मेचीनगर, ८ चैत । शनिवार भारतको कोलकातास्थित दमदम कारागारले रिहा गरिदिएको इलामको माई नगरपालिका वडा १० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना आइतबार विहान काँकरभिट्टा आइपुग्नुभएको छ । उहाँलाई देख्न वित्तिकै उहाँलाई लिनका लागि उहाँका कान्छा काका तुलसी तिसिम्ना, भाई रमण तिम्सिना (प्रदेश सांसद) बुहारी सरु न्यौपानेलगायत आफन्तहरु काँकरभिट्टा आइपुग्नुभएका सवैका आखाँबाट आशु झरेको थियो ।
कोलकाताबाट शनिवार स्थलमार्ग हुँदै सिलगुढी भएर ९ः१५ बजे काँकरभिट्टा आइपुग्नु भएका उहाँलाई विश्व सेवा विस्तार नामक उद्धार संस्था, सञ्चारकर्मी र आफन्तहरुले फुलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाई बिताएका उहाँलाई कोलकाता उच्च अदालतका न्यायाधीश ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा उहाँलाई दमदम कारागारले रिहा गरिदिएको थियो ।
उहाँले आफ्नो देश आउन पाएकोमा खुशी व्यक्त गर्दै आफु निर्दोष अवस्थामा जेलमा यातनापूर्वक थुनिएको बारम्बार दोहोर्याउनुभयो । उहाँले आफ्नी आमालाई भेट्न आतुर भएको प्रतिक्रिया दिनुभयो ।
कोलकाताबाट भाइ प्रकाशचन्द्र तिम्सिना, विश्व सेवा विस्तार नामक उद्धार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र पत्रकारहरु पर्वत पोर्तेल र चिरञ्जीवी घिमिरेले उनलाई लिएर आउनु भएको हो ।
लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएको कारण उहाँको स्वास्थ्य अवस्था नाजुक देखिएको छ भने कम बोल्ने र एकोहोरिरहनुहुन्छ ।
अदालतले मानसिक स्वास्थ्यको कारण जनाउँदै रिहाइको आदेश दिदा ६÷६ महिनामा उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउन भनेको उहाँका भाइ प्रकाशचन्द्रले बताउनुभयो । उहाँको मुद्दाको अन्तिम फैसला नभइसकेको प्रकाशचन्द्रले जानकारी दिनुभयो ।
बुवा चम्पाखर र आमा धनमाया तिम्सिनाको जेठो छोरा दुर्गाप्रसादले माइला भाइ केदार, कान्छा भाइ धर्मानन्द र बहिनी पवित्राको नाम लिनुभयो । हाल बुवा र माइला भाइको निधन भइसकेको छ भने घरमा आमा, कान्छो भाइ र बहिनी हुनुहुन्छ ।
भाइ प्रकाशचन्द्रका अनुसार दुर्गाप्रसादको बोलाउने नाम दिपक हो । १९ वर्षको उमेरमा तोरी बेच्न पश्चिम इलामको मङ्गलबारे बजार जाने निहुँले दुर्गाप्रसाद रोजगारीको खोजीमा भारतको दार्जीलिङ पुगेका थिए । दार्जीलिङमा उसबेला गोर्खाल्याण्ड प्राप्तिका लागि हिंसात्मक आन्दोलन चलिरहेको अवस्था थियो । खोज्न जाने परिस्थिति थिएन र उताबाट पनि दुर्गाप्रसादको कुनै खबर आउन सकेन ।
भाइ प्रकाशचन्द्रका अनुसार कतैबाट खबर नआएपछि उहाँ आन्दोलनमै मारिनुभयो होला भन्ने घर परिवारमा लागेको थियो । चालीस वर्षपछि बङ्गाल रेडियो क्लबका माध्यमले उहाँ जेलमा जीवितै रहनुभएको खबर आयो । हुन त २०६९ सालमा दिपक जैसी नामबाट घरमा एउटा चिठी आएको थियो । जेलमा बस्दा उहाँले आफ्नो नाम दिपक र थर जैसी भनेको हुँदा चिठी त्यसरी पठाइएको रहेछ । तर, यता घरमा भने वेपत्ता रहेका दुर्गाप्रसादको बारेमा कसैले मजाक गरेर चिठी पठाएको हो कि भन्ने लाग्यो । चिठीको सत्यता जाँच्न परिवारका सदस्यहरु भारत जान सकिरहेका थिएनन् ।
दमदम कारागारमा सँगै बसेका पश्चिम बङ्गालकै मेदनीपुर जिल्लाका दाधेश्याम दास नाम कैदीले दुर्गाप्रसादको अवस्था र पहिचान बारे पहिलोपल्ट जेलबाहिर खबर ल्याएउनुभएको रहेछ । दासले बङ्गाल रेडियो क्वलमा नेपालका दुर्गाप्रसाद नामका कैदी चार दशकदेखि बिना सुनुवाई बसिरहेको खबर पुर्याउनु भएपछि मिडियामा समाचार छापिन थालेका हुन् । उहाँलाई अहिले जेल बाहिर ल्याउन रेडियो क्लवको भूमिका महत्वपूर्ण रहेको प्रकाशचन्द्रले बताउनुभयो ।
दार्जीलिङमा जुन घरमा दुर्गाप्रसाद आश्रय लिएर बस्नु भएको थियो । त्यही घरकी पत्नीको चियाबारीमा विभत्स हत्या भएपछि त्यसको दोष उहाँमाथि थोपरिएको थियो । तर उहाँमाथि लगाइएको आरोप झुठो भएको बताइएको छ । प्रहरीमा झुठो आरोप दर्ता भएपछि कथित पीडितका तर्फबाट एकपल्ट पनि मुद्दा फ्लोअप नभएको र बिना सुनुवाई सजाय सुनाउँदै दुर्गाप्रसादलाई कारागार सार्दै दमदममा पुर्याइएको पाइएको छ । हराएका मानिसहरुको खोजीमा सघाउने संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले बङ्गाल रेडियो क्लवसँगको सम्पर्कपछि इलाममा दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रसँग सम्पर्क गर्नुभएको थियो ।