२२ मंसिर, काठमाडौँ : क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नामिबिया त्रिकोणीय सिरिजमा बिहीबार नेपालले अन्तिम खेल स्कटल्यान्डविरुद्ध खेलिरहेको छ । नामिबियाको विन्डहोकमा जारी खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म तीन विकेट गुमाइसकेको छ । ६ ओभरमा १६ रन बनाउदा नेपालले महत्त्वपूर्ण तीन विकेट गुमाएको हो ।
अर्जुन साउद शून्य, आसिफ शेख १ र ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भए । अहिले कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरी मैदानमा छन् ।
जारी त्रिकोणीय सिरिजमा नेपालले दुई खेल हारेको छ भने एक खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । बिहीबार अन्तिम खेल खेलिरहेको छ । तीन खेल जित्ने लक्ष्य लिएर नामिबिया गएको नेपालले पहिलो जित हात पार्न सकेको छैन ।