जीवनको सुरुवात :
मेरो बुबा जसलाई समाजले पूर्णबहादुर लुइटेल भन्दा पनि क्षेत्री कान्छाको नामले चिन्दछ । बुबाको जन्म वि.सं. २०१० साल फागुन २१ गते दिन झापा भद्रपुर स्थित जगन्नाथ मिलमा पिता मीनबहादुर लुइटेल (न्याउरे/फड्के कान्छा) र माता भवमायाको दोस्रो सन्तानका रूपमा बुबाको जन्म भयो । बुबाको एक दिदी हुनुहुन्थ्यो रुकमणी लुइटेल । वहाँको सानोमै स्वार्गरोहण भइसेको थियो । हजुरबुबा मीनबहादुर लुइटेल र हजुरआमा पुर्खौलाी थालो ओखलढुङ्गाको तत्कालिन विलन्दु गाउँ पञ्चायत वडा नम्बर ४ धुसुनी फड्के डाँडागाउँबाट (हाल चम्पादेवी गाउँपालिका) बाट बसाई सरी काठमाडौँ हुँदै झापाको भद्रपुर स्थित जगन्नाथ मिलमा काम गर्न थाल्नुभएको थियो ।
जग्गन्नाथ मिलमा काम गर्ने क्रममा एउटा दुःखद घटनाले हजुरबुबालाई भद्रपुर छोड्न बाध्य बनायो । एक दिन चट्टालमा धान सुकाएका बेला गाई आएर धान खान थालेपछि गाईलाई धपाउन कदमको दानाले हान्दा गाई घटनास्थलमै मरेछ । त्यसपछि त्यो ठाउँ अफाप भयो भनी हजुरबुबा हजुरआमा छ महिनाको बुबालाई च्यापेर सिधै मेचीनदी तरेर भारत पश्चिम बंगालको बतासी भन्दा पूर्वपट्टि रहेको ठ्याङझोडा बगान पुगी काम गर्नथाल्नु भएछ । पछि वहाँ बगानमा गोदामबाबु भएर काम गर्नुभएको थियो रे । बुबा एक वर्ष नपुग्दै हजुरबुबाको निधन भयो । हजुरआमा एक्लो भएपछि त्यही बगानमा काम गर्ने एक घिमिरे थरको व्यक्तिसँग दोस्रो विवाह गरेपछि उहाँको एक बहिनीको समेत जन्म भयो रे ।
बुबाको सानो उमेर बतासीमा बित्यो । बतासीबाट बुबा ७ वर्षको उमेरबाट नै गाई चराउन मेची बगर आउने गर्नुहुन्थ्यो रे । बतासीमा जगत घिमिरे काका(बुबाको काकाको छोरा) को घरमा बुबा बस्नु हुन्थ्यो रे । बुबा ९ वर्षको उमेरमा दिदीको समेत निधन भयो रे । त्यसबखत ९ वर्षको उमेरमा नै दिदीको किरिया बारेको बुबा बताउनु हुन्छ । बुबा १० वर्षको हुँदा आमाको समेत निधन हुन पुग्यो । वि.सं. २०२३ सालमा १३ वर्षको कलिलो उमेरमा बतासीबाट एकजना मानिसले बुबालाई सतिघट्टामा सत्यनारायण पाण्डेको घरमा काम गर्न पठाएका थिए रे । त्ससबेला बुबाले फेरि नेपालको पूर्वी नाका तत्कालीन ज्यामिरगढी वडा नम्बर ८, सतिघट्टामा आउने क्रममा मेचीनदी पार गर्नुभयो । मेचीनदीमा मुखधुने क्रममा सत्यनारायण पाण्डेको नाम बिर्सेर उहाँले घर पत्ता लगाउन सक्नु भएनछ र सुरुमा ताराराज ओलीको घरमा गोठालोको काम गर्नुभयो । त्यसको एक वर्षपछि मात्र उहाँ सत्यनारायण पाण्डेको घरमा हली गोठालोका रूपमा काम गर्न थाल्नुभयो र उहाँको कर्मशील यात्रा सुरु भयो । बुबाले लामो समय सम्म हली-गोठालो गरेरै विताउनु भयो ।
वि.सं. २०३५ साल फागुन २० गते बुबा पदमबहादुर राउत र आमा दुर्गादेवी राउतकी ठूलीकान्छी(कान्छी भन्दा माथिकी) छोरी रीताकुमारी राउतसँग उहाँको विवाह भयो । आफ्नो घर नभएकोले बुबाले आफ्नो बेहुली समेत सत्यनारायण पाण्डेको घरमा भित्राउनु पर्यो । त्यस पछि बुबा र आमा दुबैजना मिलेर आफ्नो पारिवारिक संघर्षपूर्ण जीवनयापन गर्दै हिड्ने क्रममा अरुको घरमा काम गर्न छोडेर खेतीपाती अधिया गर्ने, बन्धकी लिने, गोरु व्यापारमा पिटानी गर्ने(गोरु झापाका विभिन्न बजारबाट भारतको अधिकारी, नक्सालबारी पु¥याउने काम) लगायतका काम गर्दै अलिअलि पैसा जोहो गरेर ससुरा बुबा पदमबहादुर राउतले दिनु भएको एकटुक्रा ऐलेनी जग्गामा एउटा सानो झुपडी बनाउनु भयो ।
वि.स. २०३८ सालमा जेठो सन्तानको रुपमा मेरो जन्म भयो । त्यसपछि जन्मेको एक छोरीको निधन भयो र पछि क्रमशः दुई बहिनी उमा लुइटेल र इन्दिरा लुइटेल तथा एक भाइ सोम लुइटेलको जन्म भयो ।

परिश्रमको फल र पारिवारिक जीवन : आरोह/अवरोह
बुबा आमाको संघर्षपूर्ण जीवनमा उहाँका सन्तान हामीले सानैखेखि धेरै काम सघाएको हामीलाई सम्झना छ । मलाई सानोमा घरमा काले भनेर बोलाउने गर्नुहुन्थ्यो र तत्कालीन अरनिको प्रा.वि.(हाल मा.वि.) बाट कक्षा ५ उत्तीर्ण गरेर काँकरभिट्टा मा.वि.मा कक्षा ६ मा भर्ना हुन आउँदा सम्म गाउँ घरमा मलाई सबैले काले भनेर बोलाउने र चिन्ने गर्नुहुन्थ्यो। म काँकरभिट्टा पढ्न थालेपछि मात्र मेरो नाम कालेबाट विस्तारै दुर्गामा परिणत भएको थियो । वि.सं. २०४६/२०४७ सालको जनआन्दोलन पछि जब देशमा प्रजातन्त्र आयो त्यो खुसीयाली मनाउन गाउँका सबै मानिसहरु ज्यामिरगढीको बिचार्नी जानु भएको थियो । त्यो नाराजुलस सँगै त्यस बेला मैले आफू ९ वर्षको उमेरमा १ वर्षको भाइलाई बोकेर बिचार्नी पुगेको थिएँ । त्योबेलाबाट मलाई गाउँमा बिचार्नी काले भन्दै गाउँका दाइहरु जिस्काउनु हुन्थ्यो ।
हामी छोरा छोरीहरु सबैजना घाँस काट्ने, राँगा चराउने, बाख्रा हेर्ने जस्ता घरको काममा बुबा आमालाई धेरै सघाउथ्यौ । त्यसैले गाउँमा हामीलाई छरछिमेकका दाइहरूले परिश्रम ग्रुप भन्दै जिस्काउहुन्थ्यो । काँकरभिट्टा माध्यमिक विद्यालय पढ्न आउँदा काँकरभिट्टा मा.वि.मा नै पढ्ने दाइहरूले मेरो बुबाले एक दिन बजारमा खुर्सानी पिरो छ कि छैन चाखेर किन्नु भयो रे भरेर जहिल्यै पनि घरदेखि विद्यालयसम्म र विद्यालयबाट घरसम्म जिस्काउनु हुन्थ्यो । ‘‘यो खोर्सानी त कस्तो पिरो छ हौं’’ भन्दै जिस्काएर मलाई रुनु न हाँस्नु बनाउनु हुन्थ्यो । ती दाइहरू अहिले पनि हुनुहुन्छ, तर गोपनीयताका लागि नाम उल्लेख गरेकोे छैन ।
जीवनमा एक दिन पनि स्कुलमा पाइला नटेक्नु भएको बुबाले जसरी परिवारको व्यवस्थापन गर्नुभयो, त्यसलाई देख्दा मैले आफूले व्यवस्थापन सङ्कायबाट प्रथम श्रेणीमा मास्टर डिग्री हाँसिल गरेको ज्ञान समेत फिक्का महशुस हुन्छ ।
बाल्यकालमा आमाले खाजाका रूपमा कहिले मकै त कहिले चामल भुटेर दिनुहुन्थ्यो । तर, सन्तानहरूले राम्रोसँग बुझ्ने भएदेखि कहिल्यै खाद्यान्न र तरकारीको अभाव भएन, सबै बुबाले खेतबारीमा फलाउनुहुन्थ्यो ।
बुबा अहिले ७२ वर्षको हुनुभयो । यस उमेरमा पनि उत्तिकै सक्रिय जीवन बिताइरहनुभएको छ । म २ वर्षको हुँदा बिरामी परेर आमाले पिठ्युँमा बोकेर तत्कालीन मेची अञ्चल अस्पताल सतिघट्टाबाट हिडेर जानुभएको थियो रे । अस्पतालको डाक्टर बस्नो कोठा थाहा नपाएर एकजना मानिसलाई सोध्दा पढ्न आउँदैन भित्तामा लेखेको छ त भनेर हकारेको कारण आमाले आफ्नो सन्तानलाई जसरी पनि पढाउने प्रण गर्नुभएको थियो रे । आज बुबा आमाले आफ्ना सबै सन्तानलाई उच्च शिक्षासम्मको अध्ययन गराउनुभएको छ ।
जेठो छोरा(म) काँकरभिट्टा बहुमुखी क्याम्पसमा प्राध्यापन र अरुणोदय माध्यमिक विद्यालयको प्रधानाध्यापकको रुपमा कार्यरत छु । जेठी छोरी उमा लुइटेल सहारा नेपालमा काम गर्छिन् । कान्छी छोरी माई नगरपालिका इलाममा कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरेकी छिन् भने कान्छो छोरा सोम लुइटेल काँकरभिट्टा अफसेट प्रेसका सञ्चालक हुन् ।
एकपटक सानैमा बुबाले बहिनी उमा र मलाई राँगा गाडी लिएर खेतबाट लौका लिएर आउँनु भन्नुभएको थियो । दाजु बहिनी खेत गएर भएभरको सबै लौका टिपेर एक गाडी लिएर आएका थियौँ । त्यसपछि बुबा रिसाएर हामी दुबैजनालाई त्यही लौकैलौकाको झटारो हानेर पिट्नु भएको थियो । म अलि ठूलो भएकोले भागेर खाटमुनी लुकेर बचेँ तर बैनी भाग्न नसकेर लौकाले लागेर बिहोस नै भएकी थिई । सानो देखि संघर्ष र मेहेनत गर्ने बुबाले धेरै लौका टिपेर नाश पारेको भनेर रिसाएर हामीलाई कुटेको मेरो मानसपटलमा सँधै ताजा भएर बसेको छ । वि.सं. २०५० सालबाट स्काउटमा प्रवेश गरेर वि.सं. २०५४ सालमा कक्षा १० मा पढ्दा मैले स्काउटबाट भारतको उडिसा प्रान्तमा आयोजना भएको तेस्रो सार्क तथा १३ औ भारतीय राष्ट्रिय ज्याम्बोरीमा भाग लिन जाने मौका पाएको थिएँ । त्यसबेल त्यो कार्यक्रममा भागलिन जान हामीले रु.५ हजार बुझाउनु परेको थियो । त्यो पैसा बुबाले मलाई दिनु भएको देखेर गाउँका साथीहरुले त्यो कालेको बाउले त्यत्रो पैसा कहाँबाट ल्याएर दिएको भनेर कुरा गर्थे । अहिले सम्झदा ५४ सालमा मलाई भारतको उडिसा जान दिनु भएको त्यो रकम अहिलेको रु.५० हजार बराबर जत्तिकै हुनुपर्छ । बुबाले मलाई पढ्न लेख्न कहिल्यै पैसाको अभाव हुन दिनु भएन ।
बुबाले जीवनका हरेक समस्यालाई डटेर सामना गर्नुभएको छ । वि.सं. २०५० सालमा गाईवस्तु बचेर तुलाराम खनाल परिवारको एक बिघा जमिन रु.५० हजारमा खरिद गर्नुभएको थियो भने वि.सं. २०५५ सालमा गाईवस्तु बेचेर नै अहिले हामी बस्दै आएको घर बनाउनुभएको थियो ।
तत्कालीन सतिघट्टा भन्सारमा कार्यरत गणेशप्रसाद पोखरेल सरले बाहुनडाँगीमा रहनुहुने बडीबुबा बमबहादुर लुइटेललाई सतिघट्टामा एउटा लुइटेल केटो छ जसको अनुहार तपाईंसँग मिल्छू भनेर सुनाएपछि बडीबुबा बमबहादुर लुइटेल (बुबाको हजुरबुबा र बडीबुबाको हजुरबुबा दाजुभाइ) आएर उहाँलाई लान खोज्नुभएको थियो रे, तर बुबा जान मान्नुभएनछ । वहाँहरु नै हाम्रो नातेदारहरु मध्ये नजिकको नातेरको रुपमा रहनु भएको छ । भर्खरै बुबाका तीन जना बुबाहरु मध्ये दुई जनाका नातीहरुसँग काठमाण्डौँमा चिनजान र भेटघाट भएको छ । वहाँहरु ओखलढुङ्गाबाट काठमाडौँमा बसाई सरी सक्नु भएको रहेछ ।
बुबासँगै हली-गोठाला जीवन सुरु गरेका बुबाका केही साथीहरु अहिले सम्म पनि हली गोठाला र हाजिरा गरिराख्नुभएको छ भने बुबाले सफलताको शिखर चम्नुले उहाँको जीवनको सङ्घर्ष र दृढतालाई झल्काउँछन् । उहाँको जीवन साँच्चिकै परिश्रम, इमानदारी र सङ्घर्षको एक अनुपम उदाहरण हो । अहिले आफुलाई एउटा हलीको छोरा भन्नु गर्व महशुस हुन्छ ।




































