काठमाडौं,वैशाख २८ । पहिलो क्वालिफाएर खेलमा काठमाडौँ रेजर्सलाई हराउँदै धनगढी एफसी नेपाल सुपर लिग( एनएसएल)फुटबल खेलको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा धनगढीले काठमाडाैँलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पराजित टोली काठमाडौँले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटेर खेल्नेछ।
आज सम्पन्न भएको खेलमा काठमाडौ रेजर्सका तेज तामाङले ७५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७८ औं मिनेटमा धनगढी एफसीका पुजन उपरकोटीले गोल गर्दै खेल बराबरी ल्याएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा धनगढीका विशाल राईले थप एक गोल गरेपछि धनगढी विजेता हुँदै फाइनल पुगेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरे बापत धनगढीका सौजन राई ” इमर्जिङ प्लेयर अफ दि म्याच ” बन्दै नगद रु दस हजार प्राप्त गरे । त्यसैगरी धनगढीकै फ्र्याङ्कलिन क्युटे”सुपर प्लेयर अफ दि म्याच “बन्दै नगद रु २५ हजार प्राप्त गरे ।
भोलिको प्लेअफको दोस्रो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्नेछ।