बाहुनडाँगी, ८ फागुन | आगामी दुईवर्षे कार्यकालका लागि मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च मेचीनगरको नेतृत्व चयनका लागि निर्वाचन भईरहेको छ ।
कुल २ हजार ७ सय ४९ मतदाता रहेको मञ्चमा यो समाचार तयारपर्दासम्म ७ सयको हाराहारीमा मत खसेको निर्वाचन समितिले जनाएको छ ।
कुल १५ पद मध्ये अहिले महासचिव, खुला सदस्य र महिला सदस्यको मात्र निर्वाचन भइरहेको निर्वाचन समिति संयोजक पोषक दर्जीले जानकारी दिनुभयो । निर्वाचनमा नेपाली काँग्रेस तथा प्रचण्ड माधव —समूहको नेकपाको संयुक्त प्यानल र राप्रपाका उम्मेद्वारबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । कुल १५ पदमध्ये अध्यक्ष, उपाध्यक्ष, सचिव कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यी पदमा अध्यक्षतर्फ हरिप्रसाद उप्रेती, उपाध्यक्षमा धनकुमार राई, सचिवमा राजु सोम्वेङ र कोषाध्यक्षमा नीता थापा निर्विरोध निर्वाचित हुनुभएको संयोजक दर्जीले जानकारी दिनुभयो । उहाँहरु सवै नेपाली काँग्रेस तथा प्रचण्ड—माधव समूहको नेकपाको संयुक्त प्यानलका उम्मेद्वार हुनुहुन्छ ।
अहिले ११ पदका लागि भईरहेको निर्वाचनमा १५ उम्मेद्वार चुनावी मैदानमा छन् । निर्वाचन समितिका अनुसार एकजना महासचिवका लागि चन्द्रप्रसाद ‐सन्तोष) सुवेदी र विमल तामाङ दुईजनाले प्रतिस्पर्धा गदैंछन । सुवेदी राप्रपाका उम्मेद्वार हुन भने तामाङ गठबन्धनका साझा उम्मेद्वार हुन् । यसैगरी, ६ जना खुला सदस्यका लागि खेमराज पुरी, शेखर वस्नेत, राजकुमार घिमिरे, सुमन थापा, नित्यानन्द थापा, तेजबहादुर भुजेल, चुडामणी आचार्य, र मतिबहादुर दर्जीगरी आठजना उम्मेद्वार मैदानमा छन् । पुरी र वस्नेत बाहेक बाकी सवै उम्मे्दवार नेपाली काँग्रेस तथा प्रचण्ड माधव समूहको नेकपाको संयुक्त प्यानलका हुनुहुन्छ ।
यता चारजना महिला सदस्यका लागि राधा नेपाल, कोपिला वस्नेत,सुष्मा सुवेदी,पिंकी प्रधान र बबिता थापागरी ५ जनाले प्रतिस्पर्धा गदैंहुनुहुन्छ । ५ महिला उम्मेद्वारमध्ये नेपालबाहेक सवै नेपाली काँग्रेस तथा प्रचण्ड माधव समूहको नेकपाको संयुक्त प्यानलका हुनुहुन्छ ।