१५ पुस , मेचीनगर : झापाको मेचीनगरमा हरेक वर्ष क्षयरोगीको संख्यामा बृद्धि हुदैँ आएको छ । आर्थिक वर्ष २०८०-०८१ मा नगरका विभिन्न वडाका दुईसय पाँच जनामा क्षयरोगको किटाणु फेला परेको थियो । त्यसअघि थिए २०७९-०८० मा दुइसय जना क्षयरोगका विरामी भेटिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । आर्थिक वर्ष २०८१-८२ मा दुइ सय १० जना क्षयरोगका विरामी पत्ता लागेको भएपनि ९४ प्रतिशतको स्वास्थ्यमा सुधार भएको र छ जनाको क्षयरोगसहित अन्य घातक रोग लागेका मृत्यु भएको शाखाले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो पाँच महिनामा ४६ जनामा यो रोग पत्ता लागेको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गछौं’ भन्ने मुख्यः नारासहित मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत नगरपालिकाभित्रमा क्षयरोगका बिरामीहरुलाई पोषण प्याकेज बितरण गर्न थालिएको भए पनि हरेक वर्ष क्षयरोगका विरामीहरुको संख्या बृद्धि हुनुले मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानमा चूनौती देखिएको छ । आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्ने छ ।
सरकारले मेचीनगर पालिकालाई क्षयरोगमुक्त पालिका बनाउने योजना बनाएको छ । क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिने छ । यस अघिदेखि नै मेचीनगर नगरपालिकालाई क्षयरोगमुक्त नगरपालिका बनाउने अभियान थालिएको छ ।

नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई चामल २५ केजी [एक बोरा], बदाम, दाल, सातु, एक- एक केजी, तेल एक लिटर, अण्डा एक क्यारेटसहित यातायात खर्चका रुपमा नगद चारसय रुपैयाँ प्रदान गरिदैं आएको छ । पोषण प्याकेज बितरण कार्यक्रमले खासै विरामीको संख्या कम नभएको टिप्पणी हुन थालेको छ । पोषण सामग्री वितरण गर्ने गरिएको भए पनि नगरमा क्षयरोगका बिरामी बढ्दै जानुले चूनौती थपिएको स्वास्थ्य शाखाले जनाएको छ । क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
नगरको स्वास्थ्य शाखाको प्राविधिकहरु टोलीले क्षयरोगी खोजी रहेको बेला भएकाले रोगीको संख्या बढ्ने क्रममा रहेको र भेटिएका रोगीको उपचार समेत गर्ने काम तत्कालै सुरु भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख सबिता सापकोटाले बताईन् । सापकोटाका अनुसार मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरे समेत नगरपालिकाले निशुल्क गर्ने व्यवस्था मिलाएको छ । मेचीनगरमा क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरर्गत बार्षिक समीक्षा गोष्ठीमा समेत सोमबार सम्पन्न भएको छ । बैशाखमा मेचीनगरमा पहिलो पटक क्षयरोग पहिचानका लागि एआई प्रविधिबाट छातीको एक्स—रे परीक्षण शिविर सञ्चालन गरिएको थियो । एआई प्रविधिबाट छातीको एक्स—रे परीक्षण गर्दा सो कुरा पत्ता लागेको हो । मेचीनगर–२, ४, ७, १०, १२ र १५ नम्बर वडामा छातीको एक्सरे परीक्षण भएको थियो । समीक्षा गोष्ठीमा जोखिमयुक्त क्षेत्र, त्यसको खोजी कार्य र अति विपन्न विरामीलगायतलाई पोसिलो खानेकुरा वितरणलाई निरन्तरता दिने छलफल भएको भएपनि हालसम्म त्यसमा गरेको लगानी वालुवामा पानी झै भएको छ ।