मिति : २०६२ साल पुस ७ गते
प्यारी सपना
असिम मायाहरू केवल तिमीलाई…….
यो कस्तो ऐँठन होला ? भक्कानिएर निस्कन्छ हृदयबाट तिमी प्रति उर्लीएको मायाहरू । कसरी कसरी तिमी मेरो हृदयमा कैद हुन पुगिछौ, म आफै पनि अचम्ममा पर्छु । दुुई अन्जान मनहरू नाजिकिंदै जाँदा दिन, महिना, अनि वर्षहरू बिते । हामी एकअर्का बीचको दुरी मित्रताको माध्यम बाट घट्दै गयो । विस्तारै विस्तारै तिम्रो अनुपस्थितिमा के–के कता–कता हराए जस्तो आफूबाट मुटु फुत्त निस्केर कतै गए जस्तो, एक्लो एक्लो अनुभूति मनमा पलाउँदै गए तर म आफै कस्तो अनभिज्ञ मैले त तिमीलाई आफ्नो चाहना, प्राप्ति अनि लक्ष्य ठानी सकेको रहेछु ।
थाह छ तिमीलाई मैले एक दिन पनि देखिन भने यो मनको व्यग्रता बढेर कहाँ कहाँ सम्म पुग्छ पुग्छ….. ? तिमी रिसायौ भने त झन मेरो मस्तिष्कको सन्तुलन नै गुम्छ । म के गरौं, के नगरौं, सोच्न सम्म पनि सक्दिन । मलाई पश्चताप लाग्छ किन आखिर किन अनायसै म तिम्रो मन दुखाउन पुग्छु । हेरन म पनि त यसै समाजको मान्छे हूँ । जो यस समाजको परछायाँबाट टाढा रहन सक्दैन फरक यति मात्र हो कि म जो हुँ, त्यो अरू होइन र अरु जो हो, त्यो म होइन । अब तिमीले यसै कुरालाई विश्लेषण गरेर म र अरुमा फरक छुट्याउन सक्नु पर्छ । म मात्र तिम्रो मायाको सेरोफेरोमा हाँस्न, रमाउन अनि बाँच्न सक्छु तर पनि खै किन हो किन तिम्रो व्यवहारले कहिले काँही मलाई म तिम्रो सामु अपरिचित व्यक्ति जस्तै लाग्छ ।
भनिन्छ, यो संसारमा भरोसा र विश्वास कसैको पनि गर्नु हुँदैन रे तर एउटा कुरा सत्य के छ भने यो संसार पनि त एउटा विश्वास र भरोसामा अडेको छ । मैले यी सब लेखेर तिमी मलाई विश्वास गर्दैनौं भन्न खोजेको होइन तर पनि कहीं कतै तिम्रो विश्वासमा पहिरो नजाओस् अनि बाढी नआओस भनेर अनुरोध गरेको हुँ । तिमी आफै भन त मन जोडिए पछि कति चाँडो एक अर्काको करिब पुगिदोे रहेछ तर यो करिबपनमा सानो झोक्काले पनि दूरी ल्याइदिन सक्छ । मैले भन्न मात्र यति खोजेको हुँ कि तिमी मेरो आफ्नो मान्छे हौं, जो सदैव मेरो मनको मझेरीमा बसिरहन्छ अनि दिलको प्रत्येक धड्कनसँगै मेरो प्राण बनेर ढड्किरहन्छ । म केवल तिम्रो हुँ र तिम्रो भएर बाँच्न चाहन्छु र मैले पनि तिमीबाट सदैब चाहेको पनि यति नै हो ।
अन्त्यमा, सपना म केवल तिम्रो हँसिलो मुहार हेरेर हाँस्न सक्ने हुनाले तिमी ज्यादा नरिसाउ ल ।
उही तिमीलाई माया गर्ने मान्छे …..रिदम….