२० मंसिर : दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पारेको थियो ।
खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।
त्यसको केही समयपछि नै ब्राजिलले पेनाल्टी पायो । नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान् खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।
२९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गर्दा कप्तान थियागो शिल्भाले पास उपलब्ध गराएका थिए ।
४-३-३ फर्मेसनमा टिम उतारेको ब्राजिली प्रशिक्षक टिटेले अग्रपंक्तिमा नेइमार, भिनिसियस र रिचार्लिसनलाई जिम्मेवारी दिएका थिए ।
खेलमा यी तीनको तालमेल पनि बेजोड देखिएको थियो । ३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले पेनाल्टी एरियाबाट गोल गरेपछि ब्राजिलले पहिलो हाफमै फराकिलो अग्रता बनायो ।
दोस्रो हाफमा कोरिया केही सम्हालियो । ब्राजिललाई थप गोल गर्न दिएन भने एक गोल पनि फर्कायो । कोरियाले ७६औं मिनेटमा सान्त्वना गोल फर्कायो । कोरियाका सब्स्टिच्युड खेलाडी पायक सुंग होले बक्स बाहिरबाट शानदार गोल गरेका हुन् ।
ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ । सोमबारै भएको खेलमा अर्को एसियाली देश जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।