३१ चैत मेचीनगर : कोशी प्रदेश सरकारले नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा सीमा नाकामा पर्यटकीय सवारी साधनमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । आइतबार काँकरभिट्टा नाकाबाट कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले अभियानको शुभारम्भ गरे । भारतीय नम्बर प्लेट डब्लु. बि. ७४ ए ०६६३४ को सवारी साधनमा स्टिकर टासेर शुभारम्भ गरेका हुन् । उनले सो सवारी साधनमा सवार भारतीय पर्यटकहरुलाई रुद्राक्षको माला र खादा पहिर्याएर स्वागत समेत गरे ।
यसअघि सीमावर्ती रानी जोगबनी नाकाबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अभियानको शुभारम्भ गरेका थिए । आगामी २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकलाई सहज र सरल यात्रा अनुभव प्रदान गर्न यो अभियान सुरु गरेको जनाएको छ । नाकामा सुरक्षा जाँच स्टिकर टाँसिसकेपछि नफर्कुञ्जेल र कानुन विपरितको काम नगरेसम्म बाटोमा प्रहरीले रोक्न नपाउने प्रदेश सरकारले व्यवस्था गरेको छ । काँकरभिट्टाबाटै रोड पर्मिट समेत प्राप्त हुने भएपछि यसअघि भारतीय पर्यटकले वेहोदैं आएको झन्झटबाट मुक्त भएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले भारतीय पर्यटक बोकेको सवारीले झेल्दै आएको समस्या सुरक्षा जाँच स्टिकरले समाधान गर्ने बताए । भारतबाट आउने पर्यटकलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि अभियानलाई कोशी प्रदेशभरि लागू गर्न लागिएको हो । स्टिकर टाँसेका सवारीलाई नाकामा एकपटक जाँच गरेपछि अन्य स्थानमा प्रहरीले जाँच गर्न नपाउने व्यवस्था गरिएको छ ।
पर्यटन वर्षका लागि भारतीय नाकाबाट प्रवेश गर्ने पर्यटकको सवारीमा स्टिकर टास्ने र स्टिकर टासेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी थियो । कोशी प्रदेशका पर्यटकीय उपजको प्रचारप्रसार र प्रवर्धन गर्दै पर्यटक आगमनमा वृद्धि गरी पर्यटन क्षेत्रलाई चलायमान बनाएर कोशी प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ ।
मन्त्री भण्डारीले स्टिकर टाँसेपछि पर्यटकले भोग्नुपर्ने अनावश्यक झन्झट र दुःख हट्ने र यसले कोशी प्रदेशको पर्यटन वर्षलाई सफल बनाउने विश्वास व्यक्त गरे ।’ नेपालीहरूको मूल मर्म अतिथि देवो भव हो, अतिथिको सम्मान गर्नु हाम्रो दायित्व हो,’ स्थानीय सञ्चारकर्मीहरुसँग कुराकानी गदैं मन्त्री भण्डारीले भने । उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने कुर समेत बताए । उनले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गरे । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा पुनः जाँच गरिने जानकारी दिए । आइतबार नै सुनसरीको भण्टाबारी नाकाबाट समेत यो अभियान शुभारम्भ उनले बताए । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले भण्टाबारी नाकाबाट अभियान शुरु गरेका थिए ।
कोशी प्रदेश सरकारले वैशाख १ देखि पशुपतिनगर, काँकरभिट्टा , भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ । प्रहरी र कर्मचारी राखेर सानो कार्यालयसमेत स्थापना गरी यो काम अगाडि बढाइएको छ । प्रदेश सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भ गरेर पर्यटनको आधार तयार पार्न सुरु गरेको हो । यस प्रदेशमा आउने पर्यटकहरुले झेल्दै आएको समस्याहरुको समाधानमा प्रदेश सरकार जुटेको हो ।
भारतबाट पर्यटक बोकेर आउने सवारी साधन गन्तव्यसम्म पुगेर फर्किदासम्म बाटोभरि प्रहरीले रोक्दै अनेक बहानामा अबैध रकम असुल्दै आएको पर्यटन व्यवसायीहरुको गुनासो आईरहेका बखत उनीहरुको गुनासो सम्बोधनका लागि प्रदेश सरकारले सुनसरीको भण्टाबारी, मोरङको रानी, झापाको काँकरभिट्टा, इलामको पशुपतिनगर नाकाबाट आउने भारतीय पर्यटक बोकेको सवारी साधनमा सुरक्षा जाँच स्टिकर टाँस्ने व्यवस्था गरेको भनाई छ ।
मन्त्री भण्डारीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लामा, सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शमशेर कार्की, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेण्ट्स नाट्टा कोशी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी उदयकुमार श्रेष्ठ, ट्राभल्स, होटल, यातायातलगायत विभिन्न व्यवसायका प्रमुख प्रतिनिधि, व्यवासायीहरुले यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।