‘जेन-जी’ आन्दोलनबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानअन्तर्गतका विभिन्न रोटरी क्लबहरूले मानवीय सेवाका कामलाई तीव्रता दिएका छन्। विशेष गरी, काठमाडौं उपत्यकाका १३ वटा रोटरी क्लबको रोटरी एक्सन ग्रुपले घाइतेहरूको उद्धारदेखि सार्वजनिक संरचनाको पुनर्निर्माणसम्मका कार्यमा सक्रिय भूमिका खेलिरहेको छ।

आन्दोलनको सुरुवाती दिनहरूदेखि नै रोटरी क्लबहरूले घाइतेहरूको उद्धार, उपचार र खानाको व्यवस्थापनमा सहयोग गरेका थिए। काठमाडौं र ललितपुरका १३ रोटरी क्लबले सिभिल, टिचिङ र ग्रिन सिटी अस्पतालमा घाइतेको अवस्था बुझ्दै उनीहरूलाई बानेश्वरबाट अस्पतालसम्म पुर्याउन सहयोग गरेका थिए। रगतको अभाव हुन नदिन बालाजु चोकमा आकस्मिक रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। घाइते तथा उनीहरूका कुरुवालाई खाना, खाजाको व्यवस्था गर्नुका साथै उपचारपछि घरसम्म पुर्याउन एम्बुलेन्स भाडासमेत सहयोग गरिएको थियो।

रोटरी एक्सन ग्रुपले सुरक्षा र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई खाजा र पानीसहित आवश्यक सामग्री प्रदान गरेको छ। ध्वस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बसुन्धारास्थित प्रहरी चौकीमा खानेपानी ट्याङ्की र सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ। त्यस्तै, थापाथली ट्राफिक प्रहरी प्रभागमा सरसफाइ गरी सिरक र डस्नासमेत प्रदान गरिएको छ। तारकेश्वर नगरपालिकाको धर्मस्थलीस्थित प्रहरी कार्यालयमा तत्काल सेवा सुचारु गर्न सहज होस् भन्दै तीन थान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ।
रोटरी एक्सन ग्रुपले आन्दोलनबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। समूहले आफ्नो स्रोत र सामर्थ्यले भ्याएसम्म ध्वस्त संरचनाको पुनर्निर्माण र शान्ति स्थापनाका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ।

रोटरी एक्सन ग्रुपमा रोटरी क्लब अफ काठमाडौं, गोंगबु, बालाजु, काठमाडौं सर्कल, काठमाडौं हाईट, बागमती, मातृभूमी बालुवाटार, पाटन, काठमाडौं डाउनटाउन, काठमाडौं मेट्रो, राजधानी, मध्यपुर ठिमी र तिनकुने काठमाडौं गरी १३ क्लब संलग्न छन्। यो समूह सामूहिक रूपमा काम गर्दा परियोजनाहरू प्रभावकारी हुने र भावनात्मक एकता बढ्ने विश्वासका साथ परिकल्पना गरिएको हो। समूहले रोटा वर्ष २०२५-२६ भरी संयुक्त रूपमा अधिकतम परियोजना सञ्चालन गर्ने र आगामी वर्षहरूमा पनि सामूहिकताको संस्कारलाई निरन्तरता दिने बताएको छ।




































