१३ फागुन मेचीनगरः सन् २०२४ फेब्रवरी २८ तारीख वा अबको ‐तीनदिनपछि) बाट नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति लागू गर्दैछ । भारतले नयाँ नीति अघि सारेपछि नेपाली प्लाइउड व्यवसायीहरु मारमा पर्ने भन्दैं तीनै तहका सरकार, प्रमुख राजनीतिक दल, तथा नेपालस्थित भारतीय दुतावाससँग हारगुहार गरिरहेका छन् ।
भारतले अन्तर्राष्ट्रिय गुणस्तरीय मापदण्ड (आईएसआई) अनिवार्य लागू गर्ने भएपछि नेपाली प्लाइउड निर्यातमा समस्या हुने भन्दैं व्यवसायीहरुले सवैतिर हारगुहार गर्नुपरेको मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको भनाई छ । भारतले तीन महिनाअघि राजपत्रमा सूचना प्रकाशन गरिसकेको छ, जसमा उसले गुणस्तर मापदण्डमा दर्ता हुन नेपाली व्यवसायीलाई समेत आह्वान गरेको नेपाली सरकारी अधिकारीहरु बताउँछन् । अब मार्च १ तारीखबाट भारतले अनिवार्य रूपमा गुणस्तर मापदण्ड लागू गर्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका एकजना अधिकारीले जानकारी दिए ।
तर, व्यवसायीहरु भने, पछिल्लो समय नेपाली प्लाइउड पैठारी रोक्न भारतले नयाँ नीति अघि सारेको दाबी गरेका छन् । संघीय सरकारका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सचिवदेखि नेपालस्थित भारतीय दुतावासका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म र प्रमुख राजनीतिक दलका नेताहरुको ढोकासम्म पुगेर यस विषयमा लिखित तथा मौखिक समस्या व्यवसायीहरुले राखिसकेको अध्यक्ष प्रसाईको भनाई छ ।
नेपालतर्फ सवैसँग भेटवार्ता गरीसकेको नेपाली प्रतिनिधि मण्डल भारतको दिल्ली पुगेर स्वदेश फर्केको छ । नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरे, पूर्व अध्यक्ष देवानन्द सरावगी, उपाध्यक्ष मनोज चित्लेङ्गी र मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई दिल्ली पुगेर गएर भारतका लागि नेपालका राजदुत शंकरनाथ शर्मालाई भेट्न दिल्ली गएको अध्यक्ष प्रसाईको भनाई छ । नेपालबाटै तारतम्य मिलाएर दिल्ली पुगेको नेपाली उद्योगी व्यवासयीहरुको प्रतिनिधि मण्डललले राजदुत शर्मालाई सहजै भेट्ने वातावरण मिलेको थियो । टोलीले राजदुत शर्मालाई भेटेर यस बिषयमा आफ्ना कुरा राखेको छ । हुन् त दिल्लीबाट फर्केलगत्तै नेपाली प्रतिनिधि मण्डल संघीय सरकारका परराष्ट्र मन्त्री एनपी साउदलाई भेट्न काठमाण्डौ पुग्यो ।
मन्त्री साउदलाई भेटरे थुप्रै समस्या राख्यो । भारतमा बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन नयाँदिल्ली जाने मौका पारेर टोलीले प्लाइउडलागायत अन्य विषयलाई प्राथमिकतामा राखेर भारतसँग छलफल र संवाद गरिदिन टोलीले आग्रह गरेको थियो । यसमा मन्त्री साउद सकरात्मक देखिनु भएको अध्यक्ष प्रसाईको भनाई छ । ‘भारतले नयाँ नीति लागू गरे नेपाली प्लाइउडको भारत निर्यात अवरुद्ध हुनेछ ’ नेपाल प्लाइउड उत्पादक संघ केन्द्रिय सदस्य समेत रहनु भएका प्रसाईले भन्नुभयो—‘यसका लागि हामी सम्बन्धित मन्त्रालयमा पुगेर मन्त्रीदेखि सचिव सम्मलाई, भन्सार विभागका डिजीहरु अनि स्थानीय प्रशासनमा प्रमुख जिल्ला अधिकारी र भन्सार प्रमुखहरुलाई समेत भेटेर समस्या सुनाई रहेका छौ । ’ भारतले गुणस्तर भन्दा पनि नेपाली प्लाइउडको माग भारतका विभिन्न शहरमा अत्याधिक रुपमा बढ्न थालेपछि र उत्साहजनक निर्यात भएपछि रोक्न खोजेको आरोप नेपाली व्यवसायीहरुको छ ।
सरकारी अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि कात्तिकमहिनासम्ममा काँकरभिट्टा नाका भएर ९६ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० को सोहि अवधिको तुलनमा चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्लाइउड निर्यात १ सय ४ दशमलव ७८ प्रतिशतले बृद्घि भएको छ ।
भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै कुनै बेला ‘भारतीय बजारमा प्रवेश नदिन आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा उस्वेला करिब महिनौदिन सम्म कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न नपाएको व्यवसायीहरुको भनाई छ ।
नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईलगायतलाई टोलीले भटेर कुरा राखेपछि भारतसँग यस विषयमा कुरा गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर निकास दिने आश्वासन पाएको प्रसाईले बताउनुभयो । नेपाली अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्दै कहिले नेपाली अदुवाको भारतले आयातमा प्रतिबन्ध लगाएको थियो । कहिले टमाटर त कहिले इस्कुस कुनै न कुनै वहानामा नेपाली कृषिजन्य वस्तुको आयातमा भारतले बेलाबखत समस्या आउने गरेको बुझाई नेपाली उद्योगी व्यवसायहिरुको छ । यसरी विभिन्न बहानामा नेपाली कृषिजन्य वस्तुकोे पैठारी रोक्न भारतले क्रमस नयाँ नयाँ नीति लागू गर्दै जान थालेपछि नेपाली व्यवसायीहरु मारमा पर्ने गरेको भन्दैं चिन्ता व्यक्त गरेका छन् ।
