काठमाडौं : नेपालका दुई प्रमुख डिजिटल वालेट, खल्ती र आईएमई पे, एकआपसमा गाभिने भएका छन्। आइतबार दुवै कम्पनीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको छ।
यो मर्जरपछि प्रयोगकर्ताले एउटै एपमार्फत खल्ती र आईएमई पेका सम्पूर्ण सेवा सुविधाहरू उपयोग गर्न सक्नेछन्। मर्जरपछिको नयाँ नाम ‘आईएमई खल्ती’ हुने तय गरिएको छ। आईएमई पेका एक अधिकारीका अनुसार, मर्जर सम्बन्धी विस्तृत जानकारी चाँडै सार्वजनिक गरिनेछ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ संशोधन गर्दै डिजिटल वालेटहरूबीच मर्जरको व्यवस्था गरेको थियो। संशोधित विनियमावलीअनुसार, भुक्तानी सेवा प्रदायक संस्थाहरू एकआपसमा गाभिन वा प्राप्ति गर्न सक्नेछन्।
मर्जरपश्चात्, ग्राहक संख्याका आधारमा ‘आईएमई खल्ती’ देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बन्ने अपेक्षा गरिएको छ।