२८ भदौ, मेचीनगर : मेचीनगर लेडी जेसीजले सोमबारबाट जेसीज सप्ताह शुरु गरेको छ । सप्ताहको पहिलो दिन झापाको मेचीनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवाकेन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । प्राविधिकहरु करुणा कार्की, पन्ता राई, सरीता विश्वकर्मा र बिनिता राजवंशीले रक्त संकलन गर्नुभएको थियो । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई प्रदान गरिएको छ ।
झापाका रक्त सञ्चार सेवाकेन्द्रमा रगत अभाव हुँदा विभिन्न अस्पतालमा उपचार गराईरहेका र रगतको आवश्यक परेका विरामीलाई समस्या पर्ने भएकाले यो अभाव टार्न जेसीज सप्ताहको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम मुल समारोह समिति संयोजक अनिता खनाल गुरागाईँले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटि झापा शाखा सभापति लोकराज ढकालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा ६ महिला र ७ पुरुष गरी १३ जनाले रक्तदान गरेको मेचीनगर लेडी जेसीजका अध्यक्ष सुशीला खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी र सर्वसाधारणहरुले रगत दान गरेका थिए । भदौ २८ देखि शुरु जेसीज सप्ताह असोज २ गतेसम्म चल्ने छ ।
यसपटकको सप्ताहमा सवै कार्यक्रम स्वास्थ्यसँग केन्द्रित रहने बताइएको छ । मेचीनगर लेडी जेसीजले सार्वजनिक गरेको साताव्यपी कार्यक्रमको तालिका अन्तर्गत रक्तदान, दन्त परीक्षण, नाक,कान, घाटी सम्बन्धि परीक्षण, प्रयोगशाला आँखा शिविरसहित अन्य स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । अधिकाँश कार्यक्रम मेचीनगरको वडा नम्बर ९ र १० मा केन्द्रित छन् ।

























