देशभर रहेका २२ हजार ७८ कैदीबन्दीमध्ये छ हजार आठ सय ८९ जना कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेको नेपाल प्रहरीसँग अभिलेख छ । लागूऔषध नियन्त्रण व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोईरालाले २१.६२ प्रतिशत कैदीबन्दी लागुऔषधसँग सम्बन्धित रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको एकवर्षे अभिलेख अनुसार आर्थिक वर्ष २०८१÷८२ मा झापा जिल्लामा पाँचसय ५९ जनालाई लागू औषधको कारोवार गरेको अभियोगमा पक्राउ गरिएको छ भने तीन सय ४६ वटा मुद्धा दर्ता भएको छ ।
वर्षेनी यस्तो संख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०÷८१ मा चार सय ६२ जना कारोवारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो संख्या १६ दशमलव ५ प्रतिशतले बढेको छ । आव २०८१÷८२ मा झापामा एक हजार छ सय ५१ केजी गाँजा र दुई केजी आठ सय ८२ ग्राम ब्राउन सुगर बरामद भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष लागूऔषधका कारोवारीको संख्या बढ्नुले बजारमा यसको माग यथावत देखिन्छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको एकवर्ष अभिलेखमा कोशी प्रदेशमा आव २०८१÷८२ मा लागू औषधविरुद्धको अभियानमा दुई हजार ३७ जना व्यक्तिमाथि कानूनी कार्वाही भएको छ । यसैगरी, २२ हजार केजी गाँजा र चार केजी ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागूऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ । भारतसँग एकसय ४४ दशमलव ८ किलोमिटर लामो खुला सीमाना भएकाले पनि झापामा लागू औषधको रोकथाम र नियन्त्रण चुनौतिपूर्ण बनेको प्रहरीको भनाई छ ।
यी त देशभरको जिल्ला र प्रदेश प्रहरी कार्यालयको लागूऔषधका वार्षिक अभिलेख मात्र हुन् । दैनिकजसो यस्तै कार्यालयबाट सञ्चारकर्मीहरुलाई म्यासेज आउँछ । आज लागूऔषधसहित यतिजना पक्राउ परे, यति परिमाणमा लागूऔषध पक्राउ पर्यो । यस्तो म्यासेज दैनिक हरेक सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीहरुलाई आउने गरेको छ ।
यी कुराले प्रष्ट थाहा हुन्छ अहिले लागूऔषधले हाम्रो समाज कति अक्रान्त बनेको छ । वा भविष्यका कर्णधार अनि वर्तमानका हिस्सेदार बनेका हाम्रा युवाहरुले लिएको बाटो कस्तो छ ? लागूऔषध दुव्र्यसन समस्याबाट अहिले हरेक घर, समाज र यो राष्ट्र कतिसम्म अक्रान्त बनेको छ, माथिको अभिलेख र चर्चा गरिएको विषयले स्पष्ट हुन्छ । उसो भए यसका सम्भाव्य समाधानका उपायहरु छैनन् त ? अवश्य पनि नभएका भने होइनन् । लागूऔषध अपराध आर्थिक र भौतिक सुखःसुविधासँग मात्र सम्वद्ध नभएर मानवीय संवेदनासँग जोडिएको छ ।
युवाहरू यसरी लागूऔषधको दुव्र्यसनमा लाग्नु समाज र हाम्रा सन्तानकै लागि ठूलो चिन्ताको विषय बनेको छ । देश विकासको आधार मानिने युवा शक्ति लागूऔषधले बर्बाद भइरहेका छन । अभिभावकले समयमै आफ्ना छोराछोरीप्रति निगरानी नराख्दा पनि यो समस्या आइरहेको छ । व्यापकरुपले बढिरहेका अपराधहरु मध्ये तीन वटा संगठीत अपराधहरु छन् भनिएको छ । ती मध्ये हातहतियार पछिको दोस्रो ठूलो अपराध मानव बेचबिखनलाई लिइन्छ । त्यसपछिको तेस्रो ठूलो हो– लागूऔषध सम्बन्धी अपराध । हाम्रो देशमा दोस्रो र तेस्रो अपराध यस क्षेत्रसँग सम्बन्धित निकायका लागि चुनौतीको विषय बनिएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ ले नेपालमा लागूऔषध अपराधलाई विभिन्न तीन श्रेणीमा विभाजन गरी कानुनी दण्ड जरिवानाको व्यवस्था गरेको छ । लागूऔषधको परिभाषा भित्र समेटिएको वस्तुहरुको अवैध पैठारी एवम् बिक्री–बितरणलाई पहिलो ,नेपालको बाटोहुँदै अन्य गन्तव्य मुलुकमा पैठारी हुने हेरोईन र अन्य लागु औषधको ओसार–पसारलाई दोश्रो र नेपालमा उत्पादन हुने गाँजा र सोबाट बनेको चरेश जस्ता वस्तुको खेती, उत्पादन, प्रशोधन, संचिती तथा निकासी कार्यलाई तेश्रो श्रेणीमा राखेको छ ।

मानव सभ्यताको शुरुवात सँगै कुनै न कुनै रुपमा लागूऔषधको प्रयोग हुंदै आएपनि १६ औं सताब्दीको शुरुबाट युरोपियन मुलूकहरुमा “अफिम” नामक वनस्पति र त्यसबाट उत्पादित वस्तुहरु दर्दनाशक औषधिको रुपमा व्यापक रुपमा दुरुपयोग हुन थालेको विभिन्न लेखहरु मार्फत जानकारी पाइरहेका छौ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने प्राग ऐतिहासिक कालदेखि प्राकृतिक रुपमा जमिनमा उम्रिएका भाङ, धतुरो, गाँजाहरु साधु शन्तहरुले सेवन गर्ने र कृषकहरुले घरपालुवा जनावारहरुको उपचारको लागि औषधिको रुपमा प्रयोग गरिंदै आएको वस्तुहरु सन् १९७० को दशकपछि नेपालमा हिप्पी सँस्कृतिको प्रवेशसँगै यसको दुरुपयोग तिब्र रुपमा बृद्धि हुन थाल्यो । यसै बेलादेखि नेपालमा गाँजा, चरेसबाहेक कोका, अफिमबाट उत्पादित अन्य लागूऔषधहरुको आयात र दुरुपयोगको शुरुवात भयो ।
लागूऔषध अपराधलाई अर्काको मात्र समस्या हो भनेर अहिलेको समाज पन्छिनु हुदैंन । यसबाट म र मेरो परिवारलाई समेत असर पार्न सक्छ भन्ने कसैले पनि भुल्न हुदैंन । यतिमात्र गरियो भने पनि लागूऔषधको उत्पादन ओसारपसार र दुरुपयोग नियन्त्रण गर्न सकिन्छ भन्ने मेरो सानो बुझाई हो । लागूऔषध अपराध नियन्त्रण गर्ने कार्यमा प्रहरीको एक्लो प्रयासमात्र सम्भव छैन । हरेक समाज र त्यहाँ बसोबास गर्ने जनसुमदायहरुको भूमिका लागूऔषध नियन्त्रणमा अत्यन्त महत्वपूर्ण हुन्छ ।

दुव्र्यसन समस्या निर्मूल गर्न नसके पनि न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सबै तप्का समुदायको प्रयास जरुरी हुन्छ । हुनतः हरेक वर्षको २६ जुनमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउँदैं आएका छौ । तर, पनि लागूऔषधको अवैध उत्पादन, ओसारपसार, विक्री वितरण, सञ्चय, प्रयोग र दुरुपयोग विश्वव्यापी चुनौती बन्दैं गएको छ । समयमै रोकथाम र नियन्त्रणका लागि सबैले हातेमालो नगर्ने हो भने लागूऔषध दुरुपयोगको कारण उत्पन्न हुने जोखिम बढिरहने छ । लागूऔषध समस्याको जरो कहाँ छ ? उत्तर सबैलाई थाहा छ, तर कार्यान्वयन पक्षको उदासीनता पनि देखिन्छ ।
लागूऔषध सेवनपछि यस्ता गम्भीर प्रकृतिका धेरै घटना समेत हुने गरेको छ । मादक पदार्थ तथा अन्य दुव्र्यसनीजन्य विकृतिका कारण सामान्य बहानामा पनि ठूल्ठूला आपराधिक गतिविधि हुने गरेको घटनाको अभिलेख प्रहरी कार्यालयहरुसँग लामो छ । एकजना पूर्व वरिष्ट प्रहरी उपरीक्षकको भनाई सापट लिनुपर्दा, अधिकांश जघन्य घटना लागूऔषध र लेनदेनसँग जोडिएका हुन्छन् । उनले भनेका छन, ‘अपराधको जड नै लागूऔषध र लेनदेन हो, यी दुई कारणले विवाद हुँदा ठूल्ठुला अपराध हुने गरेका छन् ।’
पछिल्लो समय लागूऔषध सेवनका कारण आपराधिक क्रियाकलाप बढेको छ । समाजमा सानै उमेरमा दुव्र्यसनीमा फस्ने, पतिपत्नी नै कुलतमा लाग्ने, लागूऔषध सेवनपछि विवाद र झगडा बढाउनेजस्ता समस्या देखिन्छ । लागूऔषधलाई सामान्य ढंगबाट हेरिनु हुदैंन । यसलाई यसरी हेर्दा यसको प्रयोग बढेको छ, त्यसको असर आपराधिक कार्यमा पनि देखिएको छ । अशिक्षा, संगत र गरिबीका कारण पनि कुलतमा फस्नेहरूको संख्या बढेको छ । कतिपय बाबुआमाकै कारण पनि बालबालिकामा लागूऔषध सेवन गर्ने प्रवृत्ति बढेको देखिन्छ ।
यसरी लागूऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ । खुला सीमानाका कारण भारतबाट लागूऔषध यहाँ भित्रिने गरेको छ । ब्राउन सुगरलगायतका लागूपदार्थ प्रयोग गर्ने सानो उमेरका किशोरकिशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको छ । यसकारण पनि लागूऔषधको प्रयोग गर्ने र अपराधमा संलग्न हुने क्रम चिन्ता जनक ढंगले बढ्दै जादाँ समाज नै असुरक्षित हुँदै गएकोमा स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । लागूऔषध प्रयोग गर्ने युवाहरूकै कारण हत्या, लुटपाट, चोरी जस्ता अपराधका घटना बढ्दै गएको एकजना प्रहरी नायव उपरीक्षकको भनाइ छ । आफ्नो नसाका लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
प्रहरीले लागूऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिलाई समातेर कारबाही गर्न सकेको छैन । प्रहरीले खुला सीमाका कारण भारतबाट लागूऔषध भित्रिने गरेको, लागूऔषध फेला परेका कसैलाई पनि प्रहरीले समातेर कारबाही गर्ने ,कारोबार गर्ने मुख्य व्यक्ति आफू लागुऔषध नबोक्ने र पक्राउ परेका व्यक्तिले समेत उनीहरूको बारेमा जानकारी नदिने गरेकाले समस्या आउने गरेको छ । हुनतः यो एउटा मानसिक र शारीरिक रोग हो । त्यसैले दुव्र्यसनी शब्दलाई लागूऔषध प्रयोगकर्ता शब्दले प्रतिस्थापित गरेको हो ।
प्रयोगकर्तालाई विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले बिरामीका रुपमा पहिचान गर्नुपर्ने कुरामा जोड दिएको पाइन्छ । तसर्थ प्रत्येक प्रयोगकर्ताको उपचारको हकको सुनिश्चितता सरकारले गर्नुपर्छ ।
सरकारको पहिलो प्राथमिकता दुव्र्यसनको रोकथाम नै हुनुपर्छ । रोकथामको सफल कार्यान्वयनबाट लागूऔषधको प्रयोग गर्ने जनसंख्या पूर्ण रूपमा निर्मूल हुन्छ भन्नु उपयुक्त हुँदैन । त्यसैले प्रयोगकर्ता समाजमा हुन्छन भन्ने कुरालाई स्वीकार गर्नुपर्छ । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले लागूऔषध विरुद्धको घर अभियान शुरु भएको बताउनुभएको छ ।
काठमाडौंमाको एउटा कार्यक्रममा उनले केही समय पहिला शुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको र काठमाडौं उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान शुरु भएको ,यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गरिरहँदा यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको पनि बताएका छन् । साच्चै अब यसतर्फ पनि लागेर लागूऔषधरहित स्वस्थ्य र सभ्य समाजको निर्माण गर्ने बेला आएको छ ।




































