पर्यटन व्यवसायको प्रवद्र्धन विस्तारमा दुबै देशका पर्यटन व्यवसायीहरुबीच संस्थागत सम्बन्ध बलियो हुनुपर्ने

२६ चैत, मेचीनगर : झापाको मेचीनगरमा मंगलबार सम्पन्न ‘दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेभका सहभागीले पर्यटन व्यवसायको प्रवद्र्धन विस्तारमा नेपाल तथा भारतका पर्यटन व्यवसायीहरुबीच संस्थागत सम्बन्ध बलियो हुनुपर्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ, ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएशन भारतका अध्यक्ष सुरेश ठकुरी, कार्यक्रम संयोजक संदिपपन घोष , भारतीय सञ्चारकर्मीहरु मानुस व्यानर्जी र अभिजित सिन्हाले ‘क्रस वोडर टुरिजमका अवसर र चूनौती’ बारेको सत्रमा छलफल गरेका थिए ।

उनीहरुले नेपाल तथा भारत सरकारबीच क्रस बोडर पर्यटनको सहजीकरणमा अझ बढि भूमिका खेल्नुपर्ने आवश्यकता औल्याएका थिए । ‘यस्ता कार्यक्रमले नेपालमा भारतीय पर्यटकका लागि नयाँ गन्तव्य खुल्ने र नेपाली पर्यटकका लागि भारतसँग समेत ढोका खुलेको छ ’ ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतका अध्यक्ष सुरेश ठकुरीले भने । दुवैक्षेत्र नेपालको कोशी प्रदेश र भारतको पूर्वी हिमालयनक्षेत्र जस्तै सिक्किम, दार्जिलिङ्गलाई समेटेर संयुक्त टुरिजम प्याकेजहरु बनाउन र प्रवद्र्धन गर्न सजिलो हुने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले बताए । उनले यसले पर्यटकहरुलाई फराकिलो र आर्कषक भ्रमण विकल्पहरु प्रदान गर्ने विश्वास व्यक्त गरे ।

‘क्रस बोडर टुरिजम आफै थियो’ नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलियाले भने — ‘नेपालीलाई भारत जान तथा भारतीयलाई नेपाल आउन भिसाको व्यवस्था नभएकै कारण दुवै देशका नागरिकलाई आउजाउ गर्न सहज छ । खुला सीमाको फाईदा हो यो । तर, यसलाई अझ बढी सहज बनाउँदै पर्यटकका रुपमा नेपाल आउने नागरिकलाई सामन्य नागरिकहरुभन्दा फरक रुपले हेर्नुपर्दछ । ’

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेश र ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतबीचको एशोसिएट सदस्य सम्बन्धी सम्झौता ‐एमओयू)ले दुवैदेशका पर्यटन व्यवसायी (सदस्यहरु ) र समग्र क्षेत्रीय पर्यटनकालागि विभिन्न फाईदाहरु पुग्ने सहभागीहरुले विश्वास व्यक्त गरे । सीमापार पर्यटन सहजीकरण सदस्यहरुलाई एक अर्काको क्षेत्रमा पर्यटकहरु ल्याउन लैजान र भ्रमण सञ्चालन गर्न सहज हुने सहभागीहरुले बताए । नियम, अनुमती, प्रक्रिया र अन्य जानकारी आदानप्रदानले सहजता ल्याउने उनीहरुको भनाई थियो ।

व्यवसायिक सम्बन्ध सञ्जाल विस्तार, दुवै संस्थाका सदस्यहरुबीच आपसी सम्बन्ध बढ्ने, जस्ले नयाँ व्यपारिक अवसरहरु सिर्जना गर्ने समेत छलफलमा सहभागी व्यवसायीहरुले बताए । बजार पहुँच बृद्धि समेत हुने भन्दैं नाट्टा कोशीका सदस्यहरुले पूर्वी हिमालयक्षेत्रको बजारमा ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतका सदस्यहरुले कोशी प्रदेशका बजारहरुमा आफ्नो पहुँच बढाउन सक्ने बताइएको छ ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘दोस्रो क्रस वोर्डर टुरिजम कनक्ेलव’ उद्घाटन प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य माननीय गोपाल तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिका निमित्त नगर प्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्तरुपमा दीप प्रज्वलन गरी विधिवत उद्घाटन गरेका थिए । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ ।

त्यसका लागि ‘रमणीय कोशी’ भन्ने नारा तय गरेको र भोली चैत २७ गते बुधबार तेह्थुमको लालीगुरास नगरपालिका १ आरआर गार्डेनबाट सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शुभारम्भ गर्ने भन्दैं उहाँहरले यो कार्यक्रमले कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्ष’लाई निक्कै टेवा पुग्ने प्रमुख अतिथि कोशी प्रदेश सदस्य तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिका निमित्त नगर प्रमुख उप्रेतीले बताए ।

प्रदेशमा पर्यटकको संख्या र बसाइ अवधिलाई वृद्धि गर्ने लक्ष्य सरकारले लिएको छ । पर्यटन वर्षमा पर्यटकीय गन्तव्यहरुको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटनमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने उद्देश्य राखिएको र यी उद्धेश्य पुरा गर्न पनि यहाँहरुको निक्कै साथ र सहयोग आवयक पर्ने प्रमुख अतिथि कोशी प्रदेश सदस्य तामाङको भनाई थियो । पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटकको सवारीमा स्टिकर टास्ने र स्टिकर टासेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी रहेको उनको भनाई छ ।

पर्यटन वर्षका लागि सरकारले ‘८२ का लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको छ । नेपालकै होचो क्षेत्र झापाको केचनादेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् । सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको उपप्रमुख उप्रेतीले बताईन् । यसकारण पनि यो कार्यक्रम कोशी प्रदेश सरकारले घोषणा गरेको ‘कोशी पर्यटन वर्षका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् ।

सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । तर, कोभिड–१९ बाट विश्व नै आक्रान्त बनेपछि त्यसले पूर्णता पाउन नसकको उनीहरुको भनाई थियो । कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभइ विश्वकै उत्कृष्ट गन्तव्य भएको छ । यद्यपि, यथोचित प्रचारप्रसार र गन्तव्यहरुको प्रवर्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल भएको छैन् ।

मुलुकको पर्यटन प्रवद्र्धन र बिकासका लागि सीमाक्षेत्रको पनि उल्लेखनिय भूमिका रहेको हुन्छ । त्यसकारण पनि आज नेपालको सुदुर पूर्व नेपाल प्रवेशको पहिलोद्वार झापाको मेचीनगरमा ‘दोस्रो क्रस बोर्डर टुरिजम कनक्लेव’ भएकोमा खुशी व्यक्त गरिएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसीप्रसाद भट्टराई, ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतका अध्यक्ष सुरेश ठकुरीलेलगायतले बोलेका थिए ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका महासचिव नविन खरेलले गरेका गरेका थिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं कार्यक्रम संयोजक एवम् नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले आजको कार्यक्रमबाट भएको नाट्टा कोशी प्रदेश र ईस्टन हिमालयन टुर एण्ड ट्राभल अपरेर्टस एशोसिएसशन भारतबीचको एशोसिएट सदस्यका लागि एमओयू र क्रस बोडर टुरिजम सम्बन्धी प्यानल डिस्कसलगायतका प्रमुख काम हुने बताएका थिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लामा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शमशेर कार्की, नेपाललगायत भारतका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, दुवै देशका पर्यटन व्यवसायीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल र भारतका विभिन्न पर्यटकिय स्थलको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.