आज भदौ २० गते वा १८ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस । यसवर्ष ‘तीनै तहका सरकारको प्रतिवद्धता, मानव बेचबिखन विरुद्घको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवश मनाइदैं छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि,२००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि मन्त्रिपरिषद्को २०६४ जेठ ११ को बैठक बाट हरेक बर्ष भदौ २० गतेलाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिए बमोजिम हरेकवर्ष भदौ २० गते वा आजका दिनलाई मानव बेचबिखन बिरुद्घको राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको इतिहास छ ।
मानव बेचबिखनलाई जघन्य अपराधको रुपमा लिईन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ अनुसार कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाइदा लिइ वा नलिइ बेश्यावृत्तिमा लगाउने, प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने र बेश्यागमन गर्ने कार्यलाई मानव बेचबिखन भनिन्छ । मानव ओसारपसार भन्नाले किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, बेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरीलगायत थुप्रै कुराले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने कार्य पर्छ । यसरी हेर्दा बेचबिखन र ओसारपसार अन्तरसम्बन्धित देखिन्छन् ।
बेचबिखनको मुख्य उद्देश्य थुप्रै छन् । सडकपेटीमा माग्न राख्ने, सर्कसमा खेलाउन लगाउने, इँटा भट्टा जस्ता जोखिमपूर्ण काममा लगाउने । तर पछिल्ला सवालहरू ऐनकै कारण ओझेलमा पर्दै आएका छन्। विश्व प्रविधि र विकासको चुलीमा चढ्दै गरेसँगै अपराधका स्वरूप र शैली पनि बदलिँदै आएका छन् । अपराध गर्नेहरू जहिले पनि कानुन र सुरक्षा संयन्त्रभन्दा एक कदम अगाडि हुन्छन् । त्यसैले कानुनी प्रावधानहरूबाट छुटकारा पाउन उनीहरू हरदम सोचमग्न हुन्छन्।
लागुऔषधको अवैध कारोबारलाई विश्वकै सबैभन्दा ठूलो आकारको संगठित अपराध मानिन्छ । त्यसपछि दोस्रोमा आउँछ हतियारको कारोबार । तेस्रोमा चाहिँ मानव बेचबिखन । यसबाटै थाहा हुन्छ कि यो कारोबारको आकार कति ठूलो छ भन्ने । अनि यति ठूलो कारोबारको सञ्जाल पनि विश्वव्यापी हुने नै भयो ।
संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागूऔषधमध्ये मानव बेचबिखन तेस्रो ठूलो अपराधको रुपमा दर्ज भएको छ । मानव बेचबिखनरुपी व्यापारबाटमात्र विश्वव्यापीरुपमा बार्षिक करीब १ सय ५० अरब अमेरिकी डलर आर्जन हुने गरेको छ । विश्वव्यापीरुपमा हुने मानव बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने र करीब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरु बेचबिखनमा पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । यस्तो अपराध कम गर्न प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाण्डौले सन्देशमुलक सन्देश प्रवाह गर्न मुख्यः नाकामा डिस्प्ले बोर्ड राखेको छ । हुनतः मानव बेचबिखन तथा ओसारपसार जस्तो आपराधिक कार्य कसैको एक्लो प्रयासले मात्र सम्भव छैन् । यसलाई रोक्न सवै एकजुट हुनुपर्छ ।
कोशी प्रदेश प्रहरी कार्यालय मानवअधिकार शाखाका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा मानव बेचबिखनसम्बन्धी कुल १७ वटा मुद्दा परे । जसमा पीडित १७ (महिला ११, बालिका ६) थिए, भने पीडक ३८ (महिला २१, पुरुष १७) जना थिए । आर्थिक वर्ष २०८०÷०८१ मा यस्ता प्रकृतिका ११ वटामात्र मुद्धा दर्ता भए । यस घटनमा ११ महिला र एकजना बालिका पिडीत भए । त्यो वर्ष पीडकको संख्या पुरुष ११ , महिला ६ र बालिका एकजना गरी कुल १७ छ । मानव बेचबिखनको घटनामा सबैभन्दा बढी महिला पीडित हुन्छन् ।
राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखन सम्बन्धीको राष्ट्रिय प्रतिवेदन २०७९ हेर्ने हो भने नेपालमा मानव बेचबिखन तथा ओसारपसारको अवस्था प्रष्ट हुन्छ । नेपाल मानव बेचबिखनको स्रोत मार्ग माध्यम र गन्तव्य मुलुकको रुपमा विकास भएको छ । बेचबिखनका उद्धेश्य, बेचबिखनकर्ताले प्रयोग गर्ने विधि, बेचबिखनका क्षेत्र आदिमा परिवर्तन हुदैँ आएका छन् । विभिन्न मुलुकहरुले आफ्नो राष्ट्रभित्र भएको मानव बेचबिखन सम्बन्धी घटना दर्ता तथा पीडित प्रभावितहरुको तथ्याङ्कको संकलनमा जोड दिएकाले मानव बेचबिखनबाट प्रभावित तथा पीडितहरुको संख्यामा बृद्धि भएको छ ।
मुख्यः गरी आर्थिक अवस्था कमजोर भएका , परिवार तथा समाजबाट एक्लाईएका तथा पारिवारीक हिँसा तथा अन्य हिँसामा रहेका व्यक्तिहरु मानव बेचबखिनको उच्च जोखिमको अवस्थामा रहेका हुन्छन् । युएनओडिसीको मानव बेचबखिन सम्बन्धी विश्वव्यापी प्रतिवेदन २०२० अनुसार आर्थिक अवस्था कमजोर भएका तथा आर्थिक आवश्यकता भएका ५१ प्रतिशत, अव्यवस्थित परिवारसँग रहेका बालबालिका २० प्रतिशत, मानव तस्करहरुसँग नजिकको सम्बन्ध भएका व्यक्तिहरु १३ प्रतिशत ,मानसिकरुपमा अस्वस्थ्य व्यक्ति १० प्रतिशत, आप्रवासनमा रहेका व्यक्तिहरु १० प्रतिशत, अभिभावकको संरक्षणमा नरहेका ९ प्रतिशत , न्यून शिक्षा तथा न्यून वैदेशिक भाषा ज्ञान भएका ६ प्रतिशत, शारीरिक अपाङ्ग ३ प्रतिशत व्यक्तिहरु मानव बेचबिखनको उच्च जोखिममा रहेको राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखन सम्बन्धीको राष्ट्रिय प्रतिवेदन २०७९ मा स्पष्ट छ ।
यस्तै उक्त प्रतिवेदनले ५० प्रतिशत यौन शोषण, ३८ प्रतिशत जवरजस्ती श्रम, ६ प्रतिशत आपराधिक क्रियाकलापमा संलग्न गराउन, १५ प्रतिशत मगन्ते, १ प्रतिशत जवरजस्ती विवाह, १ प्रतिशत मिश्रितरुपमा तथा न्यूनरुपमा बच्चाको व्यपार, मानव अंग झिक्ने तथा अन्य कार्यहरुका लागि मानिसहरु मानव बेचबखिन तथा ओसारपसारमा पर्ने गरेको तथ्य प्रतिवेदनमा उल्लेख छ ।
हरेक वर्ष अलग अलग नाराका साथ विविध कार्यक्रम गरी यो दिवस मनाईँरहेपनि हाम्रो देशमा मानव बेचबिखनका घटना निक्कै डर लाग्दो र भयावह बनिरहेको छ । मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या ज्यूँका त्यू छ भन्दा कुनै अत्यूक्ति नहोला ।
देशका हरेक जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रण र रोकथामका लागि दर्जनौं गैरसरकारी संस्था क्रियाशील छन् भने सरकारी निकाय पनि उत्तिकै सक्रिय छ । सीमा नाका र विमानस्थलमा समेत सधैँ तैनाथ छन् सरकारी तथा गैरसरकारी संस्था । तर, मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भए पनि यसलाई निर्मूल गर्न सकिएको छैन् । मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने सरोकारवालाहरुले बताउँदैं आएका छन् । मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।
खासगरी मृगौला, कलेजो र रगत शारीरिक अंगहरु तस्करीका लागि बेचबिखन हुने तथा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेका छन् । आजको आधूनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक भएको भन्न सकिन्छ ।
नेपालका चेलीबेटीहरु विभिन्न बहानामा भारतको खाडीमा बेचिने गरेका छन् । बढी भारतको कोठीमा केन्द्रित भई बेचिन पुगेका छन् । रोजगारीको बहानामा पनि मानव बेचबिखन हुने गरेका छन् । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ । दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवरजस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको अवस्था रहेको छ ।
पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।
बेचबिखनमा बढी महिला पीडित हुने गरेका छन् । यसको न्यूनीकरणमा महिला नै जागरूक हुनुपर्ने देखिन्छ । अथवा मानव बेचबिखनमा मुख्य पीडित महिलाहरू नै हुने गरेकाले विशेष गरी महिलाहरू नै बढी सचेत र जागरूक हुनुपर्छ जस्तो लाग्छ । पहिले देशभित्रै दास प्रथा, कमैया प्रथाका नाममा बेचिने गरेका थिए । अब त देशबाहिर पनि मानव बेचबिखन हुने हुँदा दुवै विषय संवेदनशील भए । जवसम्म जनता सचेत हुदैँनन् तवसम्म मानव बेचबिखनका घटना न्यूनीकरण हुन् सक्दैन् । कानुन कार्यन्वयनमा नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने आजको आवश्यकता हो ।
सिङगो महिला तथा बालबालिका कार्यालय रातदिन यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागि रहेको छ । चेलीबेटी बेचबिखन बिरुद्व सघर्षरत र महिला एवम् बाल–बालिकाको हकहितका लागि काम गर्दे आएका दर्जनौ गैरसरकारी सघ–संस्था भए पनि उनीहरुको मात्र एक्लो यो प्रयास सम्भव छैन् ।
मानव बेचबिखन अन्जानवश वा आवेशमा आएर गरिने अपराधको सूचीभित्र पर्दैन । यो सुझबुझपूर्ण र नियोजित अवधारणामा आधारित हुन्छ भन्ने हामी सवैले सहजरुपमै बुझन पनि सक्छौ । त्यसकारण पनि यस्ता अपराध न्यूनीकरणको मुख्य उपाय नै सम्भावितलाई सचेतना र पीडकलाई कानुनी कारबाही नै हो । यस्तो अवस्थामा प्रभावकारी कानुन निर्माण र त्यसको सशक्त कार्यान्वयन एक मात्र उपाय हुन सक्छ ।