नेपाली महिला फुटबल स्टार साम्बा फ्रान्स प्रस्थान, टेक्निकल कोचको आवश्यकता महसुस

काठमाडौं, फागुन १४ : नेपाली महिला राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ चार देशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेलेर आज फ्रान्स प्रस्थान गरेकी छन्। च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेपछि बिहीबार बिहान उनी फ्रान्सको पेरिसतर्फ लागेकी हुन्।

बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग २-० ले पराजित हुँदै उपविजेतामा सीमित भयो। फाइनलमा हार्दा दुःख लागेको भए पनि धेरै सिक्ने अवसर पाएको सावित्राले बताइन्।

“चार महिनापछि राष्ट्रिय टिममा फर्किन पाउँदा खुशी लाग्यो। फ्यानहरूको माया फेरि उस्तै पाइयो। हाम्रो नयाँ पुस्ताका खेलाडीहरूका लागि यो खेल सकारात्मक सन्देश बन्यो,” उनले भनिन्।

खेलपछि नेपाली टिमका खेलाडी र प्रशिक्षकहरूबीच टिमको कमजोरीबारे छलफल भएको उनले जानकारी दिइन्। “खेलपछि बैठक गरेर हामीले हाम्रो कमजोरी कसरी सुधार गर्ने भनेर छलफल गर्यौँ। एन्फाका अध्यक्षहरूसँग पनि आगामी योजनाबारे कुरा भयो र गुनासा राख्ने अवसर पायौँ,” उनले भनिन्।

साम्बाले आफूले पहिला दुई खेलमा राम्रो लय समात्न नसकेको स्वीकार्दै आगामी खेलहरूमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गरिन्। “छोटो समयमा टिम तयार भयो। टिमसँग राम्रो समन्वय गर्न समय नपाएको कारणले मेरो प्रदर्शन पनि सोचेजस्तो भएन।”

महिला फुटबललाई अझ मजबुत बनाउन नेपाललाई टेक्निकल कोच आवश्यक रहेको उनले बताइन्। “महिला टिमका लागि नेपाली हेड कोच हुनु समस्या होइन। तर टेक्निकल कोच भए राम्रो हुन्थ्यो। भिडियो एनालिस्ट स्टाफ राख्न सके कमीकमजोरी पहिचान गरेर सुधार गर्न सकिन्थ्यो,” उनले भनिन्।

उनले आगामी जुन-जुलाईमा हुने वर्ल्डकप क्वालिफायरको तयारीमा टेक्निकल कोच अनिवार्य भएको बताउँदै एन्फा नेतृत्वसँग यो विषयमा कुरा भएको र सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिइन्।

सावित्राले पहिलोपटक आफ्नो खेल बुवालाई प्रत्यक्ष देखाउने अवसर पाउँदा अत्यन्त खुसी लागेको बताइन्। “ममीलाई पनि ल्याउन चाहन्थेँ, तर आउन सक्नुभएन। बाबा, अंकल, दिदी सबै आएर मेरो खेल हेरिदिनुभयो। यो मेरो सपना थियो, जुन पूरा भयो,” उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्रान्स प्रस्थान गर्नुअघि भनिन्।

सावित्राले फ्रान्सको क्लबमा व्यवसायिक फुटबल खेल्दै आएकी छन्। उनले अबको १० दिन नयाँ वातावरणमा घुलमिल हुन कठिन हुने स्वीकार्दै, फ्रान्सेली क्लबले हालसम्म उत्कृष्ट प्रदर्शन दिन नसकेको तर टिमको सपोर्ट राम्रो रहेको बताइन्।

“फ्रान्समा लेभल धेरै उच्च छ, मिहिनेत गर्नुपर्छ। डिभिजन १ मा बस्न निकै चुनौतीपूर्ण छ, तर हामी फाइट गर्नेछौँ। नयाँ पुस्ताका खेलाडीहरू अवसर पाइरहेका छन्, सरकारले पनि क्लबलाई हेर्दैछ।”

सावित्राले फ्रान्सेली क्लबमा आफ्नो अनुभवबाट नेपाली खेलाडीहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिन्। *“प्रोफेसनल करिअरमा धेरै सिक्ने माध्यम बनेको छ। टिमलाई राम्रो सन्देश दिन सक्छु।”

नेपालको महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सावित्राले खेलेको भूमिका महत्वपूर्ण छ। फ्रान्समा खेल्दै उनले नेपाली खेलाडीहरूको सपना पूरा गर्न मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.