२५ असोज, मेचीनगर : ‘जेनेरेशन जेड’ जेन—जीका नव पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, भ्रष्टचारको अन्त्य र सुशासनको मागसहित २३ भदौंबाट शुरु गरेको प्रदर्शनका क्रममा साहदात झापाली सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रदर्शनका क्रममा २४ भदौंमा झापा अर्जुनधारा नगरपालिका —८ हात्तीकिल्लाका ३२ वर्षीया दिनेश राजवंशी र झापा अर्जुनधारा— ११ लक्ष्मी धापका ३९ वर्षीय छोरा ज्ञानेन्द्र सेढाई (गोपाल) को मृत्यु भएको थियो । शनिबार उनीहरुको स्मृतिमा झापा मेचीनगरका युवाहरुको समूह यूथ फर सोसाइटी मेचीनगरले नगरमा “५ के रोड रन” ‐म्याराथन दौड) को आयोजना गरेको थियो ।
सोसाइटीका अनुसार “सहिदहरुप्रति समर्पित म्याराथन दौड–५ के रोड रन” मेचीनगर नगरपालिका वडा नम्बर —१५ स्थित बिचार्नी चोकबाट वडा नम्बर —१० को धुलाबारीमोडमा पुगेर समापन भएको थियो ।
पाँच किलोमिटर सम्मको उक्त दुरी १८ मिनेट ३२ सेकेण्डमा पार गदैं पुरुषतर्फ झापा दमकका शरद सिहं प्रथम भए । उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरे । यसैगरी, १८ मिनेटमा ४२ सेकेण्डमा दुरी पार गर्दै झापा विर्तामोडका शिव कार्कीले दोस्रो स्थान हासिल गदैं नगद तीन हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाण पत्र हात पारे । झापा दमकका मिङ्सेन लिम्बुले २० मिनेट ४४ सेकेण्डमा दुरी पार गदैं तेस्रो स्थान हासिल गरे । उनले नगद दुईहजार रुपैयाँसहित सहित ट्रफी, पदक र प्रमाण पत्र जितेको सोसइटीका सदस्य जयराम दाहालले जानकारी दिए ।

महिलातर्फ झापा दमकका पुष्पा शेर्मा लिम्बु प्रथम, दमकका मन्दिरा महतरा दोस्रो र दमककै रुबिना महतरा तेस्रो भए । उनीहरुले क्रमस नगद पाँच हजार, तीन हजार र दुई हजारसहित ट्रफी, पदक र प्रमाण पत्र प्राप्त गरेको दाहालले बताए ।





































