१३ भदौ, मेचीनगर : कोभिड १९ का कारण जिल्लामा पर्याप्तरुपमा रक्तदान कार्यक्रम नभएका कारण झापामा सिर्जना भएको रगत अभावलाई टार्न आइतबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । लक्ष्मीनारायण मन्दिरमा भएको कार्यक्रममा ४ महिला र ३५ पुरुषसहित ३९ जनाले रक्तदान गरेको परिषद अध्यक्ष ओमप्रकाश खापुङ्ग जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरको प्राविधिक सहयोग भएको कार्यक्रमा ३१ औं पटक रक्तदान गरीसक्नु भएका मेचीनगर— १० का गोकुल हुमागाईँले ३२ औँ पटक रक्तदान गरेर उद्घाटन गर्नुभएको थियो । प्राविधिकहरु दीपक ओली, आश्मा लिम्बु, सरीता विक, रिमा खड्काले रक्त संकलन गर्नुभएको थियो । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापा शाखा भद्रपुरलाई प्रदान गरिएको छ ।