झापा क्षेत्र नम्बर १ मा विश्वप्रकाश शर्मा भारी मतान्तरले विजयी

७ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले विजय प्राप्त गर्नु भएको छ । वहाँले नेकपा एमालेका प्रभावशाली नेता अग्निप्रसाद खरेलाई १४२७५ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो । शर्माले झापा क्षेत्र नम्बर १ बाट ३९६२४ मत प्राप्त गर्नुभएको छ भने वहाँका निकटतम् प्रतिद्वन्दी खरेलले २५३४९ मत प्राप्त गर्नु भएको हो ।
दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्माले तेस्रोपटकमा भारी मतका साथ विजय हासिल गर्नुभएको हो । हाल नेपाली काँग्रेसका प्रभावशाली महामन्त्री समेत रहेका शर्मा वि.सं. २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता थिए ।
शर्माको विजयको आधिकारिक घोषणा गर्न निर्वाचन आयोगलाई भने केही समय लाग्ने जानकारी प्राप्त भएको छ ।

Exit mobile version