हिरासत : भित्तो साहित्य र साम्यवाद , अनुभवः अनुभूति

सुमनसिंह सी

आखिर साहित्यलार्ई कहीँ रोकटोक हुँदैन रहेछ । सिर्जनशीलता, प्रगतिशीलता यी सबै यथास्थितिका बिरोधी प्रवृत्ति हुन । यथास्थितिले जहिलै आफ्नो गर्भमा नवीन सभ्यतालार्ई हुर्काइरहेको हुन्छ । समयक्रममा परिस्थिति यस्तो उलटपुलट पूर्ण बन्छ कि, जस्ता सुकै यथास्थिति अर्थात् तत्कालीन समयहरु खाली आफ्ना कर्मअनुसारका खराब वा सही इतिहास बनेर दस्तावेजिकरण बन्ने गर्दछन् । यतिबेलाको पुँजीवादी यथास्थितिको गर्भमा वैज्ञानिक समाजवादी सभ्यताको भ्रुण हुर्किरहेको छ । यसरी बेलगाम, स्वतन्त्र र स्वच्छन्द प्रकारले उन्मुक्त हाँसो पोखिरहेका उमङ्गित तरेलीहरु नै वास्तवमा साहित्य हुन् । हो यस्तै उन्मुक्त साहित्य म भित्तोहरुमा देखिरहेको छु । त्यसैले यतिबेला परिवर्तन भित्तोहरुबाट पनि जुर्मुराइरहेका छन् ।

करिब दुई वर्ष अगाडि इलामको सूर्योदय नगरपालिकाबाट गिरफ्तारीमा पर्दा इलाम हिरासत बसाइको क्रममा देखेँ– हिरासतका भित्ताहरुमा ब्यक्त भएका थिए क्रान्ति । लेखिएको थियो वैज्ञानिक समाजवाद जिन्दावाद ! एकीकृत जनक्रान्ति जिन्दावाद !! हामीभन्दा अगाडि त्यहाँ पुग्ने क्रान्तिकारी योद्धाहरुले ती निर्जीव भित्ताहरुलाई यति सजिवता प्रदान गर्नु भएको थियो कि त्यहाँ जो कोही आलश्य शरीर पनि ती भित्तामा उजागरित साहित्य देखेपछि जुरुक्क हुन सक्ने थिए । पत्रकार तथा साहित्यकार मित्रहरुले ‘ट्रक साहित्य’ को विषयमा लेखेको देखेको थिए । ट्रक तथा अन्य सवारी साधनमा आकर्षक ढङ्गले लेखिएका साहित्यले सरकारको सत्ताको आत्मा भत्–भत् पोल्यो र ती साहित्यलार्ई नस्ट गर्ने नीति बनाइयो । फर्मान जारी भयो, उर्दीको व्यापक प्रचार गरिएको थियो । हेरौं त कति शक्तिशाली छ त्यो ट्रक साहित्य ।

बास्कोटा दुर्मुखको मस्तक हल्लाईदिने ट्रकमा ब्यक्त भएको त्यो विशाल साहित्यले मेरो हृदयमा ठूलो हलचल पैदा गराएको थियो । जसलार्ई ठूला–ठूला खबरिया प्रतिष्ठानहरुले खुब महत्व दिएर छापे, लेखे, सबैको कान–कानमा पु¥याइदिए । त्यतिबिघ्न हल्लिखल्ली मच्चाउने ट्रक साहित्यभन्दा पनि शक्तिशाली र दमदार साहित्य मैले हिरासतका भित्ताहरुमा भेटेँ । मलाई लाग्यो भित्ते साहित्य अधिक शक्तिशाली छ । त्यसयता मैले पनि भित्तो साहित्यहरुमा आफ्नो सहभागिता जनाउन थालेँ । भित्ताहरु मलार्ई पर्खिरहेका छन् जस्तो लाग्थ्यो । इलाम हिरासतका भित्ताहरुले म त्यहाँ पुग्ने बित्तिकै मौनतापूर्वक मेरो स्वागत गरे । दुई–चार दिनको बसाइ पछि मैले एउटा ठूलो आकर्षक चित्र बनाइदिए कमाण्डर चे ग्वेभाराको । अनि चे सँगै जोडेर उनको एउटा भनाइलार्ई लेखिदिएँ– मलार्ई मृत्युु स्वीकार्य छ तर पराजित भएर फर्कने छैन । त्यसपछि त्यो भित्ताबाट चे ग्वेभारा नित्य गर्जन थाले । त्यो भित्तो साहित्यले खोलेको एउटा बिराट साहित्य निरन्तर निरन्तर त्यहाँबाट प्रस्फुटित हुन थाल्यो । त्यसपछि पुनः लेखिदिएँ वैज्ञानिक समाजवाद जिन्दावाद ! दलाल संसदीय व्यवस्था मूर्दावाद !! एकीकृत जनक्रान्ति जिन्दावाद !!! यसरी पुरानो सत्ताले निर्माण गरेको मान्छे थुन्ने खोर भित्रको भित्ताहरुबाट रातो साहित्य गर्जन थाल्यो ।

त्यसबेला मैले बलिदान चलचित्रलार्ई सम्झिए । जहाँ तत्कालिन पञ्चायती ब्यवस्थाका बिरोधी राजनीतिक शक्तिहरुका नेता–कार्यकर्ताहरु सत्ताको थुनामा जेल भित्र राखिएका हुन्छन् । कथावस्तुअनुसार त्यहाँ बरिष्ठ रंगकर्मी सुनिल पोखरेल (जो त्यहाँ मानसिक रोगीको रुपमा देखाउन खोजिएको छ) ले एउटा कपडाको टालो देखाउँदै– आउँछ, आउँछ एक दिन अवश्य आउँछ भनेर कराउँछन् । जनताको ब्यवस्था आउँछ भनेर चिच्याउने, कराउने उनले जेलका भित्ताहरुमा आउँछ लेख्छन् । क्रान्तिकारी आशावाद, तीव्र चाहनाको प्रकटिकरण र उनको आदर्श, निष्ठा प्रस्तुत गर्छन् । त्यहाँ उनलार्ई ए पागल भन्दै कुटपिट गरिन्छ । उनले देखाएको कपडाको टालो खोसेर आगोमा डडाइन्छ । उनी चिच्याउँछन्, कराउँछन् उनलार्ई कुटी–कुटी मारिन्छ । उनी अन्तिमसम्म त्यही टालो खोस्न प्रयासरत हुन्छन् । मलार्ई हिरासतका भित्ताहरुबाट मुखरित भइरहेका यस्ता जागरुक साहित्य देखेर वास्तवमा यथास्थितिको गर्भमा हुर्किएको क्रान्ति, परिवर्तनकामी आकांक्षा विशाल बन्दै गएको र यसले जनबिरोधीहरुलार्ई झस्काइरहेको, चिमोटिरहेको जस्तो लाग्छ । साँच्चिकै शक्तिशाली छन् भित्ताहरु र शक्तिशाली छ भित्तो साहित्य ।

त्यसपछि मलार्ई गौरीगञ्ज लगेर गौरीगञ्ज इप्रकाको हिरासतमा राखियो । त्यहाँका भित्ताहरु पनि मौन थिएनन् । बोलिरहेका थिए भित्ताहरु तर फोहोरी अपशब्द तर्कनाहरु पोख्दै । त्यहाँका भित्ताहरुले यथास्थितिलार्ई भंग गराउने सिर्जनाहरु प्राप्त गरिरहेका थिएनन् । मसँग लेख्ने कलम थिएन, लामखुट्टे भगाउने धुपको स्टिल स्टेनले धसेरै कोरिदिएँ (एकीकृत जनक्रान्ति जिन्दावाद ! अनि थपे– विप्लव । अनि मलार्ई लाग्यो यो भित्ता बोल्ने छ सधैँ र यहाँ भित्र थुनिएकाहरुको मानसमा बसेर पुग्ने छ, गाउँ–गाउँ वा कतै । मैले उक्त भित्तोलार्ई क्रान्तिकारी दिशा प्रदान गरिदिएँ । यसरी नेपालका कुना–कुनाका हिरासतहरु र त्यहाँ भित्रका भित्ताहरु आफ्नो सिर्जनात्मक हुँकारसँगै बिद्रोह गरिरहेका छन् सत्तासँग । र, यिनै भित्तो साहित्यमा सहभागी बनिरहनु भएको छ हाम्रा कयौँ कमरेडहरु । म त हिरासत भित्रका भित्ताहरुमा लतपतिएका, फोहोर जस्ता लाग्ने, केरमेट भएका जस्ता देखिने यथास्थितिका बिरोधी सिर्जनाहरु रक्तमिश्रित नारा बनेर रक्त साहित्य बनेर उभिँदा यस्तो लाग्छ भित्ताहरु ज्युँदा बनेका छन । यथास्थितिवादी पुँजीवादी लुटेरा दुनियाँको अमानवीय कालकोठरीहरु भित्र पनि क्रान्ति जिउँदो बनेर एक पल पनि विश्राम नगरी निरन्तर लडिरहेका छन् । कति इमानदार छन् भित्ताहरु, त्यसैले शक्तिशाली छन्, भित्तामा ब्यक्त भएका राता साहित्यहरु ।

बिराटनगरको हिरासत, दमक, बिर्तामोड, काँकडभिट्टा, झिलझिले सबैतिरका हिरासत भित्र पुग्दा मलार्ई त्यहाँ भित्रका भित्ताहरुले सधैँ तान्ने गरेका छन् । आजकाल प्रायः सबै हिरासतहरु भित्र दलाल पुँजीवादी संसदीय सत्ताको अन्त्यको नारा भित्ताहरुमा साहित्य बनेर खडा भइरहेका हुन्छन् । त्यसैले भित्तो साहित्य शक्तिशाली छ ।

सत्ता वर्गिय हुन्छ । वर्तमान सत्ता धनी पुँजीपतिहरुको हो । यसले गरिबहरुको, मजदुर र श्रमजीविहरुको मिहेनत र पसिना लुट्ने काम गर्छ । आपूm खरबौंमा सुतेर विश्वभरिका ९९५ जनतालाई भिकमंगा बनाउँछ । हो यही धनी पुँजीपतिहरुको सत्ताको जेल हिरासत पनि बर्गीय नै हुन्छ । त्यसैले उसको जेल हिरासतमा कहिलै, कोही पनि धनाढ्य वा उसको सत्ताको सेवक थुनिन आउँदैन । त्यहाँ खाली गरिबहरु, उत्पीडित वर्ग समुदायकै मानिस थुनिन आइपुग्छ । पुँजीवादी सत्ताको तमाम ब्यवस्थापनमा पीडा र कस्टका बोझिला भारी बोकिरहेका कयौँ उसैका दास, नोकर–चाकरहरु पनि पुँजीवादी सत्ताको निर्ममतापूर्ण लुटखसोटबाट आक्रान्त छन् । त्यसैले हिरासत र जेलभित्र थुनिन आउने गरिब वर्गका मानिसहरु हुन् या उनीहरुको चौकिदारी गरिरहेकाहरु हुन् यी सबै उत्पीडितहरुलाई भित्तो साहित्यले झक्झक्याइरहेको हुन्छ । त्यहाँ लेखिएका हुन्छन् वर्गका कुरा, मुक्त जीवन र अधिकारका कुरा, स्वाधीनताका कुरा । भित्ताहरु यसरी नै बोलिरहेका छन्, कयौँ बर्षहरुदेखि जब यथास्थितिको पर्खाल भत्काउन भीषण संघर्षहरु चल्दै आइरहेका छन् ।

पछिल्लो चरण म सुनसरीको चक्रघट्टीबाट पक्राउ परेँ । कमरेड शिलुसँंगै पक्राउ परेको मलाई सुनसरी जिप्रकाको हिरासतमा राखियो । नेपालका कुनै कुनाका हिरासतहरु वर्तमान सत्तासँग खुसी छैनन । सत्ताबिरुद्ध भड्किरहेका छन् ती । इनरुवा हिरासतका भित्ताहरु पनि त्यसैगरी सत्ताको चर्को बिरोध गरिरहेका थिए । केही फोहोरी शब्द लेखिएको देखिन्थ्यो । ती फोहोरी शब्दहरुले वर्तमान सत्ताको सक्षम नागरिक उत्पादनको औकातलार्ई स्पष्ट गरिरहेको थियो । त्यो हिरासतको माहोलले आफ्नो पूर्ण बाहुबल फिंजाएर मलाई स्वागत ग¥यो । त्यहाँ पनि लेखिएको थियो एकीकृत जनक्रान्ति जिन्दावाद । जनताको सत्ता निर्माण गरौं । मेरो हौसलालाई झन् बुलन्दित गरिदियो । म एक्लै थिएँ तर भित्ताहरुमा पोखिएका ती राता भित्तो साहित्यले मलाई एक्लो हुन दिएन । त्यो पुस महिनाको ठण्डीमा मलाई न्यानो च्यादर ओडाएर मलाई मीठो निन्द्रा प्रदान ग¥यो । महान् १० वर्षे जनयुद्ध र जनयुद्धमा बलिदान गर्ने होनाहार सर्वोत्तम छोराछोरीहरुको साम्यवादको त्यो सुन्दर सपना माथि महाघात गर्ने अपराधीहरुको अक्षम्य अपराधको हिसाब–किताब गर्न र त्यो अधुरो सपना पूरा गर्ने संकल्पसहित अगाडि उठेको रक्तबिजहरुको पंक्ति फेरि पनि दलाल सत्ताका भरौटे घीनलाग्दा रक्त पिपाशुबाट हत्याको सिकार हुनु परेको छ ।

षड्यन्त्रका कयौँ तानाबानाहरु पञ्छ्याएर निरन्तर अगाडि बढ्नु परेको छ । सत्ताको राक्षशी चरित्र क्रान्तिकारीहरुको खुनको प्यासी बनेको छ । सत्ता कति निर्दयी छ, यो आफ्नै नागरिकहरुको रगत पिएर तृप्त हुँदै आएको छ । यो यसैमा रमाउँछ । यही निर्दयिताको पछिल्लो उदाहरण भोजपुरमा तिर्थ घिमिरे, निरकुमार राई र सर्लाहीमा कुमार पौडेलको अत्यन्तै तुच्छ र घृणित ढङ्गले हत्या गरियो । सत्ताको रगतको प्यासी छ, क्रान्तिकारीहरु सत्ताको त्यो भोक बुझाइदिन राष्ट्र र जनताको नाममा आफ्नो जीवनको न्योक्षवार गरिरहेका छन् । कति निर्लज्ज छ सत्ता जनताहरु केही मागिरहेका छन् । आवाज बुलन्द गरिरहेका छन् । जनताहरु केही संघर्ष गर्छन्, संघर्षको क्रममा मृत्युवरण गर्छन्, सत्ता त्यसरी मृत्युुवरण गर्नेहरुलाई अनागरिक भनेर दुत्कारिरहेको छ । छिःछिः पाखण्डीका दुर्मुखहरु पक्कै पनि यिनीहरुका मुखमा किरा पर्ने छन् । रक्तबिजहरुका बलिदान र रक्तकणहरु हिरासत भित्र मडारिएका छन् । त्यसैले मैले इटहरीको हिरासत भित्र पनि “दलाल सत्ता मूर्दावाद“ भेटें । इटहरी हिरासतको २६ दिने बसाइ पछि हिंड्ने बेलामा मैले भित्ते साहित्यको गरिमालाई अझ उँचो बनाइदिन थपिंदिए– वैज्ञानिक समाजवाद जिन्दावाद ! वीर सहिद अमर रहुन !! त्यहाँको भित्तो र भित्तोमा पोखिएको क्रान्तिको शंखनाद दुर्जनहरुलाई अवश्य अप्रिय लाग्छ तर सज्जनहरु त्यसलाई आफ्नो हृदयमा संगालेर आफ्नो जीवनलार्ई दिशा दिने प्रयत्नमा तल्लिन बन्ने नै छन् ।

हिरासत र भित्ताहरु, यहाँ भित्रको जीवन, यहाँ थुनिने वर्ग, थुन्ने दलाल सत्ता र यहाँ भित्र उत्पन्न अन्तर्विरोधको बिस्फोटक स्वरुपहरु भित्ताहरुमा छ्यापिएका भेटिन्छन् लाग्छ ती भित्ताका गर्जनहरु निरकुमारको रगतले लेखिएको छ । कुन–कुना बाँकी होला सत्ताका कालकोठरीहरु कहाँ–कहाँ क्रान्तिका बिस्फोटक रक्तबिजहरु नछ्यापिएका छन् । मलाई त्यस्तो लाग्दैन कुनै कुना अब बाँकी छ । तेह्रथुमको बसन्तपुर हिरासतमा १ रात बसेको थिएँ, त्यहाँको हिरासत र त्यहाँ भित्रका भित्ताहरुमा पनि क्रान्ति लेखिएको पाएँ । सत्ता यथास्थितिको ठूलो तरवार बोकेर अबैज्ञानिक, पशुवत फतुरहरु ब्यक्त गर्दै आपूmलाई सहस्राब्दी कालजयी झैं ठानेर खडा भएको छ । तर, उसले बोकेको तरवार बनाउने कालिगढ, उसको सुरक्षा गरिदिने पाले, उसको जीवनमा माड लगाइदिने किसान, मजदुर र उसको वैभवको आधार गरिब श्रमिकनै हुन् । उ जतिबेला पनि ठाउँको ठाउँ जमिनमा धसिन सक्छ । उसको अन्त्य, मृत्यु तय भइसकेको छ । यही सत्य भनिदिने कुमार पौडेलको रगतले कुना कुनाका हिरासतमा भित्तो साहित्य कोरिएको पाउँछु । मलाई लाग्छ यो भित्तो बोलिरहेको छ, रातो गर्जन ब्यक्त गरिरहेको छ । यही नै पुँजीपतिको गर्भमा हुर्किएको, छचल्किएको, बिद्रोह मच्चाइरहेको क्रान्तिको भ्रुण, क्रान्तिको बयस्क ताकत भएको पुष्टि हो ।

मलाई संखुवासभा जिल्ला प्रहरी कार्यलयको हिरासतमा ल्याइयो र ५० दिन राखियो । संखुवासभाको हिरासत भित्र पनि यथास्थितिको बिरोधमा परिवर्तनकामी क्रान्तिकारी साहित्य मडारिएको पाएँ । लेखिएको थियो दलाल सत्ता मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद । भित्तोले मलाई निरन्तर चिहाउँदै आफ्ना सिर्जनाहरु ब्यक्त गरिदिन अनुरोध गरिरह्यो । मैले संखुवासभा खाँदवारी हिरासत बस्दा कापीका पानाहरुमा बिस्फोटक कलम दौडाएँ । सत्ताको बिकृत जगल्टोमा समाएर कयौँ पटक अरुण नदीमा खसाइदिएँ । तर, किन हो भित्तो साहित्यमा उजागरित २–३ शब्द जत्तिको मोहक र शक्तिशाली आपूmले लेखेको आवेगहरु पनि लागेनन् मलाई । त्यसैले जुरुक्क उठें र भित्तातिर हात बढाएँ र लेखिदिए जनसत्ता निर्माण गरौं ! एकीकृत जनक्रान्ति जिन्दावाद !! वीर सहिद अमर रहुन !!! खाँदवारी हिरासतका भित्ताहरुमा पोखिएको साहित्यमा त्यस अगाडि त्यहाँ पुग्ने र बस्ने कयौँ कमरेडहरुले आफ्नो नाम पनि दर्ज गर्नु भएको रहेछ । मैले पनि लेखिदिएँ मेरो नाम सुमनसिंह पौडेल –झापा ।

केपी र प्रचण्ड जस्ता संशोधनवादी गद्दारहरु यो दुनियाँका सबैभन्दा ठूला ढँटुवा, धोकेवाज पाखण्डी हुन् । यिनीहरु कम्युनिस्ट नकाब लगाएका खाटी पुँजीवादी दलालहरु हुन । पुँजीवाद वर्ग संघर्षमा आमने–सामने दमन, प्रतिरोधको शृंखलाबाट पराजित हुन्छ तर संशोधनवादको छद्म रुप, ढाँट छल र बैमानी ठम्याउन, खोट्याउन सर्वहारा वर्गलाई कठिन हुन्छ । त्यसकारण आमश्रमिक वर्गको निम्ति संशोधनवादी पुँजीवादी डकैतहरु खतरनाक हुन्छन् । अर्थात केपी र प्रचण्डहरु नेपाली श्रमजीवि जनसमुदायको निम्ति ज्यादै खतरनाक रोगहरु हुन । संशोधनवादि प्रवृत्ति जनताको दुश्मन हो । यो अत्यन्तै घीनलाग्दो गरी आफ्नो पुँजीवादी सत्तालाई बचाउन सक्रिय बनेको हुन्छ । त्यसैले यसले क्रान्तिकारीवर्ग र क्रान्तिका कामहरुलाई जस्तोसुकै हतकण्ठा अपनाएर जतिसुकै नीच बनेर ध्वस्त पार्ने प्रयत्न गर्ने छ । संशोधनवादी यिनै घटिया झिङ्गाहरुको समूह भित्रको जर्मनीको सिदेमानहरुले श्रमजीविवर्गको नेता रोजा लक्जेम्वर्ग र कार्ल लिब्नेख्तलगायत हजारौंको हत्या ग¥यो ।

रुसमा प्रतिक्रियावादी, संशोधनवादीहरुले लेनिनलार्ई गोली हाने, किरोभलगायत हजारौँको हत्या गरे । भारतको ज्योति बसु भन्ने संशोधनवादी खच्चडले प्रतिक्रियावादी सत्तासँग मिलेर चारु मजुमदारको हत्या ग¥यो । यतिबेला संशोधनवादी खच्चडहरुको जन हत्यारो छद्म कम्युनिस्ट समूहका केपी र पिकेहरु आफ्नो लुटेरा सत्ताको झोली भर्न र लुटपाटपूर्ण भोलिलाई सुनिश्चित गर्न अवश्य हत्यामा उत्रन्छन । एकीकृत जनक्रान्तिमा लामबद्ध कयौँ इमानदारहरुको छातीमा गोली दाग्न सुरु गरेका छन् । केही कमरेडहरुको हत्या गरिसकेको छ । विश्व पुँजीवादी शिविरको निम्ति महाचुनौती बनिरहेका नेपाली जनताका प्रिय नेता कमरेड विप्लवसमेत संशोधनवादी खच्चाडहरुको हत्या, दमनको कालो षड्यन्त्रको छायाँ मुनि छन् । तर, खच्चडहरुको षड्यन्त्र एक–एक गरेर चकनाचुर बन्दै गइरहेको छ । जनताको सुरक्षा घेराभित्र बिकसित एकीकृत जनक्रान्तिका कामहरु संशोधनवादी छेपाराहरुको छद्म बिरुपताको पाखण्डी टुनामुनाले कदापि रोक्न सक्ने छैन, कदापि पराजित गर्न सक्ने छैन ।

यतिबेला लडाइँ पुँजीवाद र वैज्ञानिक समजावाद बीचकै हो । दलाल पुँजीवादको सिनो बोकेर भिर चढेका संशोधनवादी खच्चाड कमाउनिस्ट र बैज्ञानिक समाजवादको अधुरो कार्यभार बोकेर मोर्चा सम्हालिरहेका रक्तबिजहरुको पंक्ति कम्युनिस्ट पार्टी बीच मैदानमा टकराव चर्किरहेको छ । तर, नेपालको वस्तुगत अवस्था संशोधनवादीहरु सारा अस्त्रशस्त्र लगाएर निर्णायक लडाइँमा उत्रने स्तरमा हिम्मत गर्लान् भन्ने देखिन्न । यदि त्यस्तो दुस्साहस गरे त्यहाँभित्र पनि ध्रुवीकरण हुन्छ नै । किनकि कम्युनिस्ट होर्डिङ्ग बोर्डको किफायती चाहने गँवारहरुको संख्या पनि केही मात्रामा त्यहाँ भित्र छ नै । त्यस कारणले अन्तरबिरोध तानिँदै र झाङ्गिदै दलाल पुँजीवाद र खासमा त्यस सत्ताको सार, रुप र सारको कीर्तन सम्पूर्ण बल लगाएर गराउने पुँजीवादी संशोधनवादी खच्चडहरुसंग होइन ‘घोडा’हरुसँगै निर्णायक लडाइँ जम्ने छ । ती घोडाहरुको जमात कंग्रेस भन्ने तबेलामा छादेर राखिएका छन् । तर, पक्कै पनि त्यहाँ पनि फरक स्वरुपमा बिकसित भएर आइरहेको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित अन्तरविरोधको कारण थुप्रै बुझक्कडहरु पुँजीवादी भजन गाउन छाडेर राष्ट्रवादी मैदानमा ध्रुवीकृत बन्नुपर्ने छ, बन्ने छन् । यसरी जताबाट पटाक्षेप गरे पनि दलाल पुँजीवादी सत्ताको अवशान नेपालमा सुनिश्चित छ । यसको निम्ति विकसित अन्तर्बिरोधले यसको अवश्यम्भावितालार्ई दह्रो गरी पुष्टि गरिरहेका छन् ।

लडाइँ यता छ, अवस्था यस्तो छ, समयको गति तेज छ, हाम्रा कामहरु समयको त्यो गतिलाई पक्रन सकिरहेका छैनन् । त्यसैले हिँड्दै गरेका हामीहरु दौडन सुरु गर्नुपर्ने अवस्था छ । दौडदै गरेकाहरु उड्नु पर्ने समयले माग गरिसक्यो बरु यो ढिलो भइसक्यो । हिरासतका भित्ताहरुले पोखेका कयौँ साहित्यहरुमध्ये यथास्थिति बिरोधी साहित्यले पनि दलाल पुँजीवादी सत्ता र सर्वहारा जनता बीचको अन्तर्बिरोध उत्कर्षमा पुगिसकेको र अब खाली निर्णायक प्रहार मात्र बाँकी रहेको संकेत गरिरहेका छन् । संखुवासभा खाँदवारी हिरासतबाट लगभग ५० दिन पछि पुनः चैनपुर हिरासत ल्याएर प्रहरीहरुले राखे ।

चैनपुर हिरासतको ट्वाइलेटको भित्तामा लेखिएको छ दलाल संसदीय ब्यवस्था मुर्दावाद । यतापट्टि भित्तामा ठूलो आकारमा लेखिएको छ– “राज्य सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ ।” वास्तवमा यही अन्तिममा उद्घाटित भित्तोमा पोखिएको साहित्यले सत्य विषयलार्ई प्रकाश पारेको छ । यो नै अनिवार्य सत्य हो कि दलाल पुँजीवादी सत्तासँग सर्वहारावर्गले आफ्नो सत्ता लिने फैसला लडाइँकै मैदानबाट गर्नु पर्छ । र, त्यहाँको निर्णायक प्रसंग बल प्रयोग अथवा बन्दुक नै हो । जनताले आफ्नो सत्ता अधिनायकत्वद्वारा नै निर्माण गर्छन् र संचालन गर्छन् । अवश्य कयौँ साहित्यकार, श्रजक, विद्वान्हरुले साहित्यका रंगहरु पोख्नु भएको छ । त्यस्तै कयौँ बलिदानी भाव भएका वीर क्रान्तिकारी योद्धाहरुले पनि हिरासतका भित्ताहरुमा साहित्यका रङ पोख्नु भएको छ । मैले त्यही पोखिएको रङ्गलार्ई क्यान्भासमा खेलाएँ र एउटा आकृति बनाएँ । त्यो सुन्दर आकृति साम्यवाद हो ।

[लेखक :  विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज हुन् ]

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

पूर्वीनाकाबाट रोकिएन अवैध फूलको विरुवाको आयात, तीन दिनमा झण्डै साढे तीनलाखको बरामद

२६ मंसिर, मेचीनगर :  भारतबाट भित्रिएको संयौं फूल तथा वनस्पतिका बिरुवा स—शस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । मेचीनगरका...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.