१६ फागुन, मेचीनगर : पूर्वी नेपालमा नेपाल—भारत सिमाना छुट्टयाउन राखिएका सीमा स्तम्भहरुको बैज्ञानिक निरीक्षण तथा मर्मत सम्भार नहुदाँ स्तम्भहरु हराउने गरेका छन् । जस्का कारण नेपाली भूमि अतिक्रमणको जोखिममा परेको छ
सोमबार झापाको मेचीनगर नगरपालिकाले नगरभित्र भारतसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भहरुको अवस्थाका बारेमा जानकारी लिइएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले मेचीनगरको भारतसँगको खुला सीमाना करीव ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलको स्थलगत अवलोकन गरेको थियो ।

मेचीनगरको सीमा सुदूरपूर्वको पनि भारतीयनाकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकाको सीमाको अवस्था कस्तो छ भन्ने जानकारी लिन र बुझ्न अनुगमन र अवलोकन गरिएको नगरप्रमुख आचार्यले बताउनुभयो ।
अनुगमनका क्रममा नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीले भारतीय सुरक्षाकर्मीसँग समेत सीमा स्तम्भहरुका बारेमा जानकारी लिनुभयो । टोलीलाई भारतीय सीमा सुरक्षा बल एसएसवी ८ नम्बर बटालियनका असई दिम्बु दासले स्तम्भहरुका बारेमा जानकारी गराउनुभएको थियो । सशस्त्र प्रहरी बल नेपाल बीओपी तिरीङ सारुगौडा दुधेचौर पाटापुरका अनुसार मेचीनगर—१ अन्तर्गत आफ्नो क्षेत्रको साढे ६ किलोमिटर क्षेत्रफलमा नेपाल भारत छुट्टयाउने सबैखाले ३३ वटा स्तम्भहरु भएपनि ६ वटा बाहेक बाँकी स्तम्भहरु कुन अवस्थामा कहाँ छन् अत्तोपत्तो छैन् । सशस्त्र प्रहरीका अनुसार अधिकांश स्तम्भहरु गायव छन् ।
केहि पुरिएका छन्, केहि चाहिँ खोलाले बगाएर लगिसकेको छ । सीमा स्तम्भहरु र सीमाका विषयमा हरेक महिनाको १ र १५ तारीख गरी मासीक २ पटक र आवश्यकता अनुसार नियमित पनि नेपाल तथा भारतीय सुरक्षाकर्मीको संयुक्तरुपमा गस्ती हुने गरेको छ । तर, नेपाली सुरक्षाकर्मी भने स्तम्भहरुका बारेमा बेखबर छ । ‘सीमामा दुई देशका सीमा सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेलाबेला हुन्छ’ एकजना प्रहरी अधिकृत भन्छन् —‘ कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेकोे छ । सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टस्मा छलफलसमेत हुने गरेको छ ।’
झापामा नेपाल भारतसीमा सुरक्षाका लागि शस्त्र प्रहरी पोष्ट वीओपी १८ वटा रहेकाछन् । डेढदेखि करीब १२ किलोमिटरको फरकमा स्थापना गरिएको छ ।
उता भारतले भने शसस्त्र सीमा बल (एसएसबी)लाई करिब ५ किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपाल तर्फको सीमा नाकाबाट आफ्नो उपस्थिती बढाउँदै लगेको स्थानीयको भनाई छ । भारतीय सीमा सुरक्षा बल (एसएबसी)को उपस्थिति भने बाक्लोरुपमा रहेको छ ।
प्रत्येक १÷२ किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको देख्न सकिन्छ । नेपाली सुरक्षा उपस्थिति निक्कै कम छ । स्रोत साधन र पर्याप्त जनशक्ति नभएका कारण नेपाली सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखाउन नसकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक प्रदिपसिहं कार्कीको भनाई छ । नेपाली सुरक्षाकर्मीको उपस्थिति कमजोर देखिएको छ । सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।’
सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छन् । भातरतर्फ भने अर्धसैनिक बल, एसएसबीको दह्रो उपस्थिति रहने गरेको स्थानीयको भनाई छ । सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमा स्तम्भ मर्मत उस्को कार्यक्षेत्रभित्र नपर्ने बताएको छ । ‘सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो’ एकजना प्रहरी अधिकारी भन्छन् —‘सीमा सुरक्षा कै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ ।’ अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदान प्रदानका एजेण्डामा बेला बेला बैठक पनि हुने गरेको छ ।
यसैगरी, प्रसादगौडाबाट माताचोकसम्म ६ किलोमिटरको दुरीमा ३४ वटा भएपनि २० वटा सीमा स्तम्भहरु हराएका छन् । १४ वटा पनि जीर्ण र मर्मत तथा सम्भारको प्रतिक्षमा छन् । वडानम्बर—५ को माताचोकदेखि कालिमन्दिरसम्मको डेढकिलो मिटर दुरीमा ११ वटा ८७÷७ देखि ८८÷१ सम्मका एघारवटा नेपाल भारत छुट्टयाउने सीमा स्तम्भहरु भएपनि ५ वटा गायब छन् । जस्का कारण वेला बखत दुवै देशबीच सीमाकै कारण समस्या हुने गरेको छ । कालिमन्दिरदेखि मेचीपुलसम्म आइपुग्दा ६ वटा स्तम्भहरु गायब छन् । त्यहाँ कुल १२ वटा सीमा स्तम्भहरु हुनुपर्ने हो ।
नेपाल भारत सीमा नाकामा रहेका सीमा स्तम्भहरु निरीक्षण गरेर फर्किए पछि अधिकाँश स्तम्भहरु हराएको धेरै जीर्ण अवस्थामा रहेको नगरप्रमुख आचार्यले प्रतिक्रिया दिनुभयो । धेरै सीमा स्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको उहाँको भनाई छ । फेला नपरेका, पुनःनिर्माण, मर्मत गर्नुपर्ने काम सबै नेपाल भारत दुवै देशका अधिकारी संलग्न टोलीले गर्नुपर्ने उहाँको जोड छ ।
नगरपालिकाभित्र खुलासीमा भएका कारण धेरै नोक्सान व्यहोर्नु परेको छ । त्यसैकारण नगरपालिकाले सीमा स्तम्भहरु र सीमाक्षेत्रको स्थलगत अवलोकन र निरीक्षण गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । यस्ले नेपाल तथा भारत दुबैदेशमा समस्या निम्तियाउने हुदाँ दुवै देशका अधिकारीले संयुक्त निरीक्षण गरी हराएका सीमा स्तम्भहरुको खोजी तथा मर्मत अभावमा नष्ट हुदै गएका स्तम्भहरुको उचित मर्मत तथा सम्भार गर्नुपर्ने उहाँको भनाई छ । समयमै नेपालपक्षले यसको रेखदेख र स्याहार सम्भार नगरे भविष्यमा समस्या चुलिदै जाने र स्तम्भहरु नै हराउन सक्ने अवस्था श्रृजना हुदाँ नेपाली भूमि जोखिममा पर्ने भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो ।
सीमा स्तम्भबारे स्थानीय प्रशासन बेखवर हुनुु हुदैंन । दुईदेशका सुरक्षा निकायसंग हुने बैठकमा नेपालले सीमा स्तम्भका बारेमा पटक पटक कुरा उठाउनु पर्छ । हरेक बैठकमा प्रमुख एजेण्डाका रुपमा स्तम्भ र सीमाक्षेत्रमा हुने गतिविधिका बारेमा कुरा उठाउनुपर्छ । हराएकाको खोजतलास गर्र्ने नक्शामा खोज्ने नभेटिए नापी गरेर स्तम्भ गाडनेतर्फ ढिला गर्नुहुदैँन् ।