धुलावारी क्याम्पसलाई रोटरीको शुद्ध पिउनेपानी आयोजना हस्तान्तरण

धुलावारी । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल—भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाले झापाको मेचीनगर—१० स्थित धुलावारी क्याम्पस परिसरमा निर्माण गरेको शुद्ध खानेपानी आयोजना आज (बुधवार) एक विशेष कार्यक्रमका बिच क्याम्पसलाई हस्तान्तरण गरेको छ।

शुद्ध पिउनेपानी आयोजना हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सन् २०२५—२६ का असिष्टेन्ट गर्भनर निकिता गिरी र रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२५—२६ का अध्यक्ष उदयकुमार श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवास, उपाध्यक्ष पुनित बन्सल तथा क्याम्पस प्रमुख इञ्जिनियर रुद्र मैनालीलाई संयुक्तरुपमा आयोजनाको चाबी हस्तान्तरण गर्नुभएको थियो। उक्त खानेपानी प्लान्टको निर्माण कार्यमा रोटरी डिस्ट्रिक्ट ३२९२ को रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ग्रान्ट को समेत विशेष आर्थिक सहयोग रहेको छ।

क्लबका अध्यक्ष उदयकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको यो कार्यको उच्च प्रशंसा गर्नुभयो।

क्याम्पसका उपाध्यक्ष पुनित बन्सलले रोटरी क्लबप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै किसिमका थप सामाजिक तथा प्राज्ञिक सहकार्यहरू निरन्तर अघि बढ्ने विश्वास र अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं असिष्टेन्ट गर्भनर निकिता गिरीले रोटरी क्लब अफ काँकरभिट्टाको सामाजिक सक्रियता र गतिविधिप्रति आफूलाई निकै गर्व लागेको बताउँदै यो पवित्र कार्यका लागि क्लबलाई धन्यवाद दिनुभयो। सम्बोधनका क्रममा उहाँले अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरीले विश्वभर पोलियो उन्मूलनका साथै मातृशिशु स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, हाइजिन र शिक्षा जस्ता महत्वपूर्ण सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको प्रस्ट पार्नुभयो।

हस्तान्तरण समारोहको प्रारम्भमा क्लबका प्रेसिडेन्ट नोमिनी रवि चन्द्र नेपालले स्वागत मन्तव्य राख्नुभएको थियो। उहाँले कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथिसहित सम्पूर्ण अतिथि, क्याम्पस परिवार तथा उपस्थित सर्वसाधारणलाई रोटरी क्लबको तर्फबाट आदरपूर्वक स्वागत गर्दै आयोजनाको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।

यसअघि पनि काँकरभिट्टा रोटरी क्लबले मेचीनगरका विभिन्न सामुदायिक विद्यालयहरूमा यस्तै शुद्ध खानेपानी आयोजनाहरू सफलतापूर्वक सम्पन्न गरी सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ।

क्लबका सचिव रविन सुवेदीले कुशल रूपमा सञ्चालन गरेको उक्त हस्तान्तरण कार्यक्रममा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरू, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक, शिक्षक-शिक्षिका, विद्यार्थीहरूका साथै स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

Exit mobile version