पाँचौं मेचीनगर गोल्डकप आज सुरु हुँदै, आयोजक र जर्जियन एफसी भिड्ने, महिलालाई निःशुल्क प्रवेश

२४ फागुन, मेचीनगर : झापा जिल्लाको काँकरभिट्टामा पाँचौं संस्करणको मेचीनगर गोल्डकप प्रतियोगिता फागुन २४ गते शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको मेचीनगर गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले प्रतियोगिताको तयारी पूरा भइसकेको जानकारी गराउँदै अब खेल सुरु हुने मात्र बाँकी रहेको बताए।

गोल्डकप सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। आयोजक समितिका सहसंयोजक एवं आर्थिक समिति संयोजक विमल आचार्यका अनुसार खर्च व्यवस्थापनको लागि स्थानीय स्रोत साधनबाट सहयोग प्राप्त भइरहेको छ। उनले कसैलाई जबरजस्ती सहयोग मागिएको नभई स्वेच्छिक रुपमा सहयोग प्राप्त भएको बताए।

प्रतियोगिता इतिहासमा पहिलो पटक तेस्रो मुलुकको टोलीको सहभागिता रहेको छ। पूर्व राष्ट्रिय खेलाडी एवं आयोजक समितिका सदस्य मिन बस्नेतका अनुसार उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले यस पटकको मेचीनगर गोल्डकपमा प्रतिस्पर्धा गर्नेछ।

पत्रकार सम्मेलनमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, पूर्व अध्यक्ष बालाजित राई, प्राज्ञ सुभद्रा अर्याललगायत फुटबल प्रेमीहरूको उपस्थिति थियो। पत्रकार सम्मेलनको सहजीकरण मूल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए।

प्रतियोगिता अन्तर्गत आज हुने उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल क्लब र भारतको जर्जियन फुटबल क्लबबीच हुनेछ। उद्घाटनको दिन अन्तर्राष्ट्रिय नारी दिवस परेकाले महिलाहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। फाइनल बाहेकका खेलहरूको टिकट दर एक सय रुपैयाँ तोकिएको छ।

गोल्डकपको दोस्रो खेल फागुन २५ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र झापा एफसीबीच हुनेछ भने फागुन २६ गते उज्बेकिस्तानको ब्ल्याक बुल्स र धरान एफसी भिड्नेछन्। फागुन २७ गते एपिएफ क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नकआउट प्रणालीमा खेलाइने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ भने दोस्रो सेमिफाइनल खेल फागुन २९ गते हुनेछ। प्रतियोगिताको फाइनल खेल चैत २ गते हुनेछ।

प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल हात पार्नेछ। उत्कृष्ट खेलाडीलाई नगद ५१ हजार र ट्रफी प्रदान गरिनेछ भने उच्च गोलकर्ताले २५ हजार र ट्रफी जित्नेछन्। उत्कृष्ट प्रशिक्षक तथा गोलरक्षकलाई नगद २१ हजार र ट्रफी प्रदान गरिनेछ भने उदयीमान खेलाडीलाई नगद ११ हजार र ट्रफी दिइनेछ।

प्रतियोगिताको प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई नगद ११ हजार र ट्रफी प्रदान गरिनेछ। खेल मैदानमा दर्शकहरूको सुविधाका लागि ६ हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ।

मेचीनगर गोल्डकपको आयोजना काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले गरेको हो। प्रतियोगिता मेचीनगर नगरपालिकाको संरक्षणमा हुँदैछ भने झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिले प्राविधिक सहयोग प्रदान गरिरहेका छन्। होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगितामा मेची नेत्रालय आँखा अस्पताल सहप्रायोजकको रूपमा रहेको छ।

प्रतियोगिताको सफलताका लागि स्थानीयवासी, राजनीतिक दल, व्यवसायी, खेल प्रेमी सबैको सकारात्मक सहभागिता रहेको आयोजकले जनाएको छ। मेचीनगर गोल्डकप झापाका अन्य गोल्डकपहरू भन्दा ठूलो तथा प्रतिष्ठित प्रतियोगिताको रूपमा स्थापित हुँदै गएको आयोजकहरू बताउँछन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.