चिसोले जनजीवन कष्टकर : स्वास्थ्य संस्थामा बढे विरामी

१७ पौष, मेचीनगर : पछिल्लो केही दिनयता चिसो बढेसँगै सरकारी तथा निजी अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुमा विरामीको चाप ह्वात्तै बढेको छ ।

चिसोका कारण सबैभन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित बनेका छन् । चिसोका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बन्दै गएको छ । त्यस्तै अत्याधिक रूपमा बढेको चिसोबाट पशुपालक किसानलाई वस्तुभाउ जोगाउन पनि मुस्किल परेको छ ।

कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्ति र न्यानो कपडा नभएका बनिबुतो गरेर खाने अतिविपन्न परिवारलाई धेरै गाह्रो पारेको पूर्णटुङ्ग विर्तासीटी अस्पताल विर्तामोडको आकस्मिक कक्षमा कार्यरत डाक्टर मनिष उप्रेतीको भनाई छ ।

चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका विरामी बढेका ठाकुर पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर विर्तामोडका वरिष्ठ फिजिसियन डाक्टर पिताम्बर ठाकुरले बताउनुभयो ।

यो समस्याका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीका मानिसहरु यतिखेर उपचारका लागि अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा पुग्ने गरेको र अहिले विरामीको चाप बढेको उहाँको भनाई छ । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको स्वस्थ्यकर्मी हरुको भनाई छ ।

‘अन्य दिनको तुलनामा केहीदिनदेखि बढेको चिसोका कारण ५० प्रतिशत विरामी बढेका छन् ’ डाक्टर ठाकुरले भन्नुभयो— ‘खासगरी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको छ ।’ यसबाट सवैभन्दा बढी बालबालिका र वृद्धवृद्धा पीडित छन् । साथै मधुमह र रक्तचापका विरामीहरुको मात्रा समेत अनियन्त्रित देखिने गरेको डाक्टर ठाकुरको भनाई छ ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका डाक्टर विनेश झाले जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप बढ्ने र प्रायः सबै दीर्घकालीन रोग बढी गम्भीर बन्ने भन्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । झापाका विभिन्न अस्पतालमा पुस लागेसँगै रुघाखोकी, निमोनिया र टाईफाईडका बिरामी बढेका छन् ।

मेचीनगर—६ काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टरका सञ्चालक दिलिप सुवेदीका अनुसार नवजात शिशुदेखि ६० वर्षसम्मका वृद्धवृद्धामा रुघाखोकी,ज्वरो, श्वासप्रश्वास, निमोनियालगायत रोगको सङ्क्रमण देखिएको छ । अहिले दैनिक २५ देखि ३० जना बालबालिका र १५ देखि २० जनासम्म वृद्धवृद्धा उपचारका लागि उहाँको स्वास्थ्य केन्द्रमा आउने गरेको भनाई छ ।

अधिकाँशमा चिसोका लाग्ने झाडापखला,ज्वरो रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या भएका विरामी आउने गरेका उहाँले बताउनुभयो । मेचीनगरस्थित स्वस्थ्य शाखाका अनुसार आधारभूत अस्पतालसहित ग्रामीण भेगका अस्पताल तथा स्वास्थ्य केन्द्रमा पनि रुघाखोकी, ज्वरो, निमोनियाका बिरामीको चाप बढ्दै गएको छ ।

पछिल्लो केही दिनयता चिसो बढेपछि मेचीनगरसहित जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन पातलिएको झापा भद्रपुरका रामप्रसाद पाठकको भनाई छ । चिसो छल्न धेरैले अहिले घर तथा चौक बजारमा आगो तापेर बसिरहेको मेचीनगर—७ भान्सा खोलका हरिबोल चौधरीले बताउनुभयो । चिसोले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई समस्या भएको छ ।

चिसोबाट जोगिन शरीर न्यानो हुने गरी ताता कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक स्याँठ चलेका वेला बाहिर ननिस्कन, निस्कँदा पनि शरीरमा हावा पस्न नपाउने गरी कपडा लगाउन, आगो ताप्न, आगो ताप्दा पनि शरीरमा सल्किएर अर्को दुर्घटना हुने भएकाले ख्याल गर्न, झोलिला र ताता खानेकुरा प्रशस्त खान डाक्टर ठाकुरले सुझाव दिनुभएको ।

चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.