स्कटल्याण्डका सम्राट ब्रुृस गद्धीमा बसेको धेरै समय भएको थिएन । राजपाटबारे केही बुझ्न समेत नपाउँदै उनका दुस्मनले आक्रमण गरे । आक्रमणको उनले डटेर सामना गरे र मुस्किलले समालिएका थिए, दुस्मनले पुनः दोस्रो पटक आक्रमण गरे ।
यसपटक कैयौं राजाले एकसाथ चारैतिरबाट उनको राज्यमाथि आक्रमण गरे । परिणामतः बहादुरीसाथ लड्दा लड्दै पनि सम्राट बु्रस पराजित भए । १४ पटक प्रयास गर्दा पनि उनले गद्धी जोगाउन सकेनन् । सम्राट बु्रस दुस्मन सेनाको कब्जामा पर्नबाट कसो कसो जोगिए ।
पराजयबाट निराश भएका सम्राट एउटा अग्लो पहाडमा पुगे । पहाडको घना जंगलमा बसेर उनी आफ्नो साम्राज्य, दुस्मनहरुको आक्रमण ,आफ्नो प्रत्याक्रमण , सेनाको मनोबल, घमासान युद्ध र आफ्नो पराजयको विषयमा गम्भीर ढंगले मनमनै विश्लेषण गरिरहेका थिए ।
अचानक आँखा दुईटा रुखको बीचमा एउटा जाल बनाउने प्रयासमा जुटेको माकुरामा पुगेर केन्द्रित भए । माकुरा दुई रुख बीचमा हावामा जाल बनाउने प्रयास गरिरहेको थियो । तर जति प्रयास गरे पनि उसको जाल टुटिरहेको थियो । जसले गर्दा ऊ आफ्नो लक्ष्यमा पुग्न सकिरहेको थिएन । एकपछि अर्को गर्दै माकुरा २० पटक असफल भयो। तैपनि उसले हिम्मत हारेन । आफ्नो प्रयास छोडेन । अन्ततः २१औं पटकको प्रयासमा उसले जाल बनाउने कार्यमा सफलता पाइछाड्यो ।
यो सब देख्दा पराजित सम्राट बु्रस खुसीले उफ्रिए । खुसी हुँदै उनले मनमनै भने अझै ७ अवसर बाँकी नै छन् भने म किन निराश हुने ? त्यसपछि उनले छिन्न भिन्न भएका आफ्ना सेनालाई एकत्रित पार्दै गए र उपयुक्त मौका हेरेर आफ्नो पूरै शक्ति र हिम्मतसाथ आक्रमण गरे। यस पटकको आक्रमणबाट उनले आफ्नो गुमेको राज्य र गद्धी पुनः फिर्ता लिन सफल भए र फेरि सम्राट बने ।
समाप्त !
