भारी वर्षाका कारण झापा जिल्लामा आएको बाढीले भयावह अवस्था सिर्जना गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले दिएको पछिल्लो तथ्याङ्कअनुसार, जिल्लाभरिका ५ हजार ४८१ परिवारका २५ हजार २३१ जना विस्थापित भएका छन्।
बाढीबाट सबैभन्दा बढी झापा गाउँपालिका प्रभावित भएको छ, जहाँ ५ हजार १८९ परिवारका २३ हजार ९८८ जना विस्थापित बनेका छन्। यो सङ्ख्या गाउँपालिकाको कूल जनसङ्ख्या (३९,३०२) को ६० प्रतिशतभन्दा बढी हो। गाउँपालिकाका वडा नं. १, २, ३, ६ र ७ मा जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, माई खोलाको बाढीले झापा गाउँपालिकासँगै गौरीगञ्जका १८५ परिवार (८४६ जना) र शिवसताक्षी नगरपालिकाका ४७ परिवार (१८२ जना) लाई विस्थापित बनाएको छ। त्यस्तै, मेची नदीमा आएको बाढीका कारण भद्रपुर-५ मा २७ परिवार (९० जना) प्रभावित भएका छन्। गौरादह र अर्जुनधारामा पनि केही परिवार विस्थापित भएको प्रहरीले जनाएको छ। बाढी प्रभावितहरूलाई सुरक्षित स्थानमा रहेका विद्यालय तथा सामुदायिक भवनहरूमा स्थानान्तरण गरिएको र जिल्ला विपद् व्यवस्थापन समितिले राहत तथा उद्धार कार्यलाई तीव्र पारेको छ।




































