु जुटेका छन् । एकता समूह र ज्येष्ठ नागरिक समाजकातर्फबाट यो ‘संगिनी’ नृत्यलाई बचाई राख्न यहाँका महिलाहरु जुटेका हुन । झापा मेचीनगर —६ काँकरभिट्टाकी ५५ वर्षीया नारायणी गौतम पाण्डेसहित मञ्जु रिजाल, सञ्जु पाण्डे , कल्पना मैनाली, अञ्जु खरेल, मीना पौडेल, मीना दाहाल, यशोदा पोख्रेल, कल्पना सिटौला, सीता भण्डारीलगायतका महिलाहरु लोपोन्मुख बनेको नेपाली लोक संगीत ‘संगिनी’ जोगाउने अभियानमा लागि परेका छन् ।

‘संगिनी’ संरक्षणमा नगरका महिलाहरु जुटेपछि उनीहरुको यो कामको चौतर्फी तारीफ र प्रशंसा हुन थालेको छ । गाउँका थोरै महिलाहरु भेला भएर गाउँमै ‘संगिनी’ नाच्दैं आएपनि हाल छिमेकी पालिकाहरुले समेत उनीहरुलाई बोलाउन थालेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागि परेका यहाँका महिला हरुलाई पुरुषहरुले समेत साथ दिन थालेका छन् । पछिल्लो समय यहाँका महिलाले ‘संगिनी’ नाच संरक्षणमा गरेको काम प्रशंसनीय रहेको पंण्डित टिकाप्रसाद खनालको प्रतिक्रिया छ ।

झापा मेचीनगर —६ काँकरभिट्टाकी ५५ वर्षीया नारायणी गौतम पाण्डेसहित थुप्रै महिलाहरु अहिले अलग अलग स्थानमा हुने विविध कार्यक्रममा ‘संगिनी’ नृत्य लिएर पुग्ने गरेका छन् । पाण्डेका अनुसार सामूहिक रूपमा लय हाल्दै गाउनासाथ गोलबद्ध रहेका महिला नाच्ने शैलीमा नाच्ने र यस नाचमा महिलाहरूले आफ्नो पीडाका कथा लयमा परिणत गरेर गाउने गर्छन् ।

‘संगिनी’ नाच हिजोआज मेचीनगरका गाउँ–गाउँमा देख्न र सुन्न सकिन्छ । बिशेषगरी बालाचतुर्दशी, ऋषी पञ्चमी, हरितालिका तीज, ब्रतको अवसरमा गाउँदै नाचिने ‘संगिनी’ अहिले औपचारिकरुपमा आयोजना गरिने कार्यक्रममा समेत देखिन थालेको छ । पछिल्लो समयमा झण्डै लोप हुने अवस्थामा पुगेको ‘संगिनी’ नाच मेचीनगरका महिलाहरुका कारण विस्तारै पुनः ब्यूझन थालेको छ ।

ऐतिहासिक तथा धार्मिक श्लोक समेटेर नाचिने ‘संगिनी’मा पछिल्लो समय महिला प्रोत्साहनका कथा गाइने गरिएको पाण्डेको भनाई छ । उनले सानै उमेरदेखि नै घरमा हजुरआमा आमासँग यो नाच नाच्ने गरेको बताइन् ।

आधुनिकतासँगै नेपाली समाजले मौलिक पहिचान भने बिर्सदै गएको तर्क गदैं यसको संरक्षणमा आफुहरु जुटेको अञ्जु खरेलको प्रतिक्रिया छ । उनी पनि निक्कै राम्रो ‘संगिनी’ नृत्य गर्छिन भने नृत्य गर्नका लागि टाढा टाढा पुग्ने गरेकी छन् । भजन किर्तनभित्र पर्ने धार्मिक एवम् साँस्कृतिक े ‘संगिनी’ नाचलाई धार्मिक बाहेक सामाजिक विकृति र विसंगतिकाविरुद्ध आवाज उठाउन समेत प्रयोग सुरु भएको कल्पना ओली सिटौलाको भनाई छ ।

अहिले आफुहरुले गाउँघरमा आयोजना गरिने ब्रतका दिन समेत नाचिने ‘संगिनी’ नाचमा बुढी आमादेखि युवतीसमेत रमाइलो गर्दै झुम्मिने गरेको सिटौला बताउँछिन् । लोप हुन लागेको संस्कारलाई निक्कै वर्षदेखि संरक्षण गर्दै आएको बताउँछिन् उनी ।

बजारमा भित्रिएक क्यासेट अडियो प्ल्येयरका कारण हिजोआज ‘संगिनी’ नाच्ने प्रचलनमा कमी आएको मेचीनगरकी गीता गौतम उप्रेतीको भनाई छ । ‘अहिले डिजे र मोवायलबाट गीत बजाउन थालियो, अहिलेका मान्छे त्यसैमा झुम्मिन थाले,’ उप्रेतीले भनिन्, ‘हजुरआमाहरुको पालामा जस्तो हिजोआज ‘संगिनी’ नाचेको देखिँदैन ।’ ‘संगिनी’ नाचमा महिलाका दुःख सुखका कुराहरु, जाँतो पिस्दादेखि ढिँकी कुट्दासम्मका कुरा गीतका माध्यमबाट पोख्ने गरिन्छ । खासगरी, पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको प्रति उनले चिन्ता व्यक्त गरीन् ।

मैलिक संस्कार बोकेको ‘संगिनी’ नाचलाई मेचीनगर काँकरभिट्टाका महिलाहरुले जस्तै हजुरआमा पुस्तावाट नातिनी पुस्तासम्म पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने ज्येष्ठ नागरिक मेचीनगर समितिका नरेन्द्रप्रकाश सिटौलाको भनाई छ ।

मेचीनगर नगरपालिकाकी उप–प्रमुख मीना पोख्रेल उप्रेतीले विभिन्न जातजाति, वर्ग समुदायको भाषा, कला, संस्कृति, पहिचान र परम्परागत भेषभुषाको संरक्षण र जर्गेनाको लागि नगरपालिकाले बजेट विनियोजन गर्ने गरेको बताईन् । हरेक जातिको संस्कृति संरक्षणमा हातेमालो गर्दै आएको स्थानीय सरकारले सांस्कृतिक पर्व मनाउनका लागि जति सकेको आर्थिक सहयोग समेत प्रदान गरेको उनले भनिन् । जातीय, धार्मिक र सांस्कृतिक विविधताको समाजमा भएका अनेक परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि स्थानीय सरकारले गर्ने साथ सहयोग सधै रहने उनको भनाई छ ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.