चर्च व्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकपको च्याम्पियन

काँकरभिट्टा : लिगलिडर चर्च व्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ। शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च व्वाइजले उपाधि जितेको हो। यो जितसँगै चर्च व्वाइजले झापा कपपछि उपाधिको खडेरी तोडेको छ। मंसिरमा सम्पन्न झापा कप जितेपछि चर्च व्वाइज कुनै प्रतियोगितामा विजयी हुन सकेको थिएन। उपाधिसँगै चर्च व्वाइजले नगद १० लाख, ट्रफी, र मेडल प्राप्त गरेको छ भने उपविजेता काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझाएको छ।

खेलको ११औं मिनेटमा चर्च व्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए। आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी क्षेत्रभित्र क्लियर गर्न नसकेको बललाई समिरले उत्कृष्ट रूपमा गोलमा परिणत गरेका थिए। यही गोल चर्च व्वाइजलाई उपाधि दिलाउन निर्णायक बन्यो। फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ चर्च व्वाइजका समिर तामाङ घोषित भए, जसले नगद ११ हजार प्राप्त गरे। प्रतियोगिताभरको ‘प्लेयर अफ द म्याच’ पुरस्कार श्याम प्रसाई (एसपी)ले प्रदान गरेका थिए।

प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा विभिन्न खेलाडीहरूले पुरस्कार प्राप्त गरेका छन्। आयोजक टिमका खमिरगिल्सन कन्दङ्वा सर्वाेत्कृष्ट खेलाडी घोषित भए र उनले नगद ५१ हजार प्राप्त गरे। चर्च व्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक सर्वाधिक गोलकर्ताका रूपमा घोषित भए, जसले जनही नगद २५ हजार र ट्रफी प्राप्त गरे। चर्च व्वाइजका सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए र उनले नगद २१ हजार प्राप्त गरे। त्यस्तै, चर्च व्वाइजकै टिकेन्द्र थापा उत्कृष्ट गोलरक्षक घोषित भए भने आयोजक टिमका दिवस उराउ उत्कृष्ट डिफेन्डर बने। आयोजक टिमकै पर्शु राई उदीयमान खेलाडी घोषित भए र उनले नगद १५ हजार प्राप्त गरे।

प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च व्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, भारतको जर्जियन फुटबल क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लब सहभागी थिए।

यस अवसरमा फुटबलको माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न खेलाडीलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा सन्देश श्रेष्ठ, नरोत्तम गौतम, संगिता राउत, लुना प्रधान, लिला थापा रहेका छन्। उनीहरूलाई सम्मान पत्र तथा नगदसहित सम्मान गरिएको थियो।

समापन समारोह आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की रहेका थिए। प्रदेश सांसद गोपाल तामाङ, आयोजक टिमका अध्यक्ष नवराज ओली, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, मेयर गोपालचन्द्र बुढाथोकी, झापा गोल्डकप अध्यक्ष केदार गिरी, भद्रपुर गोल्डकप अध्यक्ष दिपेश ढकाल, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायत विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजक समितिका सहसंयोजक विमल आचार्यले स्वागत मन्तव्य राखेका थिए भने सचिव राजु कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगिता चैत २४ गतेबाट सुरु भएको थियो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.