२८ चैत, मेचीनगरः संघीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई मेचीनगर नगरपालिका, नगरकार्यपालिका कोशी प्रदेश झापाका तर्फबाट ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ स्थापना गर्ने प्रयोजनार्थ आगामी आर्थिक वर्ष २०८१/०८२ मा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजनका लागि प्रस्ताव पत्र पेश गरेको छ ।
बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई नगरपालिकाकातर्फबाट उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्ताव पत्र हस्तान्तरण गर्नुभएको हो । उपप्रमुख उप्रेतीले मन्त्री शर्मालाई बुझाएको प्रस्ताव पत्रमा भवन फर्निसिङ्ग तथा डेकोरेशन, कम्प्यूटर सर्भर, सफ्टवेयर, तथा हार्डवयर प्रविधि खरिद तथा जडान, इलेक्ट्रोनिक्स व्यवस्थापन र मानव स्रोत स्रोत पर्सन व्यवस्थापन कार्यका लागि तीन करोड रुपैयाँको रुपैयाँको लागतसहितको प्रस्तावना पत्र हस्तान्तरण गर्नुभएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख अशोक भेट्वालले जानकारी दिनुभयो ।
मेचीनगर नगरपालिकामा सञ्चालन हुने ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ मा मेचीनगर नगरपालिकालगायत अन्य सवै पालिका, समग्रमा देशव्यापीरुपमा संख्या निर्धारण गरी सो क्षेत्रमा क्षमता विकास गर्न चाहाने सवै नागरिकलाई ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ मा आवद्ध गराईने छ ।
नेपाल साथै विश्व बजारमा सफ्टवेयर प्रणालीको माग अत्यधिक रहेको भएपनि उक्त मागलाई परिपूर्ति गर्न सफ्टवेयर डेपलपर तथा सफ्टवेयर इञ्जिनियरहरु अत्यन्तै न्यून रहेको अवस्थामा मेचीनगर नगरपालिकामा ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ भौतिकरुपमा स्थापना गरी सो क्षेत्रमा आवद्ध हुने जनशक्तिलाई क्षमता विकास गरी सफ्टवेयर निर्माण तथा खोज कार्यमा संलग्न गराईने नगर उपप्रमुख उप्रेतीले बताउनुभयो । उक्त ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ मार्फत मेचीनगर नगरपालिकालगायत देशभरिका करीब २५ हजारभन्दा बढी मानवस्रोतलाई सफ्टवेयर विकासको क्षेत्रमा आवद्ध गराई गुणस्तरीय सफ्टवेयर प्रणाली विकास साथै क्षमतावान मानवस्रोत उत्पादन गर्ने उद्धेश्यले ‘सफ्टवेयर डेभलपमेन्ट तथा खोज कर्नल’ स्थापना गर्ने लक्ष्यका साथ नगरपालिकाले मन्त्री शर्मासँग प्रस्ताव पेश गरेको हो ।
सूचना प्रविधि अपरिहार्यक्षेत्र भएको भन्दैं नगर उपप्रमुख उप्रेतीले यसक्षेत्रमा सरकारी तवरबाट नै लगानी बढाएर यसक्षेत्रमा पर्याप्त क्षमतावान जनशक्ति उत्पादन गरी देश सफट्वेयर प्रणालीमा मजवुत हुने र बाहिरी राष्ट्रमा समेत सफ्टवेयर प्रणालीको क्षेत्रमा सेवा प्रदान गरी देशमा आथिृक उन्नयन हुने विश्वास व्यक्त गर्नुभयो ।