१८ पौष, मेचीनगर : सन् २०२४ मा नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा (पूर्वीनाका) भएर नेपाली विद्यार्थीसहित ११ हजार ७ सय ५६ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन् । अध्यागमन कार्यालय काँकरभिटटको अभिलेख अनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म यो नाका भएर अध्ययनका लागि विभिन्न देश गएर फर्केका ५ हजार ६ सय ५५ जना नेपाली विद्यार्थी तथा ४ हजार ९ सय १६ जना भुटानी नागरिक पनि नेपाल भ्रमणमा आएका छन् । बाँकी १ हजार १ सय ८५ जना अन्य मुलुकका नागरिक रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा काँकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्नेको आगमन संख्या ३ हजार २ सय ९५ जनाले बढेको छ । सन् २०२३ मा ५ हजार ३ सय ३६ नेपाली विद्यार्थीसहित ८ हजार ४ सय ६१ जनाले नेपाल भ्रमण गरेका थिए । नेपाली पर्यटन व्यवसायीहरुले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको भएपनि अपेक्षा अनुसार नभएको प्रतिक्रिया दिएका छन् ।
कोभिडपछि भारतीय अध्यागमन कार्यालयले तेस्रो मुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने सवै भिसा दिन बन्द गरेको थियो । त्यस कारण पनि सन् २०२४ मा अपेक्षा गरे अनुसार पर्यटक नआएको हुन सक्ने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशले जनाएको छ ।
१ अगष्ट २०२४ देखिमात्र भारतीयपक्षले तेस्रो मुलुकका पर्यटकका लागि पनि नाका खुलाएको थियो । नोवल कोरोना भाइरसको कारण देखाएर पूर्वीनाकाहुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ‐आगमन अनुमती) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको थियो । समाचार सूत्रका अनुसार १ अगष्ट २०२४ सम्म ‐ओसिआई) ओभरसिज सिटिजन अफ इण्डिया ‐प्रवासी भारतीय नागरिक कार्ड)भएकाहरुमात्र भारतीयभूमि भएर पैदलमार्गहुँदै नेपाल आउने गरेका थिए ।
तेस्रो मुलकका नागरिकका लागि लामो समयसम्म नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टा नाका बन्द रह्यो । नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टासँग सोझै जोडिएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ ‐आगमन अनुमती) नदिएका कारण पूर्वीनाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहल पहल खासै थिएन ।
पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रोमुलुक तथा बंगलादेशी पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटनक्षेत्रमा ठूलो क्षति पुगेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ । कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण सिथिल भएको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानो लयमा फर्किने आशा पलाएको निवर्तमान श्रेष्ठको विश्वास छ ।
नेपालमा पर्यटक आगमन बिस्तारै लयमा फर्किदै गएको बताईएको छ । जसले नेपाली पर्यटनमा आगामी दिन थप सुनौलो हुने देखिने पर्यटनका क्षेत्रमा कलम चलाउँदैं आउनुहुने सरोज पौडेलको भनाई छ । पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको भन्दै उहाँले सरकारले नयाँ पर्यटन नीति तयार गरी चाँडै कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । पर्यटन उद्योगको विकास र विस्तारबाट नेपालको आर्थिक विकास गर्न सकिने बताउँदै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका उपाध्यक्ष सजित तामाङ्गले पूर्वाधारको विकाससँगै प्रविधिको व्यापक प्रयोग, पर्यटनका लागि आवश्यक जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
विदेशी पर्यटक आगमन बढाउन नेपाल सरकार पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि गर्नुपर्ने निवर्तमान अध्यक्ष श्रेष्ठको भनाई छ । कोरोनाका कारण सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घटेको पर्यटन व्यवासयी एवम् नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका महासचिव नविन (नवराज) खरेलको भनाई छ । अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार यो नाका भएर सबैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए । विदेशीले काठमाडौं, पोखरा, लुम्बिनी, चितवन गोर्खा, मनकानमालगायतका धार्मिक एवम् पर्यटकीयस्थल घुम्न मन पराउने गरेको व्यवसायीहरुको भनाई छ ।