कास्की — बाँध मर्मतका लागि पानी घटाइएको फेवातालबाट माटो झिकिने भएको छ । तालको सतहमा बर्सेनि माटो थुप्रिने क्रम बढ्दा सतहमा असर परेको भन्दै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो । चैतभित्र माटो झिकिसक्ने निर्णय गरिएको पर्यटन मन्त्री विकास लम्सालले बताए ।
माटो झिक्ने कामको संयोजन मन्त्रालयको वन वातावरण महाशाखाले गर्नेछ । ‘बाँधदेखि गैह्राको चौतारासम्म माटो झिक्ने तयारी गरेका छौं,’ मन्त्री लम्सालले भने, ‘यसका लागि एक/डेढ करोड रुपैयाँ खर्च लाग्छ ।’ सोमबारदेखि डिजाइन इस्टिमेट बनाई काम थालिने मन्त्रालयले जनाएको छ । तालबाट निकालिने माटो पार्क वा पैदलमार्गमा प्रयोग गरिनेछ ।
‘बाँध मर्मत भइरहेको छ । पानी पर्यो भने र बाँधका ढोकाको काम सकियो भने तालमा पानी भरिँदै जान्छ । यही मौकामा बाँधको कामलाई असर नपुग्ने गरी माटो झिक्छौं,’ मन्त्री लम्सालले भने । माटो फाल्ने काममा स्थानीयले पनि चासो देखाएको उनले बताए । बाँध मर्मतका लागि गत माघ २३ देखि पानी सुकाएर काम भइरहेको छ ।
