चर्च व्वाइजको ऐतिहासिक पुनरागमन: ३-० को हारबाट ४-३ को सनसनीपूर्ण जित, फाइनलमा आयोजकसँग भिडन्त!

काँकरभिट्टा : लिग लिडर चर्च व्वाइज युनाइटेडले अविश्वसनीय पुनरागमन गर्दै मेचीनगर गोल्डकपको फाइनलमा स्थान बनाएको छ। खेलको पहिलो हाफमा ३-० को अवस्थामा पछाडि परेको चर्च व्वाइजले मच्छिन्द्र विरुद्ध सनसनीपूर्ण ४-३ को जित निकाल्दै उपाधि यात्राको ढोका खोलेको हो। अब शनिबार हुने फाइनल खेलमा चर्च व्वाइज आयोजक काँकरभट्टा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधिका लागि भिड्नेछ।

खेलको ३०औं मिनेटमा मच्छिन्द्रले अग्रता लिएको थियो। पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए। ४३औं मिनेटमा आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए। त्यही लयलाई कायम राख्दै ४४औं मिनेटमा युसुफ मलिकले मैदानको मध्य भागबाट सुन्दर गोल गर्दै मच्छिन्द्रलाई ३-० को बलियो स्थितिमा पुर्‍याए। पहिलो हाफसम्म चर्च व्वाइज गोलरहित रहेको कारण मच्छिन्द्रको जित लगभग निश्चित देखिन्थ्यो।

तर, दोस्रो हाफमा चर्च व्वाइजले अविश्वसनीय पुनरागमन गर्‍यो। खेलको ६१औं मिनेटमा विदेशी खेलाडी अबयोमी फकुन्लेले मच्छिन्द्रका डिफेन्डरहरूबाट क्लियर हुन नसकेको बललाई सदुपयोग गर्दै पहिलो गोल फर्काए। ६९औं मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई थप प्रतिस्पर्धात्मक बनाए। मच्छिन्द्रका डिफेन्स कमजोर देखिएपछि उनको प्रहार सहजै गोलमा परिणत भयो।

७८औं मिनेटमा रिचार्ड विल्सनले फकुन्लेको क्रस पासलाई सदुपयोग गर्दै गोल गरेपछि स्कोर ३-३ को बराबरीमा पुग्यो। खेलको ८७औं मिनेटमा अबयोमी फकुन्लेले ह्याट्रिक पूरा गर्दै चर्च व्वाइजलाई ४-३ को ऐतिहासिक अग्रता दिलाए। मच्छिन्द्रका डिफेन्डरहरू अघि बढेको अवस्थामा उनले फाइदा उठाउँदै प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्दै टिमलाई फाइनलको यात्रा तय गराए।

खेलभरि विभिन्न रोचक क्षणहरू देखिए। चर्च व्वाइजका जय गुरुङको क्रस पासमा रिचार्ड विल्सनले गरेको हेडरलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले १५औं मिनेटमा बचाए। ५२औं मिनेटमा चर्च व्वाइजका समिर तामाङको प्रहार पनि गोलरक्षकले उत्कृष्ट बचाउ गरे। मच्छिन्द्रका युसुफ मलिकले ९औं मिनेटमा प्रहार गरेको बल गोलरक्षकले बचाउँदै कर्नर बनाए। त्यस्तै, ७२औं मिनेटमा मच्छिन्द्रका एन्द्रेस नियाको प्रहार चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट रूपमा बचाए।

अविश्वसनीय प्रदर्शनसहित ह्याट्रिक गरेका चर्च व्वाइजका अबयोमी फकुन्ले ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगिता भरिका ‘प्लेयर अफ द म्याच’ को पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी) ले उपलब्ध गराएका हुन्।

खेलपछि चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो २५ वर्षको फुटबल करियरमा यस्तो अविश्वसनीय पुनरागमन पहिलो पटक देखेको बताए। उनले खेलाडीहरू निरन्तरको खेलले थकित भएका कारण पहिलो हाफ कमजोर भए पनि दोस्रो हाफमा रणनीति परिवर्तन गरेपछि जित निकाल्न सम्भव भएको उल्लेख गरे। मच्छिन्द्रका प्रशिक्षकले पहिलो हाफ उत्कृष्ट भएको तर दोस्रो हाफमा खेलाडीहरू सम्हालिन नसक्दा हार बेहोर्नु परेको बताए।

शनिबार हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी प्राप्त गर्नेछ भने उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछ। उत्कृष्ट प्रशिक्षक र गोलरक्षकले जनही नगद २१ हजार तथा ट्रफी प्राप्त गर्दा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी जित्नेछन्। साथै, हरेक खेलका ‘प्लेयर अफ द म्याच’ ले नगद ११ हजार र ट्रफी पाउने छन्।

अब उपाधि कसले उचाल्ने? चर्च व्वाइज ऐतिहासिक पुनरागमनपछि उपाधि जित्न सफल हुनेछ कि आयोजक काँकरभट्टा घरेलु मैदानमा ऐतिहासिक जित निकाल्नेछ? सबैको नजर शनिबार हुने फाइनलमा छ!

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.