११ पौष, मेचीनगर : नेपाली अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्दै कहिले नेपाली अदुवाको भारतले आयातमा प्रतिबन्ध लगाएको थियो । कुनै न कुनै वहानामा नेपाली कृषिजन्य वस्तुको आयातमा भारतले बेलाबखत समस्या आउने गरेको छ । विभिन्न बहानामा नेपाली कृषिजन्य वस्तुकोे पैठारी रोक्न भारतले नयाँ नयाँ नीति लागू गर्दै जान थालेपछि नेपाली व्यवसायीहरु मारमा पर्ने गरेका छन् ।
पछिल्लो समय नेपाली प्लाइउड पैठारी रोक्न भारतको नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरु मारमा पर्ने भन्दैं उनीहरुले चिन्ता व्यक्त गरेका छन् । भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आईएसआई) अनिवार्य लागू गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने व्यवसायीहरुको भनाई छ ।
नेपाली सरकारी अधिकारीहरुका अनुसार आगामी सन् २०२४ फेब्रवरी २८ बाट भारतले अनिवार्य रूपमा गुणस्तर मापदण्ड लागू गर्दै छ । भारतले तीन महिनाअघि राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ, जसमा उसले गुणस्तर मापदण्डमा दर्ता हुन नेपाली व्यवसायीलाई समेत आह्वान गरेको ती सरकारी अधिकारीले स्पष्ट जानकारी दिए ।
सरकारी अभिलेख अनुसार गत आर्थिक वर्ष २०७९/०८० को सोहि अवधिको तुलनमा चालु आर्थिक वर्ष २०८०/०८१ मा प्लाइउड निर्यात १ सय ४ दशमलव ७८ प्रतिशतले बृद्घि भएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि कात्तिकमहिनासम्ममा काँकरभिट्टा नाका भएर ९६ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिनुभयो ।
‘भारतले नयाँ नीति लागू गरे सन् २०२४ देखि नेपाली प्लाइउडको भारत निर्यात अवरुद्ध हुनेछ ’ नेपाल प्लाइउड उत्पादक संघ केन्द्रिय सदस्य खेम प्रसाईले भन्नुभयो —‘ यसका लागि हामी सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्रीदेखि सचिव सम्मलाई, भन्सार विभागका डिजीहहरु अनि स्थानीय प्रशासनमा प्रमुख जिल्ला अधिकारी र भन्सार प्रमुखहरुलाई समेत भेटेर समस्या सुनाई रहेका छौ । ’ भारतले गुणस्तर भन्दा पनि नेपाली प्लाइउडको माग भारतका विभिन्न शहरमा अत्याधिक रुपमा बढ्न थालेपछि र उत्साहजनक निर्यात भएपछि रोक्न खोजेको आरोप मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष समेत रहनु भएका प्रसाईको छ । ‘ भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै कुनै बेला ‘भारतीय बजारमा प्रवेश नदिन आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएन् उहाँले भन्नुभयो ।’
‘कहिले टमाटर छ कहिले चिया अनि कहिले अदुवा अनि अत्याधिकरुपमा भारतमा माग हुने र निर्यात बढ्ने कृषि वस्तुहरु भारतले विभिन्न बहानामा रोक्न खोज्छ, नेपाली व्यवसायीहरुलाई दुःख दिन्छ धेरै निकासी हुन थालेपछि भारतले लफडा लगाउन खोज्छ’ प्रसाईले भन्नुभयो—‘अब अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड लागू गर्ने बहानामा नेपाली प्लाइउडको पैठारी रोक्न भारतले नयाँ नीति लागू गर्ने भएपछि नेपाली व्यवसायी चिन्तित छन् । ’
चालु आर्थिक वर्षको यो अवधिसम्म १ अर्ब २१ करोड रुपैयाँ बढीको प्लाइउड निर्यात भइसकेको छ सरकारी अभिलेख छ । भारतको नयाँ नीतिले प्लाइउड व्यवसायी समस्यामा पर्ने भन्दैं आगामी जनवरी १३ देखि नेपाल–भारतको वाणिज्यस्तरीय बैठकमा प्लाइउड निर्यातमा आइपर्ने समस्याबारे गम्भीर छलफल हुने नेपाली व्यवसायीहरुको भनाई छ । भारतको नयाँ नीतिले नेपाली प्लाइउडको बजारमा नकारात्मक असर पर्ने भन्दैं व्यवसायीहरुले चिन्ता समेत व्यक्त गरेका छन् । ‘प्लाइउडको निर्यात बढ्न थालेपछि विदेशी मुद्रा आर्जन गर्न महत्वपूर्ण योगदान गरिरहेका बखत भारतले निर्यात रोक्ने प्रयत्न गर्नु नेपालकालागि दुःखद पक्ष हो ।’ प्रसाईले भन्नुभयो यसका लागि नेपाल सरकारले ठोस कदम चाल्नुपर्छ ।
नेपालको गुणस्तर मापदण्डलाई भारतले मान्यता दिन नमानेपछि भारतसँग सरकारले पहल सुरु गरेको छ । तर समस्या किनारा नलागेसम्म नेपाली व्यवसायी समस्यामा पर्ने प्रसाईको भनाई छ। उहाँका अनुसार तयारी गर्न समय लाग्छ । ‘तर, नेपाली व्यवसायीको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारतलाई म्याद थपका लागि पत्राचार गरिसकिएको हामीले जानकारी पाएका छौ । ’ केन्द्रिय सदस्य प्रसाईले भन्नुभयो । नेपालका उद्योगले तयार गरेको प्लाइउड भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको बताईएको छ । पछिल्लो समय प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सरकारी अधिकारीहरुको भनाई छ । पूर्वको झापा काँकरभिट्टादेखि, विराटनगर, कृष्णनगर, भैरहवा, मलंगवा, जनकपुर र पश्चिमको नेपालगञ्ज नाकाबाट प्लाइउडको निर्यात भइरहेको बताईएको छ ।
बैङ्लोर, उत्तर प्रदेशलगायत जिल्लामा धेरै प्लाइउड खपत हुने गरेको छ । भियतनाम, चीनलगायत देशबाट पनि भारतले प्लाइउड आयात गर्दै आएको छ । कुनै समय भारतबाट पैठारी हुन्थ्यो प्लाइउड । नेपाली व्यवसायीले स्वदेशमै उद्योग स्थापना गरेपछि भारतबाट पैठारी हुने क्रम रोकिएर भारततिर निर्यात हुन थालेको हो । नेपाली प्लाइउडको पैठारी रोक्न भारतले नयाँ नीति लागू गरेपछि नेपाली उद्योग ठप्प हुँदा सयौंको रोजगारी पनि खोसिने र थुप्रै उद्योग बन्द हुने नेपाली व्यवसायीहरुको भनाई छ ।
