२० चैत, मेचीनगर : निरन्तर घाटामा रहेको नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापार चालु आर्थिक वर्ष २०८०/०८१ को आठमहिनाको अवधिमा समेत बंगलादेशको पक्षमा रहेको छ । आर्थिक वर्ष ०५४/५५ बाट सुरु भएको नेपाल–बंगलादेशबीचको द्विपक्षीय व्यापार निरन्तर घाटामा छ । निर्यात वृद्धिको प्रशस्त सम्भावना भएता पनि बंगलादेशबाट आयात बढ्दा व्यापार घाटा पनि चुल्लिदै गएको छ ।
०५४ भदौ १४ देखि नेपालले बंगलादेशसँग औपचारिक व्यापार शुरु भएको हो । व्यापार सुरु भएको पहिलो र दोस्रो वर्ष बंगलादेशको पक्षमा रहेको व्यापार ०५६/५७ मा भने नेपालको पक्षमा देखिएको थियो । त्यसपछि देखि यी दुई देशबीच हुने व्यापारमा नेपालले घाटा व्यहोरिरहेको छ । पूर्वी काँकरभिट्टा नाका भएर यी दुई देशबीच हुने व्यापारमा निर्यातभन्दा आयात बढी भएकाले व्यापार बंगलादेशको पक्षमा देखिएको हो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुनमहिनासम्म ९४ प्रतिशत व्यापार घाटा भएको छ । यो अवधिमा साढे दुई अर्बभन्दा बढीको सामान बंगलादेशबाट आयात भएकोमा यताबाट यही बेला १६ करोड रुपैयाँबढीका मात्र सामान निर्यात भएको कार्यालयका भन्सार अधिकृत एवम् सूचना अधिकारी गणपति कडेलले बताउनुभयो ।
आठमहिनामा २ अर्ब ५९ करोड ६५ लाख ३१ हजार रुपैयाँमा मालवस्तु पूर्वी नाका भएर आयात भएको छ । तर, निर्यात भने, निक्कै कम छ । १६ करोड ५६ लाख ४२ हजार रुपैयाँका मालवस्तु नेपालले पठाएको भन्सारसँग अभिलेख छ । जुन २ अर्ब ४३ करोड ८ लाख ८९ हजार रुपैयाँ वा ९४ प्रतिशत व्यापार घाटा हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को सोहि अवधिमा नेपालले ९२ प्रतिशत व्यापार घाटा व्योहोरेको थियो । कार्यालयका अनुसार सो अवधिमा ४७ करोड ११ लाख ५२ हजार मालवस्तु नेपालले निर्यात गर्दा सोहि अवधिमा ५ अर्ब ६५ करोड २० लाख ६५ हजार रुपैयाँका मालवस्तु आयात गरेको थियो । जहाँ नेपालले ५ अर्ब १८ करोड ९ लाख १३ हजार रुपैयाँ वा ९२ प्रतिशत बंगलादेशसँगको नेपालतर्फको व्यापार घाटा हो ।
भन्सार अधिकारी र व्यवसायीहरुका अनुसार आर्थिक वर्ष ०६१/६२ देखि ०६४/६५ सम्म नेपाल–बंगलादेश व्यापारमा उतारचढाव आयो । ०६४/६५ देखि ०७०/७१ सम्म करिब ७ वर्ष नाफामा रह्यो । त्यो समयमा गहुँ निर्यात हुन्थ्यो । बंगलादेशबाट आउने सामान पनि कम थियो । ०७१/७२ देखि भने व्यापार ओरालोमा छ । नेपालले भारतलगायतका मुलुकसँगको व्यापार घाटा व्योहोदैं गर्दा बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सेनि नेपालको पक्षमा हुन्थ्यो । पछिल्लो अभिलेखले बंगलादेशसँगको व्यापार पनि निरन्तर ओरालो लाग्दै गएको स्पष्ट हुने मेची भन्सार एजेण्ट संघका सचिव कृष्णकान्त ‐नवराज) खनियाँ बताउनुहुन्छ ।
नेपाल–बंगलादेशबीचको समग्र व्यापारमै कमी आएको बताउदैं खनियाले भन्नुभयो—‘कोभिड र त्यसपछिको आर्थिक मन्दीको प्रभाव नेपाल–बंगलादेशको व्यापारमा प्रत्यक्ष रूपमा परेको छ । निर्यात घट्दो छ, आयात पनि कम हुँदै गएको छ, नेपाल–बंगलादेश व्यापारमा उतारचढाव छ । ’ बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकले नेपालका कृषिजन्य उत्पादनसहित १ सय ८ वटा आइटमलाई ‘ड्युटी फ्री’ सुविधा दिने निर्णय गरेको थियो । त्यसले नेपालको निर्यात बढ्ने विश्वास लिइएको भएपनि हालसम्म छलफल कै क्रममा रहेको र कार्यान्वयन नभएको कारण नेपालले बर्षेनी व्यापार घाटा सहनु परेको भन्सार अधिकारी र व्यवसायीहरु बताउछन् । बंगलादेशबाट कटन वेस्ट, औषधि, फेब्रिक, जुट, चिनी, दूध पाउडर, सोया, आलुलगायत करिब तीन दर्जन वस्तु आयात हुन्छन । नेपालले मुसुरो, जडीबुटी, अदुवा, तोरीको पिना, तरकारीजन्य वस्तु निर्यात गर्दै आएको छ ।
भुटानका मालवस्तु सरह नेपाली वस्तुलाई पनि ड्युटी छुट गरीदिने हो भने निर्यात व्यापार बढ्ने र नेपालको घाटा व्यापार कम हुने भन्सार अधिकारीको भनाई छ । बंगलादेशले नेपालका १ सय ८ वस्तुलाई भन्सारसहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रिजेरेटर, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, टोवाको, टमटरको सस र बिस्कुटलगायत ५० वस्तुमा ड्युटी फ्री गर्ने भनेको थियो । तर, यो विषय अझै छलफलकै क्रममा रहेको एकजना भन्सार अधिकारीले भने । नेपालको भारत र चीनसँगको प्रत्येक वर्ष खबौंको व्यापार घाटा भइरहेको बेलामा नेपालले बंगलादेशसँगको व्यापार पनि सोही अवस्थामा रहेको यसका जानकारहरु बताउछन् ।
भन्सार अधिकारीका अनुसार भुटानबाट बंगलादेशले आयात गर्ने मालवस्तुलाई जस्तै नेपालबाट निर्यात भएर उता जाने मालवस्तुलाई बंगलादेशले ड्युटी छुट दिने हो भने हरिया सागसब्जी, फलफूल सुन्तला, किवि, ड्राइगन फुट्स तथा मैसमी तरकारी, चिया, अलैची, टमाटर प्रश्सत निर्यात हुन्थ्यो । जस्ले गर्दा व्यापारमा बृद्धि हुन्थ्यो । बंगलादेशमा जडीबुटी निकासी बढाउन सके बंगलादेशसँगको व्यापारमा नेपालको पक्ष हुन सक्छ । नेपालबाट बंगलादेशमा अलैंची, अदुवा र फलपूmल माग उच्च भए पनि यी उत्पादन भने झन्झटिलो भन्सार नीतिले निर्यात व्यापार कमजोर भएको बताईएको छ । नेपालबाट बंगलादेशमा गहुँ र दाल बढि निर्यात हुन थालेपछि व्यापार नेपालको पक्षमा हुँदै गएको थियो नेपालबाट निर्यात बंगलादेशमा घट्दै गएकाले द्विपक्षीय व्यापार ऋणात्मक भएको थियो । बंगलादेशमा मुसुरो निर्यात घटेपश्चात् व्यापार घाटा बढ्दै गएको देखिन्छ । ‘नेपालबाट अत्यधिकरुपमा प्लाइउड भारततर्फ निर्यात हुन्छ ’ एकजना भन्सार अधिकारीले नाम नलेख्ने शर्तमा भने—‘ त्यही प्लाइउड ८० देखि ९० प्रतिशत बंगलादेश निर्यात हुन्छ । कम से कम सोझै बंगलादेश पठाउन सके केहिहदसम्म व्यापार घाटा कम हुन्थ्यो ।’
काँकरभिट्टादेखि करिब ५४ किलो मिटरको दूरी पार गर्दा बंगलादेशको व्यापारिक नाका बंगलाबन्द पुगिन्छ । बंगलादेशसँगको व्यापारका लागि यो मार्ग नै सबैभन्दा छोटो मानिन्छ । त्योबेला कोलकाता–हल्दिया बन्दरगाहको विकल्पमा बंगलादेशसँगको यो बन्दरगाह हुने सोचिएको व्यवसायी एवम् मेची भन्सार एजेण्ट संघका अध्यक्ष मोहन निरौलाको भनाई छ ।
