‘समयभन्दा ढिला आएँ भन्ने मानिस हरेक कुरामा सधै ढिला हुन्छ ’ दुलाल

रोशनराज
२२ जेठ, मेचीनगर : मेचीनगर लेडी जेसिजले मेची उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।

लेडी जेसिजको जेसिज सप्ताहको अवसरमा शुक्रबार आयोजित मेचीनगरका उद्योगी व्यवसायीहरूसँग उद्यमशिलता र व्यवसायिकता सम्बन्धि अभिमुखीकरण कार्यक्रमका अवसरमा संघको बैशाख २६ गते सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई सम्मान गरेको हो ।

प्रमुख अतिथि नेपाल जेसिज वर्ष २०१३ का राष्ट्रिय अध्यक्ष सिनेटर भोेलेश्वर दुलाल, मेचीनगर लेडी जेसिज अध्यक्ष रीता श्रेष्ठ प्रधाले कार्यक्रमको सभापतित्व गर्दै संयुक्तरूपमा सम्मान पत्र प्रदान गरेका थिए ।

मेची उद्योग बाणिज्य संघकोे सहकार्यमा संघको सभाहलमा आयोजित उद्यमशिलता र व्यवसायिकता सम्बन्धि अभिमुखीकरण कार्यक्रमका मुख्यः वक्ताका रुपमा रहेका प्रमुख अतिथि दुलालले कुनै पनि व्यवसाय कसैको लहैलहै र उचालेको भरमा सञ्चालन गर्नुभन्दा पनि त्यस व्यवसायका बारेमा अध्ययन अनुसन्धान गरेर मात्र आवश्यकताका आधारमा लगानी गर्नुपर्ने सुझाँव दिए । आफुले शुरु गर्न लागेको उद्योगबाट उत्पादित सामानको बजार कस्तो छ ? यस अघि सञ्चालनमा आएका यस्तै प्रकृतिका उद्योगको अवस्था के छ ? यी र यस्तै विषयमा अध्ययन अनुसन्धान गरेरमात्र व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

व्यवसायिक क्षेत्रमा सफल र राम्रो पहिचान बनाएका दुलालको व्यवसायिक क्षेत्रमा स्थापित हुनुअघि उनको संघर्षको यात्रा निकै चाखलाग्दो छ । उद्योग सञ्चालनमा कठिन भएपनि उद्योग सफल भएपछि पुस्तौसम्म जाने अनुभव सुनाउदैं दुलालले व्यवसायमा ईमान्दारिता अत्यन्तै महत्वपूर्ण रहेको बताए । ‘व्यवसायीहरुले हरेश खानु र निराश बन्नु हुदैन् ।’ उनले भने ‘व्यवसायको जरा नै होलाई हो र होइनलाई होइन भन्न सक्नु हो । ’ व्यवसाय चाण्क्य नीति भएको बताउँदैं उनले व्यवसाय गर्ने मान्छे ग्राहकसँग आँखामा आँखा जुधाएर बोल्न सक्नुपर्ने, आफुले लगाउने पोशाकमा ध्यान दिनुपर्ने, व्यक्तित्वको विकास गर्दै व्यवसायिक क्षमता हुनुपर्ने, ग्राहकलाई आकर्षण गर्नसक्ने क्षमता हुनुपर्ने र समयको व्यवस्थापन गर्न सक्ने मात्र सफल व्यवसायी बन्ने दाबी गरे ।

अनुशासन मानिसमा नभई नहुने कुरा भएकाले अनुशासन कायम गर्न सवै लाग्नुपर्ने बताउँदै समयभन्दा ढिला आएँ भन्ने मानिस हरेक कुरामा सधै ढिला हुने उनको टिप्पणी छ । मानिसले जे कुरामा बौद्धिकता हासील गरेको छ त्यसैमा केन्द्रीत रहन सुझाँव दिदैं उनले यसो भयो भने मात्र हरेक मानिस लक्ष्यमा पुग्ने बताए । थाहा भएको र बुझेको कुरामा मात्र अभिव्यक्ति दिने, लोभ नगर्ने, हरेक कुराको पारदर्शिता राख्न सक्ने, आर्थिक अनुशासनमा रहने व्यक्ति मात्र छिटो सफल व्यवसायी बन्ने उनको तर्क थियो ।

संस्था सञ्चालन गर्न विज्ञता चाहिने र त्यसका लागि मान्छेले संख्यात्मक भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताए । सन्तानलाई कस्तो खालको संस्कार दिने अभिभावकमा भरपर्ने भएकाले उनीहरुको मनोविज्ञान बुझेरमात्र उस्ले चाहेका हरेक कुरा पुरा गर्नुपर्ने दुलालले बताए । आफू खुशी हुन पैसा नचाहिने तर, समाजलाई आफू भएको खुशी देखाउँदा संकटमा पर्ने भएकाले नियमित उठ्ने, खाने, सुत्नेलगायतका कुरामा ध्यान दिदैं वास्तु विज्ञान समेतको आवश्यकता औंल्याए । ॅघर परिवार बलियो र सफल बन्न । व्यवसाय अरूको होईन आफ्नै ठीक छ भन्ने हुनुपर्छ । ’उनले भने । दुलाल भन्छन्, ‘हामीले देख्ने सपनामा र विपनामा आफ्नो अन्तिम बिन्दु र लक्ष्य राखेर काम गर्नुपर्छ ।’

मध्यम परिवारमा जन्मिएका उनी आमाकै पेटमा जम्मा छ महिनाको हुँदा बाबु गुमाउनु पर्यो । जन्मदै टुहुरो भएका दुलाललाई आमाले निकै दुःख गरेर हुर्काउनु पर्यो । दुलालले पनि संघर्ष गरेर नै पढे । वि.सं. २०३२ सालमा मोरङको उर्लावारीस्थित राजघाटमा जन्मिएका दुलाल अहिले ५१ वर्षको भए । उनले जीवनका डेढदशक बढी जेसिसको लागि बिताए । जेसिसले अगाडि बढ्न र सफलताको सिंढी चढ्न मद्दत गर्यो । भन्छन्, ‘एउटा सानो परिवारमा जन्मिएको मानिस हो । मेरो बुबा शिक्षण पेशामा हुनुहुन्थ्यो । म आमाको कोखमा हुँदा नै बुबाले छाडेर जानु भयो । त्यसपछि मलाई आमाले हुर्काउनुभयो ।’

उनले २०४६ सालमा एलएलसी परीक्षा उत्रिण गरे । आर्थिक अभावका कारण एसएलसीपछि दुलालले नारायण गौतमको पसलमा काम गर्न सुरु गरे । वास्तवमा उनलाई पनि बुबा जस्तै शिक्षक बन्ने इच्छा थियो । तर भाग्यले उनलाई शिक्षक बनाएन् । एउटा सफल व्यवसायी बनायो । उनी भन्छन्, ‘नारायण गौतमजीको पसलबाट मेरो जीवन नै परिवर्तन हुन पुग्यो । मैले त्यति बेला नै आफै व्यवसायी बन्ने स्रोत जुटाएर व्यवसायी बन्छु भन्ने योजना बनाए ।’

सानो पूँजीबाट व्यवसाय थाल्दा धेरै अप्ठ्यारा, उकाली ओराली उनले धेरै सहे । तर दुलाल कहिल्यै आत्तिएनन् । जोखिम मोलेर उनी अघि बढ्दै जाँदा केही चुनौति आए पनि असफल भने हुन परेन् ।
दुलालले स्थापना गरेको व्यवसाय अहिले उनको श्रीमतीले हेर्दै आएकी छन् । व्यवसायको दायरा बढाउँदै लगेका उनीमाथि अहिले आफ्नो व्यवसाय मात्रै रेखदेख गर्ने जिम्मेवारी छैन्, सामाजिकदेखि अन्य क्षेत्रमा समेत ध्यान दिनुपर्ने बाध्यता छ ।

कार्यक्रममा मेचीनगर लेडी जेसीजका पूर्व अध्यक्ष टीका बराल सुवेदी, मेची उद्योग बाणिज्य संघ मेचीनगरका महासचिव ध्रुव कनाललगायतले बोलेका थिए । आयोजक संस्थाका महासचिव कृष्णकुमारी (कल्पना) उप्रेती प्रसाईले सञ्चालन गरेको कार्यक्रममा संस्था २०२६ की सचिव हिरालक्ष्मी कोइरालाले आस्थावाचनसहित जेसीज भिजन मिसन प्रस्तुत गरेकी थिईन् ।

Exit mobile version