पाँचौं मेचीनगर गोल्डकप: आयोजकको प्रभावशाली सुरुवात, जर्जियन एफसीलाई ४-२ ले पराजित

२४ फागुन, मेचीनगर : काँकरभिट्टामा शनिबारदेखि सुरु भएको पाँचौं मेचीनगर गोल्डकप फुटबल प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले उत्कृष्ट प्रदर्शन गर्दै विजयी सुरुवात गरेको छ। काँकरभिट्टा खेलमैदानमा आयोजित उद्घाटन खेलमा आयोजक टोलीले पाहुना टोली जर्जियन फुटबल क्लब, भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो।

खेलको प्रारम्भदेखि नै दुवै टोली आक्रमणात्मक खेल प्रस्तुत गर्न लागिपरेका थिए। खेलको २८ औँ मिनेटमा जर्जियन फुटबल क्लबका खेलाडी टिमले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए। उक्त गोल काँकरभिट्टाका सञ्जय लिम्बुले जर्जियनका कुञ्जमान थापालाई फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए। खेलमा जर्जियन टोलीले अग्रता लिएपछि काँकरभिट्टा दबाबमा परेको देखिन्थ्यो।

काँकरभिट्टाले पहिलो हाफको अतिरिक्त समयमा खेललाई बराबरीको अवस्थामा ल्याउन सफल भयो। जर्जियनको डिएरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई निशान लिम्बूले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। दोस्रो हाफ सुरु भएसँगै काँकरभिट्टाले आफ्नो प्रदर्शनलाई झनै आक्रमणात्मक बनायो।

खेलको ५० औँ मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै आफ्नो टोलीलाई २-१ को अग्रता दिलाए। कप्तान खमिरगिल्सन कन्दङ्वाले दिएको पासलाई सदुपयोग गर्दै उनले हेडर मार्फत सुन्दर गोल गरेका थिए। यो गोलपछि काँकरभिट्टाले झनै उर्जा लिएको देखियो। खेलको ६१ औँ मिनेटमा काँकरभिट्टाका निशान लिम्बूले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको लागि तेस्रो गोल गरे।

६५ औँ मिनेटमा काँकरभिट्टाका विदेशी खेलाडी रोर्बटले अर्को गोल थपेपछि आयोजक टोली ४-१ को सहज अग्रता लिन सफल भयो। जर्जियन टोलीले खेलमा फर्कने प्रयास गरे पनि काँकरभिट्टाको बलियो डिफेन्स र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण सफल हुन सकेन। इन्जुरी समयमा जर्जियनका सत्यम शर्माले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको हारको अन्तर घटाए, तर त्यो जितका लागि पर्याप्त भएन।

खेलभरि दुवै टोलीले थुप्रै अवसरहरू सिर्जना गरे। तेस्रो मिनेटमै काँकरभिट्टाका निशान लिम्बूले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो। चौथो मिनेटमा विदेशी खेलाडी इब्राहिमको प्रहार जर्जियनका गोलरक्षक सचिन सुव्बाले बिफल पारिदिएका थिए। खेलको ३० औँ मिनेटमा इब्राहिमले गोल गर्ने उत्कृष्ट मौका गुमाएका थिए भने ३७ औँ मिनेटमा निशान लिम्बूको प्रहार गोलपोस्टको दिशा लिन असफल भयो।

६७ औँ मिनेटमा जर्जियनका नरेन्द्र राईको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक विश्वास चौधरीले बचाए। खेलको ६८ औँ मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माले गरेको प्रहार बारमाथिबाट बाहिरियो। ७१ औँ मिनेटमा जर्जियनका देवासिस राईको प्रहारलाई पनि काँकरभिट्टाका गोलरक्षक चौधरीले उत्कृष्ट बचाउ गरे।

८३ औँ मिनेटमा जर्जियनका सत्यम शर्माको प्रहार गोलपोस्टको दिशा लिन नसक्दा उनीहरू निराश हुन बाध्य भए। अन्ततः, काँकरभिट्टाले ४-२ को शानदार जित दर्ता गर्दै प्रतियोगिताको सेमीफाइनल यात्रा तय गर्‍यो।

उद्घाटन खेलको ‘प्लेयर अफ द म्याच’ काँकरभिट्टाका निशान लिम्बू घोषित भए। उनले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत आइतबार ‘ए’ डिभिजन च्याम्पियन चर्च ब्वाइज र एनएसएल टिम झापा एफसीबीच प्रतिस्पर्धा हुने टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले जानकारी दिए।

चैत २ गतेसम्म सञ्चालन हुने यस प्रतिष्ठित प्रतियोगिताका विजेता टिमले नगद १० लाख रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद ५ लाख रुपैयाँ र ट्रफी हात पार्नेछ। साथै, प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षकलाई २१ हजार तथा उदयीमान खेलाडीलाई ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

यसअघि उद्घाटन समारोह भव्य रुपमा सम्पन्न भएको थियो। विभिन्न जातजातिको झाँकीसहित झाँकी परिक्रमा गर्दै खेल मैदानमा उपस्थित भएका अतिथिहरू एवं दर्शकबीच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङले प्रतियोगिताको उद्घाटन गरे।

फुटबल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती तथा विभिन्न सामाजिक एवं राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

आयोजकका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको उक्त उद्घाटन कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.