मोहन काजी
लोकतन्त्रमा सबै नागरिकको अधिकार समान हुन्छ । गणतन्त्रबादी र राजाबादीलाई छुट्टाछुट्टै कानून लाग्ने हुँदैन । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेठ १८ गते काठमाडौंमा प्रहरीद्वारा पक्राउ गर्दा लछारपछार पार्ने र घिस्याउने जुन व्यवहार देखियो, त्यो शैली ठिक थिएन । निषेधाज्ञा तोड्दा पक्राउ गर्नु कानून र नियमको पालना गराउने प्रहरीको डिउटी होला, तर शैली अलोकतान्त्रिक र अपमानजनक हुनुहुँदैन ।
पञ्चायतकालका अन्तिम दिनहरुमा कमल थापा मन्त्री हुनुहुन्थ्यो । उहाँका त्यसबेलाका आदेश र व्यवहारहरु क्रुर र अलोकतान्त्रिक थिए । उसबेला मुलुकमा तानाशाही व्यवस्था थियो । त्यसबेला उहाँको हुकूमी र तानाशाही व्यवहार निःसन्देह अक्षम्य थिए । तथापि, अहिले उहाँमाथि प्रहरीले सडकमा घिस्याउने र लछारपछार पार्ने व्यवहार देखाउँदा उसबेलाको व्यवहार सम्झेर ठिक भयो भन्नु पूर्वाग्रह हो, प्रतिशोध हो । लोकतन्त्रमा कानूनी राज हुन्छ, स्वेच्छाचारिता कानूनसम्मत मानिदैन । हामी जो जो आफुलाई गणतन्त्रबादी भन्छौं, उनीहरुलाई राज्यले गर्ने व्यवहार र राजाबादीहरुलाई गर्ने व्यवहार एउटै हुनुपर्छ ।
किनकि, लोकतन्त्र भनेको कागजमा लेखिएको संविधानका अक्षर मात्र होइन, नागरिकले अनुभूत गर्ने व्यवहार पनि हो । हिजो राजतन्त्र थियो, लोकतन्त्रबादीहरुले बोल्न र जुलुस निकाल्न पाउँदैनथिए । आज लोकतन्त्र छ, राजाबादीहरुले पनि बोल्न र जुलुस निकाल्न पाइरहेका छन् ।
[नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजीको मुहार पुस्तिकाबाट जस्ताको तस्तै साभार गरेका छौ ]



































