सडनडेथको रोमाञ्चक जितसँगै काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

काँकरभिट्टा : पाँचौं मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले फाइनलमा स्थान बनाएको छ। अत्यन्तै रोमाञ्चक खेलमा सडनडेथसम्म पुगेको संघर्षपछि धरानलाई पराजित गर्दै काँकरभिट्टाले उपाधि नजिकको यात्रा तय गरेको हो।

यो जितसँगै काँकरभिट्टाले कम्तीमा ५ लाख रुपैयाँ नगद पुरस्कार सुरक्षित गरिसकेको छ। उपाधि भिडन्तका लागि उसले बिहीबार चर्च ब्वाइज क्लब र मच्छिन्द्र क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

खेलको सबैभन्दा तनावपूर्ण क्षणमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले निर्णायक गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवस चौधरीले बचाए। टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू, र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्कियो। धरानतर्फ मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टले गोल गरे तर सुगम जिमीको प्रहार बाहिरिएको थियो, जसका कारण धरानको यात्रा यही रोकियो।

खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो। खेलको पहिलो गोल धरानका लागि ३४औं मिनेटमा आएको थियो। कप्तान मिलन राईले उत्कृष्ट ड्रिबलिङ गर्दै मैदानको मध्यभागबाट बल अघि बढाए र पेनाल्टी एरियामा रहेका सुरज रसाइलीलाई पास मिलाए। रसाइलीले कुनै गल्ती नगरी गोल गर्दै धरानलाई अग्रता दिलाए।

तर, काँकरभिट्टाले हार स्वीकारेन। खेलको ७२औं मिनेटमा विवेक गुरुङले प्रहार गरेको कर्नर किकलाई हेमन्त लिम्बूले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै खेल बराबरी गरे।

खेलभरि दुवै टिमले गोलका अवसरहरू सिर्जना गरे पनि तिनलाई सदुपयोग गर्न सकेनन्। काँकरभिट्टाका विदेशी खेलाडी इब्राइमले खेलको सुरुआतमा नै एक उत्कृष्ट अवसर गुमाएका थिए। खेलको ७औं मिनेटमा इब्राइमले दिएको क्रस पासमा अर्का विदेशी खेलाडी एलेक्सले गोल गर्ने सुनौलो मौका पाएका थिए तर उनले सही टार्गेटमा हान्न सकेनन्।

धरानका लागि ८८औं मिनेटमा सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्कियो। यदि त्यो प्रहार गोलमा परिणत भएको भए खेलको नतिजा नै फरक हुनसक्थ्यो।

खेलमा निर्णायक प्रदर्शन गरेका काँकरभिट्टाका गोलरक्षक विवस चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले महत्वपूर्ण बचाउहरू गर्दै टिमलाई फाइनलसम्म पुर्‍याउन ठूलो भूमिका खेले। उनको उत्कृष्ट प्रदर्शनका लागि नगद ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो।

अब फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ, ट्रफी र मेडल पाउनेछ। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ताले २५ हजार, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले जनही २१ हजार तथा उदीयमान खेलाडीले ११ हजार नगदसहित ट्रफी पाउनेछन्।

अब सबैको ध्यान बिहीबारको अन्तिम सेमिफाइनल खेलमा छ, जसको विजेताले काँकरभिट्टासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। काँकरभिट्टाले घरेलु मैदानको फाइदा उठाउँदै ऐतिहासिक उपाधि जित्न सक्छ कि छैन, त्यो भने फाइनल खेलपछि मात्र थाहा हुनेछ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.