१० फागुन, मेचीनगर : नेपाल भित्रिने पर्यटकहरु कोही पर्वतारोहण वा हिमाली क्षेत्रमा घुम्न आएका हुन्छन् भने कतिजना नेपाली संस्कृति तथा प्राकृतिक सौन्दर्य हेर्न र सामाजिक‚ सांस्कृतिक अध्ययन गर्नसमेत आउने गरेका छन् । तर, थुप्रै पर्यटकहरु आकस्मिक र आवश्यक स्वास्थ्य सेवाका लागि पनि नेपाल आउने गरेका छन् । नेपालका अस्पतालहरुले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न सके नेपालमा पनि स्वास्थ्य पर्यटनको गतिलो सम्भावना देखिने पर्यटन व्यवसायीहरु बताउँछन् ।
स्वास्थ्य पर्यटन विकासका प्रमुख पूर्वाधारका रुपमा नेपाल भ्रमणमा आउने पर्यटकलाई प्रदान गरिने स्वास्थ्य सेवाको सबलीकरण,अत्याधुनिक चिकित्सा पद्धति र दक्ष तथा विशेषज्ञ चिकित्सक‚ अस्पताल तथा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, छिटो छरितो स्वास्थ्य सेवा, भाषा र व्यवहारमा सेवाभाव, सूचना प्रविधि र स्वास्थ्य बीमा, आवश्यक कानुनमा स्पष्टता, बहुपक्षीय नियामक र प्रवर्द्धन संयन्त्रको विकास लगायतका कुराहरु लाई सम्बोधन गर्नुपर्ने नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।
नेपालमा आँखाको उपचार भरपर्दाे तथा विश्वाशिलो भएका कारण अत्यधिकरुपमा आँखा उपचारमा स्वास्थ्य पर्यटन अघि बढेको मान्न सकिने उहाँको भनाई छ । खासगरी आँखा उपचार सेवा लिने भारतीयहरूका लागि गन्तव्यस्थल नै बनेको छ, यहाँका आँखा अस्पताल र स्वास्थ्य केन्द्रहरू । नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना निक्कै देखेर नाट्टाले केही समय अघि स्वास्थ्यलाई कसरी पर्यटनसँग जोड्न सकिन्छ वा स्वास्थ्यलाई पनि कसरी पर्यटन सँगसँगै लैजान सकिन्छ भनेर नेपालको पर्यटन तथा स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न विज्ञ तथा स्वास्थ्य संस्था सञ्चालकहरूबीच कार्यक्रमनै गरेको नाट्टाका महासचिव नवीनकुमार खरेलको भनाई छ । झापामा दर्जनौ आँखा अस्पताल सञ्चालनमा छन् , त्यहाँ उपचारका लागि आउने अधिकाँश विरामी विदेशिनै छन् ।
‘काँकरभिट्टा आई केयर ‐आँखा अस्पताल) सेन्टर मेचीनगर-६ मा वार्षिक २५ देखि ३० हजार मानिस आँखाको उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये स्वदेशी मानिसको संख्या ३० प्रतिशतमात्र छ ।’ अस्पतालका प्रशासक योगेन्द्रजीत शाहीले भन्नुभयो —‘ ती मध्ये एकजना विरामी न्यूनतम एकदिन बस्न बस्न पर्छ । दिन विताउँन गाहे भएपछि घुम्न जान मन गर्ने र हामीले नजीकैका धार्मिक एवम् पर्यटकीय स्थल पठाउने गरेका छौ । ’ खासगरी मेचीनगरको पाउँ पाथीभरा, कृष्णथुम्की, मिनी माउण्टेन्ट, टोकलालगायतका स्थानमा जाने प्रशासक शाहीको भनाई छ । नेपालमा स्वास्थ्य पर्यटनको सम्भाव्यता, अवसरसँगै चुनौती पनि रहेको उहाँको भनाई छ । काँकरभिट्टा नै मेची नेत्रालय , दिव्यज्योति आँखा अस्पताल पनि रहेका छन् । ती मध्ये मेची नेत्रालयमा विरामीको चाप उल्लेखिय संख्यामा हुने गरेको छ ।
अहिले पनि आँखा उपचारमा छिमेकी मुलुकबाट अनगिन्ति बिरामीहरू आउने गरेका कारण नै नेपालका आँखा अस्पतालले फडेको मारेको बताउनुहुन्छ मेची आँखा अस्पताल विर्तामोडका सचिव गणेश पोखरेल । ‘यसबाट विदेशी मुद्रा प्राप्त मात्र भएको छैन् ’ सचिव पोखरेलले भन्नुभयो—‘संयौको व्यवसाय चलेको छ, हजारौले रोजगार प्राप्त गरेका छन् । ’ विर्तामोड आँखा अस्पतालमा वार्षिकरुपमा साढे तीनलाखको उपचार हुने गरेको सचिव पोखरेलको भनाई छ । ‘तर, हाम्रा संरचना पर्यटकमैत्री नभएका कारण सवै मानिसहरु पर्यटकीय स्थल पुग्न सक्दैनन् । ’उहाँले थप्नुभयो । विदेशमा बस्ने नेपालीहरूले आँखा र दाँतको उपचार तथा कस्मेटिक सेवा नेपालमै आएर लिने गरेका पनि छन् । यहाँ आन्तरिक स्वास्थ्य पर्यटन पनि भइरहेको छ । अझ नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रका भारतीयहरूले आफ्नो ठाउँमा भन्दा नेपालतिरको उपचारलाई विश्वासिलो मान्न थालेको सचिव पोखरेलको भनाई छ ।
भारतीयहरूका लागि नेपालका आँखा अस्पतालहरू छनोटको प्रमुख कारणहरूमा उपचार शुल्क सस्तो र सौहादर्रतापूर्ण वातावरणमा उपचार पाउनु नै रहेको ‘काँकरभिट्टा आई केयर ‐आँखा अस्पताल) सेन्टर मेचीनगर—६ का सञ्चालक एवम् अध्यक्ष मोहन निरौलाको भनाई छ । अस्पतालका कर्मचारीहरूको मैत्रीपूर्ण व्यवहार र आतिथ्यता महत्वपूर्ण हुने र यसले अस्पताल र स्थानीय बासिन्दाका लागि मात्रै नभई सिंगो नेपालकै अर्थतन्त्रलाई बलियो बनाउन यसले योगदान पु¥याउन सक्ने अध्यक्ष निरौलाको भनाई छ । अझ ‘मेडिकल टुरिज्म’मा काम गर्ने अस्पतालको ग्रेड छुट्याउने अनुमति दिने र अनुगमन तथा नियमन गर्ने निकाय पनि बेग्लै हुनुपर्नेमा चिकित्सकहरुको जोड छ ।
मेडिकल पर्यटनमा आउने मानिसका लागि सरकारले सहज भिसाको व्यवस्था गर्नुपर्ने, मेडिकल पर्यटनको लागि सरकारी अस्पतालहरुको सेवामा आवश्यक सुधारका साथै स्तरोन्नति र निजीलाई प्रोत्साहन गर्नुपर्नेलगायतका काम गर्नुपर्ने स्वास्थ्यकर्मी दिलीप सुवेदीको भनाई छ । पर्यटकीय गन्तव्यमा योग, ध्यानका सेन्टर सञ्चालन गर्न सकेर पर्यटकको आगमन बढी हुने स्थानमा त्यस्ता सेन्टर बनाउन सकियो भने पर्यटकहरूलाई प्याकेजसहित ५/७ दिन बढी राख्न सकिने योग प्रशिक्षक उमानाथ भण्डारीको भनाई छ । स्वस्थ्य पर्यटक नेपाल आउन तयार रहेको र यसमा एक्लै नभई स्वास्थ्य क्षेत्रका सबै मिलेर काम गर्नुपर्ने त्यसका लागि नेपालमा लगानी बढाउनुपर्ने नाट्टाका निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ ।