इटहरी , फागुन १६ । सुनसरीको इटहरीमा जारी प्रदेश न. १ स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा जहदा भेट्रान फुटबल क्लब मोरङले सिएमजी भेट्रान फुटबल क्लब विराटनगरलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
इटहरी –५ पचरुखी स्थित जनता बहुमुखी क्यापसको खेल मैदानमा आज सम्पन्न भएको प्रतियोगितामा विजयी टिम जहदाका तर्फबाट खेलको ७ औं मिनेटमा डेनिम राईले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसैगरी खेलको १३ औं मिनेटमा जहदाले सिएमजीका खेलाडीलाई फल खेले बापत पेनाल्टी पाएका जहदाका विजय डङ्गगााेलले १ गोल गर्दै खेल बराबरी बनाए ।
अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा जहदा भेट्रान एफसीका तर्फबाट २३ औं मिनेटमा सन्तोष राई र ४३ औं मिनेटमा चरन गुरुङले समान १/१ गोल गरे । त्यसैगरी सिएमजीका तर्फबाट खेलको ४८ औं मिनेटमा रबी कार्कीले १ गोल भने मध्यान्तरपछि प्राप्त गरेको पेनाल्टीको सदुपयोग गर्न नसक्दा सिएमजीले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेल्दै १ गोल गर्न सफल जहदा भेट्रान फूटबल क्लबका डेनिम राई म्यान अफ दि म्याच घोषित भए । उनलाई व्यावसायी,समाजसेवी राजेन्द्र खड्काले खेलकूद सामाग्री प्रदान गरे ।
भोलिको खेल एलेभेन एरोस भेट्रान एफसी दुहबी सुनसरी र दुधे भेट्रान एफसी झापा बिच दिनको ३ बजे हुनेछ । विभिन्न नगरपालिकाको मेयर , जनप्रतिनिधि र पूर्व रास्ट्रीय खेलाडीहरुको खेल प्रदर्शन हेर्न दिनप्रतिदिन दर्शकहरु बढ्ने गरेको आयोजकका सल्लाहकार श्याम चौधरीले मेरोमेचीनगर अनलाइनलाई जानकारी दिए ।
हाम्रो इटहरी भेट्रान फूटबल क्लबको आयोजना ,इटहरी उपमहानगरपालिकाको संयोजन, मुख्य प्रायोजक गोरखा प्राली र सह प्रायोजक गोकुलम रिसोर्ट रहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफि पाउने छन् ।