करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउँदै सर्वसाधारण : जलचर नै जोखिममा

३२ साउन, मेचीनगर : ५ साउनमा झापामा माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगर नगरपालिका — १० धुलाबारीका ४२ वर्षिय माईला भनिने जाहिद अलीको मृत्यु भयो । झण्डै दुईवर्षअघि २०७९ साउन १२ गते माछा मार्ने क्रममा करेन्ट लाग्दा झापा भद्रपुर नगरपालिका —७ का अन्दाजी ४० वर्षका भोटलाल गणेशको मृत्यु भयो ।

करेन्ट लगाएर माछा मार्ने क्रममा झापामै एक्कैदिन याङबरक गाउँपालिका–६ पाँचथर घर भई बुद्धशान्ति–२ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली, हल्दीबारी गाउँपालिका–५ का ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ र मेचीनगर नगरपालिका–११ धाईजनका ४७ वर्षीया सन्त चौधरी गरी एक्कै दिन तीनजनाको मृत्यु भएको अभिलेख प्रहरीसँग छ ।

झापाको हल्दिबारी गाउँपालिका –४ लक्ष्मीचोकका अन्दाजी ३० वर्षीय नरेश मोक्तानको मृत्युको कारण पनि करेन्ट लगाएर माछा मार्नु नै हो । खोलानाला र जमेको पानीमा करेन्ट लगाएर माछा मार्न जादा हुने यी त केही प्रतिनिधि घटनामात्र हुन । यस्ता घटनाको तथ्याङ्क नेपाल प्रहरीसँग लामै छ ।

‘करेन्ट लगाएर माछा मार्नु गैरकानुनी कार्य हो ’ एकजना प्रहरी अनुसन्धान अधिकृतले भन्नुभयो—‘कानुन छ तर, त्यसको पूर्णरुपमा कार्यान्वयन नहुँदा र माछाको लोभमा करेन्ट लगाउँदा मानिसले ज्यान समेत गुमाउनु परेको छ ।’ करेन्ट लगाएर माछा मार्नु गैरकानूनी भए पनि यस क्षेत्रमा लुकिछिपी यस्ता गतिविधि भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । करेन्ट लगाएर माछा मार्नेलाई कानुनी दायरामा ल्याई कारबाही अगाडि बढाउने प्रहरी नायव उपरीक्षक चन्दको भनाई छ । करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउनेको अभिलेख प्रहरीसँग सुरक्षित भएपनि करेन्टको प्रयोग गरेर माछा मार्ने पक्राउ परेको तथ्याङ्क भने प्रहरी सामु छैन् । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दका अनुसार उहाँ आए यता झापामा यस्ता उजुरी आएका छैनन् । उहाँ भन्नुहुन्छ, ‘त्यस्तो सूचना प्राप्त भए हामी कानुनको दायरामा ल्याउँछौँ । सबै प्रहरी युनिटलाई यसबारे ख्याल गर्न निर्देशन दिन्छौ ।’

झापाका मेची निन्दा, टिमाई ,फुलवासा, हाडिया, कन्काई, रतुवा लगायतका नदीमा ‘करेन्ट’लगाई माछा मार्ने गरेका कारण सो नदीको जलचर संकटमा परेको छ । करेन्ट लगाई माछा मार्नाले खानयोग्य माछामात्र नमरी माछाका भुरा अण्डालगायत माछाको आहार समेतलाई असर पर्ने वरिष्ठ पशु चिकित्सक ओमनारायण मण्डलको भनाई छ । ‘करेन्ट लगाएर माछा मार्दा जलचर नै जोखिममा त पर्छन नै सर्वसाधारणले अकालमै ज्यान समेत गुमाउनुपर्छ ।’ डाक्टर मण्डलले थप्नुभयो । यी सब कुरा जान्दाजान्दै पनि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम नरोकिनु मानिसमा चेतनाको अभाव भएको उहाँको तर्क छ । ठूला नदीमा मात्र नभई, स–साना नदीमा पनि माछा मार्न करेन्टको प्रयोग हुने गरेको छ । कतै रमाइलोका लागि त कतै माछाबाट छिट्टै आम्दानी लिनका लागि पनि खोलामा करेन्ट लगाइने बताईएको छ । माछाका लागि करेन्ट लगाउँदा माछा मात्र लोप हुँदै जाने नभई अन्य जलचरमा पनि ठूलो असर परेको एउटा तथ्याङ्कले देखाएको छ ।

खोलामा करेन्ट लगाएर माछा मार्न निक्कै टाढा टाढाबाट समेत सर्वसाधारण आउने गरेका छन् । माछा मार्न खोलामा करेन्ट लगाउने क्रम बढ्दै गएपछि क्रमस माछा हराउँदै गएको हरेराम माझी बताउनुहुन्छ । नदी र खोलामा जाल हानेर माछा मादैं नुन—भुटनको जोहो गर्ने माभीलाई अहिले खोला र नदीमा माछा मासिदैँ गएकोमा चिन्ता छ । ‘करेन्ट लगाएर माछा मार्ने क्रम बढ्दै गएपछि माछा घटेर लोप हुन थाले ’ माझीले भन्नुभयो—‘‘खोलामा माछा मार्न करेन्ट लगाइदिने गर्दा समस्या भयो, हाम्रो पेशा समेत संकटमा पर्यो, नुन भुटनको जोहो गर्न नै धौ धौ भयो।’ जेनेरेटर, ब्याट्री र इन्भर्टरको प्रयोग गरेर करेन्ट लगाएर माछा मार्ने गरिएको सर्वसाधारणको भनाई छ ।

पंक्षी तथा पशु अधिकार रक्षाका लागि अहोरात्र सक्रिय चरा संरक्षक देवेन्द्रकुमार खरेल ‘देवेन’ खाने भन्दैमा माछालाई करेन्ट लगाएरै मार्नु ठीक नभएको बताउनुहुन्छ । खोलामा करेन्ट प्रयोग गरेर माछा मार्दा गलत तथा अत्याधिक करेन्ट प्रवाहले वगेको वा प्रयोग भएको पानीमा पानीको गुणस्तरमा ह्रास आउने , माछा मात्रै नभएर अन्य जीव पनि मर्ने वा घाईते हुने, कतिपय माछा घाईते वा मृत भएका र शिकारीले नउठाएको कारणले मृत माछा पानीमा रहँदा पछि सडिएर पानी दुषित हुने ,पानीको जैविक प्राकृतिक पारस्थितिय प्रणाली चक्र असन्तुलित हुने, उपयुक्त सावधानीको कमि र गलत तरीकाले करेन्ट प्रवाहले पानीबाट प्रवाहित विद्युतले स्वयम् माछा शिकारी पनि घाईते तथा मर्न पनि सक्ने, रैथाने वा स्थानीय महत्वपूर्ण प्रजातिका माछाहरू लोप हुने यस्ता गैरकानुनी कार्यले कानुनी कार्वाहीमा पनि पर्ने मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहनु भएका खरेलको भनाई छ ।

करेन्ट लगाएर माछा मारेको कसैले देखे तत्काल सम्बन्धित निकायमा कारवाहीका लागि सूचना गर्नु सवैको दायित्व भएको उहाँ बताउनुहुन्छ । यसले समग्र इकोसिस्टममै असर पार्ने खरेलको भनाई छ । माछाका लागि ठूलो शत्रु नै करेन्ट भएकोले यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने हाम्रा नदी खोलाबाट सवै माछा हराउने छन् । नदीमा पनि माछाको संख्या घट्दै जाने देखिन्छ । ‘सरकारी निकायले यसमा विशेष ध्यान दिनुपर्छ ’अध्यक्ष खरेलले भन्नुभयो—‘जनचेतना जगाउनुपर्छ । गैरकानुनी काम गर्नेलाई कारबाही गरी त्यस्तो काम गर्न निरुत्साहित बनाउनुपर्छ ।’

२०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन । सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको यसका जानकारहरु बताउछन् ।

Exit mobile version