पछिल्लो समय सामुदायिक कुकुर सवारी दुर्घटनाको मुख्यः कारण बन्दै

२० पौष , मेचीनगर : झापा भद्रपुरका निश्चल राजभण्डारीको सवारी दुघर्टनामा परी मृत्यु भयो । भक्तपुरको सानो ठिमीमा चार दिन अघि भएको स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका झापा भद्रपुरका राजभण्डारीको उपचारका क्रममा मृत्यु भएको हो । बाटो काट्दै गरेको कुकुरलाई बचाउने क्रममा स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीका अध्यक्ष नेत्रप्रसाद रिजाल पौष १३ गते साँझ ५ बजे आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभयो । सडकमा अचानक कुकुरले बाटो काट्दा सो दुर्घटनामा भएको थियो ।

झापा मेचीनगरको भूमि शाखामा कार्यरत कर्मचारी सरोज अधिकारी सवार मोटरसाइकलमा अचानक कुकुर ठोक्किन आइपुग्दा निक्कै ठूलो दुर्घटना भयो । जसोतसो ज्यान त जोगियो । चारदिन अस्पताल बसेर मेजर शल्याक्रिया पश्चात घर फर्किनुभयो ।

मेचीनगर नगरपालिका नगरप्रमुखको सचिवालयका स्वकीय सचिव आशिष पौडेल केही महिनाअघि ठूलो दुर्घटनामा पर्नुभयो । अस्पताल बसेर हातको शल्यक्रिया गरेर फर्किनुभयो । केहीदिनअघिमात्र कुकुरकै कारण मेचीनगर—१२ सहरेडागीका तीर्थ घिमिरे पुर्व पश्चिम लोकमार्गको विर्तामोडस्थित बुट्टावारीमा दुर्घटनामा परी गम्भीर घाइते हुनुभयो । मेचीनगर—४ को बाहुनडाँगीबाट काँकरभिट्टातर्फ आउँदै गर्दा एकजना सञ्चारकर्मी कुकुरकै कारण दुर्घटना परेका थिए ।

यी माथिका त सडकमा सवारी चलाउँदा कुकुरसँग ठोक्किएर हुने सवारी दुर्घटना र त्यसबाट हुने क्षतिका प्रतिनिधि घटनामात्र हुन् । हरेक वर्ष कुकुरकै कारण हुने सवारी दुर्घटनाबाट धनजनको ठूलै क्षति हुने गरेको छ । दुई पाङ्ग्रे मात्र होइन चार पाङ्ग्रे सवारी साधन समेत बेला बखत कुकुरसँग ठोक्किएर दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाई छ । चार पाङ्ग्रे सवारी साधन कुकुरसँग ठाक्किए पछि उनीहरु विमाका लागि प्रहरीसँग कागजातत बनाई दिन भन्दै आउने गरेका छन् । यो बर्षमा मात्र ४ ५ वटा सिफारिस बनाई दिएको प्रहरीको भनाई छ । विज्ञहरुका अनुसार चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारण हुन् । पछिल्लो समय भने सडकमा हिड्ने कुकुर समेत दुर्घटनाको कारण बनेको ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमको भनाई छ ।

अध्ययनको सिलसिलामा अस्ट्रेलियमा बसोबास गर्ने निश्चल र पूजा केही साताअघि बिदा मनाउन नेपाल आएका थिए । आगामी साता अस्ट्रेलिया फर्कने तयारीमा रहेका दुवैजना आवश्यक सामान किनमेल गरी सानो ठिमीमा रहेको घर फर्कने क्रममा स्कुटर दुर्घटनामा परेका थिए । भक्तपुर प्रहरीका अनुसार, बाटो काट्दै गरेको कुकुरलाई बचाउने क्रममा स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सोही दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती पूजा राजभण्डारीको उपचार भइरहेको छ ।

निश्चल भद्रपुर नगरपालिकाको पूर्वउपमेयर एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य, झापा सह–इन्चार्ज चन्द्रा श्रेष्ठ र दुर्गा राजभण्डारीका एक मात्र छोरा हुन् । ‘कुकरसँग ठोक्किएका घटना थुप्रै छन् ’ ट्राफिक प्रहरी नायव निरीक्षक पूर्ण गौतमले भन्नुभयो —‘ तर,यसबाट मानवीय क्षति कम हुन्छन । यति तीब्ररुपमा सवारी साधन चलाएको छ भने मात्र मानिसको मृत्यु हुन सक्छ । ’ तीब्ररुपमा दौडिरहेको सवारी साधनमा अचानक कुकर ठोक्किन आईपुगे समयमै सवारी साधन नियन्त्रण नहुने र अनियन्त्रीत भएपछि मानवीय क्षति समेत हुने उहाँको भनाई छ । ‘म त्यो दिन सम्झन सम्म चाहान्न’ मेचीनगर —७ सतिघट्टाका अधिकारीले भन्नुभयो—‘अचानक कुकुर कहाँबाट आइपुग्यो र ठोक्किएर दुर्घटनामा परे ‘व्यूटिबन’ भाचियो, चारदिन अस्पताल बसे, ठुलो शल्यक्रिया भयो, निक्कै बढी रकम खर्चभयो ,धन्न ज्यान चाँहि जोगियो ।’ उहाँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ ‘दशाले कुम्लाएर कुकुरसँग ठोक्किन पुग्यो मोटरसाइकल त्यस पश्चात् चारदिन कन्काइ हस्पिटल बिर्तामोड बसाइ पछि डिस्चार्ज भएर घर आइयो । ’

झापाको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा भर्ना भएर हाल उपचार गराईरहनु भएका झापा बुद्धशान्ति गाउँपालिकाका रिजालले कल्पना नै नगरेको दशा बेहोर्नु परेको पीडा सुनाउनुहुन्छ । उहाँको देब्रे पटिको ‘ब्युटिबोन’ को शल्यक्रिया गरिएको र दुखाई सहनै नसक्ने बताउनुहुन्छ ‘मोटरसाइकल यात्राको क्रममा थिए पौष १३ गते शनिबार साँझ पाँच बजेतिर’ उहाँले भन्नुभयो—‘बुधबारे बजार तल्लो चौक ग्लोबल आइएममि बैंक अगाडि सडकमा अचानक कुकुरले बाटो काट्दा दुर्घटनामा परी उपचारको लागि भद्रपुर स्थित ओमसाइ अस्पतालमा भर्ना हुनु पर्यो । ’

उपचारमा थुप्रै खर्च लागे पनि कसैबाट नपाउने उहाँहरुको भनाई छ । तर यस्ता दुर्घटनाको कारणप्रति कसैले पनि खासै चासो नराखेको पीडितहरुको तर्र्क छ । कुकरबाट हुने सडक दुर्घटनाको अनुसन्धान पनि नहुने नेपालमा सडक सुरक्षालाई राज्यले प्राथमिकतामा राखेको नदेखिने बताइएको छ । सडक दुर्घटनाका लागि यान्त्रिक गडबडीभन्दा मानवीय कमजोरी सबैभन्दा बढी जिम्मेवार देखिने गरेका छन् । अहिले आएर सामुदायिक कुकुरसमेत दुर्घटनाको मुख्यः कारण बन्दैं गएका छन् । यस्ता कुकुरहरुको नियन्त्रणमा लाग्नुपर्ने स्थानीय भरतकृष्ण थापाको भनाई छ । बेलैमा यस्ता कुकुर नियन्त्रण नगरे अझ ठुल्ठुला दुर्घटना हुने र त्यसबाट ठूलो मात्रामा धनजनको क्षति बेहोर्न बाँध्य हुनुपर्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको थापाले औल्याउनु भएको छ ।

सडक सुरक्षाको जिम्मा पाएका सरकारी निकायहरूले सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई संवेदनशील भइ नहेरेको आरोप पनि छ । सामुदायिक कुकुरका कारण सवारी दुर्घटनामात्र होइन स्थानीयवासीका चौपायमाथि समेते सामुहिक आक्रमण गदैं बाख्रा मार्ने र घाईते बनाउँने घटना समाजमा बढिरहेका छन् । दैनिकजसो कुकुर आतंक र हैरान खेप्न समेत बाँध्य छन् । नगरपालिकाको विभिन्न वडाको ग्रामीणक्षेत्रमा सामुदायिक कुकुरको आतंक बढेको छ । कुकुरले चौपाया र स साना बालबालिकाहलाई निशाना बनाउँने गरेको मेचीनगर—६ का हरेराम थापाले बताउनुभयो

छाडा अवस्थामा रहने कुकुरले बालबालिका तथा साना सवारी चालकलाई हैरान पारेपछि यस्ता कुकुर नियन्त्रण गर्न दबाब सुरु गर्नुपर्ने स्थानीयवासीको भनाई छ । सामुदायिक कुकुरको कारण आतंकित भएको भन्दै स्थानीयवासीले सम्बन्धित वडाका जनप्रतिनिधिहरुसँग यस्ता कुकुर नियन्त्रण गर्न माग गरेका छन् । मोटरसाइकल, स्कुटर वा साइकलमा यात्रा गर्नेलाई पनि कुकुरले झम्टिएकाले दिनहुँ सानो ठूलो दुर्घटना भइरहेको छ । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेती अहिले विभिन्न वडाको सिफारिस लिएर कुकुरले चौपायामा पुर्याएको क्षतिका लागि धेरथोर राहतका लागि स्थानीयवासी नगरपालिका आउने गरेको बताउनुहुन्छ । दैनिकजसो २ देखि ५ वटासम्म यस्ता राहतका लागि मान्छे आउने गरेका छन् । नगरपालिकाले उनीहरुको गुनासो र पीडालाई सम्बोधन गदैं क्षतिपूर्ति नभएर धेरथोर राहत रकम उपलब्ध गराउने गरेको छ ।

Exit mobile version