३० भदौं, बिर्तामोड : अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए ।
उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो । कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचनमा सहभागी हुँदा विगतमा देखिएका समस्याहरु, अपाङ्गता भएकाहरुका लागि निर्वाचन प्रक्रियामा गर्नेपर्ने सुधारका पक्षहरुलगायत विषय राखेका थिए ।

नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले अगामी निर्वाचनमा अपांगता भएकाहरुलाई पनि समेट्ने विषयमा छलफल अघि बढाउने धारणा राखे । उनले कांग्रेसको विधानमै अपांगता भएकाहरुलाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपांगता भएकाहरुको माग सम्बोधन गर्ने बताए । नेकपा एमालेका सचिवालय सदस्य देवराज कार्कीले अपांगता भएकालाई छुटाएर निर्वाचनमा जाँदा समावेशी सिद्धान्त विपरित हुने बताए । उनले एमालेले समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपांगता भएकाहरुको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने प्रतिवद्धता व्यक्त गरे ।