लक्ष्मी उप्रेती
२ असार, मेचीनगर : नेपाल–भारत सीमास्थित काँकरभिट्टा र पानीट्याँकी नाकामा पछिल्लो समय कडाइ बढाइएपछि भारतीय सीमावर्ती बजार पानीट्याँकीको चहलपहल एकाएक घटेको छ ।
पहिले नेपाली उपभोक्ताको बाक्लो भीड लाग्ने पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला, रानीग्राम पञ्चायत अन्तर्गतको पानीट्याँकी बजारमा अहिले नेपाली ग्राहकको आवागमन उल्लेख्य रूपमा घटेको छ भने नेपाली बजारतर्फ किनमेल गर्ने उपभोक्ताको संख्या केही बढेको बताइएको छ ।
दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, इलेक्ट्रोनिक्स तथा खाद्यान्न खरिदका लागि नेपाली उपभोक्ता सहज पहुँच र सस्तो मूल्यका कारण उक्त बजार पुग्ने गरेका थिए । विशेषगरी काँकरभिट्टा नाका खुला र सहज हुँदा दिनहुँ सयौँको संख्यामा उपभोक्ता सीमा पार गरेर किनमेल गर्न जाने क्रम सामान्यजस्तै बनेको थियो । तर पछिल्लो समय नेपाल तथा भारतीय सुरक्षा चेकजाँच कडा बनाइनुका साथै आवतजावतमा निगरानी बढाइएपछि यस्तो प्रवृत्तिमा उल्लेख्य गिरावट आएको पानीट्याँकी बजारका व्यपारीको भनाई छ ।
सीमामा गरिएको कडाइलाई सुरक्षा र राजस्व संकलनका दृष्टिले आवश्यक मानिए पनि यसको प्रभाव दुई देशका सीमावर्ती बजारमा फरक–फरक रूपमा देखिएको छ । एकातिर भारतीय पानीट्याँकीमा व्यापार मन्दी देखिएको छ भने अर्कोतर्फ नेपालका काँकरभिट्टालगायत अन्य बजारमा सामान्य चलायमान हुन थालेको छ ।

यसअघि नेपालका इटहरी, बेलवारी, पथरी, उर्लावारी, दमक, झिलझिले, सुरङ्गा, विर्तामोड, चारआली, धुलावारी, काँकरभिट्टालगायत अन्य स्थान सम्मका नेपाली उपभोक्ता किनमेलका लागि पानीट्याँकी जाने गर्थे । नेपाली बजारको तुलनामा भारतीय बजारमा सस्तोमा सामान पाउने भन्दैं उनीहरुको आर्कषण भारतीय बजारतर्फ थियो ।
तर, पछिल्लो समय दुवैतर्फको कडाइपछि यो बजार नेपाली ग्राहकविहीन जस्तै बनेको भारतीय व्यवसायीहरूको भनाइ छ । नेपाली ग्राहकका अनुसार पछिल्लो समय नेपालमा भन्दा भारततर्फ चेकजाँचमा कडाई छ । हरेक सामान एक्स रे मेसीनमा स्क्यानिङ गरेर मात्र ल्याउन पाईन्छ । जस्का कारण निक्कै लामो लाइनमा बस्नुपर्छ । त्यसकारण पनि नेपाली ग्राहक भारतर्फ जान छाडेपछि नेपाली ग्राहक लक्षित भारतका सीमावर्ती बजार सुनसान झै बनेको झापाका रामरञ्जन चौधरीले बताए । उनी नेपालमा पूजा सामाग्री पसल सञ्चालन गरेर बसेका छन् । सामान खरिदका लागि उनको रोजाईमा भारतीय बजारनै पर्ने गरेको छ । दुवैतर्फ चेकजाँच कडाई भएपछि आफु किनमेलका लागि भारतीय बजार जान छाडेको चौधरीले बताए ।
खुला सीमाको फाइदा उठाउँदै सानो परिमाणमा सामान ओसारपसार र अनौपचारिक व्यापार व्यापक हुँदै आएको थियो भने कतिपय स्थानमा तस्करीसमेत बढेको आरोप लाग्दै आएको थियो । अहिले नेपाल तथा भारत दुवैतर्फ कडाइपछि यस्ता गतिविधि धेरै हदसम्म रोकिएको स्थानीयको भनाई छ । नेपाली ग्राहकमा निर्भर भारतीय व्यवसायीहरू ग्राहक घटेपछि आर्थिक समस्या भोग्न बाध्य भएको बताउँछन् । ‘कुनै बेला पसलमा ग्राहकको चाप निक्कै बाक्लो हुन्थ्यो । हामी २ -३ जनालाई सामान दिन समेत हम्मे हम्मे पर्दथ्यो ’ एकजना मारवाडी समुदायका व्यपारी भन्छन् -‘अहिले त बुहुनी समेत हुन छाडेको छ । भाडा कसरी तिर्ने, खाना कहाँबाट खाने व्यावसाय नै धराशायी भयो ।’
उनको पसल अधिकाँश नेपाली ग्राहकको भरमा थियो । अहिले ७० देखि ८५ प्रतिशत नेपाली ग्राहक उनको पसलमा घटेको सुनाए । अहिले आवतजावतमा निगरानी बढेपछि यहाँको व्यापार निकै घटेको बताउँदैं उनले भने, असार महिना खेतीपातीको सिजन भए पनि भारतीय बजार भने सुनसान देखिन थालेका छन् । सीमाका थुप्रै बजार नेपाली ग्राहकमाथि अत्यधिक निर्भर थिए । दसैँ–तिहारलगायतका अन्य चाडपर्वदेखि विवाह, ब्रतबन्धसम्मका हरेक अवसरमा नेपाली ग्राहकको भिड भारतीय बजारमा निक्कै ठुलो लाग्ने गर्थ्यो ।
एक भारतीय व्यापारीले गुनासो गर्दै भने, ‘पहिले नेपाली ग्राहक नै हाम्रो मुख्य आधार थिए, अहिले त दिनभरि पसलमा बस्दा पनि खासै व्यापार हुँदैन ।’ नेपालतर्फ चेकजाँचमा सक्रिय मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकरभिट्टाले भने एकसय रुपैयाँभन्दा माथिका सबै सामानमा कडाइ नभएको स्पष्ट पार्दै घरायसी प्रयोजन तथा विवाह–व्रतबन्धका लागि ल्याइने सामानमा सहजीकरण गरिएको बताएका छन् ।
भारतसँग नेपालको खुला सीमा १४४ दशमलव २ किलो मिटर रहेको छ । खुला सिमानाको फायदा उठाउँदैं नेपाली व्यपारी भारतका चर्चित बजार शिलिगढी, नक्शलवाडी, खोरीवारी, बतासी, अधिकारीसम्म पुग्ने गरेका थिए । मेची उद्योग वाणिज्य संघका एकजना पूर्व सदस्यले नाम नलेख्ने शर्तमा भने, ‘पहिले ग्राहकहरू सस्तोको लोभमा भारतीय बजार जान्थे, अहिले सीमामा दुवैतर्फ कडाइ भएपछि उनीहरू यहीँ किनमेल गर्न थालेका छन् । यसले स्थानीय व्यापारलाई ठूलो राहत दिएको छ ।’