१४, भदौ मेचीनगर : कर्तव्य निर्वाहका क्रममा भदौ १३ गते निधन भएका प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेलको प्रहरी सम्मानसहित आज झापाको मेचीनगर— १० निन्दा खोलस्थित रामघाटमा अन्त्येष्टि गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कन्ट्रोल रुममा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेल झापाको मेचीनगर— १० धुलावारीका स्थायी वासीन्दा हुन् ।
अन्त्येष्टि गर्नुअघि शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बु, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा र इलाका प्रहरी कार्यालय धुलावारीका प्रमुख प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीले संयुक्तरुपमा उनको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उक्त श्रद्धाञ्जली सभामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट आएको प्रहरी व्याण्ड सहित प्रहरी सहायक निरीक्षक सरोज थापाको कमाण्डमा रहेको २९ जना प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोख्रेलको समेत उक्त श्रद्धाञ्जली सभामा उपस्थिति रहेको थियो । उनको मृत्युसंगै प्रहरी संगठनले कर्तव्यनिष्ठ, राष्ट्रप्रेमी, असल योद्दा गुमाउँदा समग्र संगठनलाई नै अतुलनीय क्षती व्यहोर्नु परेको महशुस भएको प्रहरी उच्च अधिकारीहरुको भनाई छ ।

स्वर्गीय प्रहरी सहायक निरीक्षक भुजेलले नेपाल प्रहरी जस्तो गरिमामय संगठनलाई दिएको योगदान प्रहरी संगठनले कहिल्यै नभुल्ने र नेपाल प्रहरी संगठन सदैव उनलाई याद गरीरहने बताइएको छ । उनको मृत्युको यो खबरले धुलाबारीमा शोक छाएको छ ।
दिवंगत बुवाको पार्थिव शरीरमा छोरीले दागबत्ती दिएकी छिन् । ४७ दिवंगत प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेलका दुई छोरीमात्र छन् । भुजेलकी जेठी छोरी १८ वर्षीया सारीकाले दागवत्ती दिएकी हुन् । कान्छी छोरी त्रिशिका करीव चार वर्षकी रहेको पारिवारीक स्रोतले बताएको छ । हिन्दु संस्कार अनुसार छोराले दागवत्ती दिने मान्यता रहेपनि छोरीले दागवत्ति दिएर नयाँ संस्कारको शुरुवात गरेकी हुन् ।
उनकी श्रीमती बिनिता शेर्पा पनि इलाका प्रहरी कार्यालय धुलाबारीमा प्रहरी सहायक निरीक्षक पदमा नै कार्यरत छिन् । दिवंगत प्रहरी सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेलले २०५७ सालमा प्रहरी जवानमा उनले नेपाल प्रहरी संगठनमा प्रवेश गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कन्ट्रोल रुममा कार्यरत भुजेल बिहान ८ः१७ बजेतिर ड्यूटीकै क्रममा शौचालय जाँदै गर्दा अचानक लडेका थिए । तत्कालै उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा विहान ९ः५५ बजेतिर उनको मृत्युु भएको थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा पूर्व प्रहरी संगठनका प्रमुख प्रतिनिधिहरु, विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवम् मृतक प्रहरी कर्मचारीका परिवारजन छरछिमेकी तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको आत्माको चिर शान्तिको कामना सहित शोक संन्तप्त परिवार प्रति हव डिजिटल मिडिया प्रालि हार्दिक समवेदना प्रकट गर्दछ ।

























