महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसमा सम्मानसहित विदाई

२० मंसिर, मेचीनगर : “ विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ समाज निर्माणमा सहभागिता“ भन्ने मुल नारासहित बिहीबार २१ ओैँ महिला सामुदायिक स्वयमसेविका दिवस मेचीनगरमा विविध कार्यक्रम गरि मनाईएको छ । हरेक वर्षको डिसेम्बर ५ मा स्वदेश एवम् विदेशमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाईन्छ ।

यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्धेश्यकारूपमा मनाउने गरिएको भए तापनि प्रत्येक वर्ष मनाइने यस्ता दिवसले महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर र सम्मानमा के भूमिका खेल्दै आइरहेको छ ।

स्वयंसेविका विदाईसहित सम्मानलगायतका कार्यक्रम गरि दिवस मनाईएको हो । नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा ५ जना महिला स्वयंसेविकालाई नगद राशी र कदर पत्रसहित विदाइ गरिएको थियो । उमेरका कारण उनीहरूको विदाई गरिएको हो ।

अवकाश हुनुहुने महिला स्वयंसेविकाहरू तुलसा नेपाल, सीता दाहाल,फुलमाया राई, सरस्वती घिमिरे र बेलकुमारी धिमाललाई दिर्घसेवा सम्मानसहित नगद १ लाख रूपैयाँ र कदरपत्र प्रदान गरि विदाई गरिएको हो ।

सोहि अवसरमा मेचीनगर नगरपालिकाका १५ वटा वडाबाट एक ÷ एकजना महिला स्वयंसेविकाहरूलाई जनही ५÷५ हजार नगद रकमसहित उत्कृष्ट महिला सामुदायिक स्वयंसेविका पुरस्कार प्रदान गरीयो ।

यसरी पुरस्कार प्राप्त गर्नेमा वडा नम्बर १ देखि १५ नम्वरसम्मका क्रमस राधा कार्की , गीता काफ्ले, सावित्रा पोखरेल, बिमला दाहाल, सीता राई, तारादेबी भण्डारी , देविका खरेल दाहाल, हिरा गुरूङ, निर्मला तिम्सिना , सुशीला खरेल, बिनिता शर्मा, निर्मला दाहाल, कल्पना राजवंशी, यशोदा खतिवडा र उषा राजवंशी छन् ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशासन, योजना तगा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्तीले संयुक्तरूपमा अविर खादा र टीका पहिर्याएर नगद र कदर पत्र प्रदान गर्नुभएको थियो ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा निरन्तर सेवा प्रदान गरि सेवा निवृत्त उनीहरूले महिला, बालबालिकाको स्वास्थ्य अवस्थालाई प्रवर्द्धन गर्न, स्वास्थ्य सेवालाई समुदाय स्तरसम्म स्थापित गर्न तथा सामाजिक सेवाका विभिन्न क्रियाकलापहरूमा स्वास्थ्य स्वयंसेवकको रूपमा अहोरात्र खटेर विशिष्ट योगदान पुर्याएका कारण दीर्घ सेवा सामाजिक सेवाको उच्च सम्मान गदैँ नगदसहित कदर पत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, प्रशास , योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीलगायतले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

देशकै आधारभुत तहमा हरेक गाउँ गाउँ पुगेर नेपाल सरकारले पुर्याउने स्वास्थ्य सेवा महिला सामुदायिक स्वयंसेविकाहरूले पुर्याएको उनीहरूको भनाई थियो । स्वयंसेविकाहरुले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको खास काम महिला तथा बालबालिकाको क्षेत्रमा भए पनि कतिपय अवस्थामा अन्य संघ संस्थाले पनि उनीहरूलाई स्वयंसेवकका रूपमा प्रयोग गरिरहेका छन् । नेपाल सरकारले लागू गर्ने थप स्वास्थ्य कार्यक्रममा पनि उनीहरूलाई संलग्न गराइनै राखिएको हुन्छ, जुन कयौँ अवस्थामा उनीहरूको जिम्मेवारीभित्र पर्दैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको रोकथाममा महिला स्वास्थ्य स्वयंसेविकालाई कामको जिम्मेवारी दिएकोे छ ।

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पु¥याउदै आएका छन् । विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका छन् । सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरूका कारण अहिले मातृ तथा शिशुको मृत्युदरमा समेत कमि आएको कार्यक्रम बोल्ने वक्ताहरूको भनाई थियो ।

कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा र शब्दमार्फत स्वागत मेचीनगर वडा नम्बर ११ कि महिला स्वयंसेविका लक्ष्मी कटवालले गरेकी थिईन् ।

Exit mobile version