सत्तापक्षका सांसदले अवरोध गरेपछि प्रदेश एकमा संसद बैठक स्थगित

आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित

विराटनगर ,माघ २५ । आइतबार अबेर गरी चलेको प्रदेश एकको संसद बैठक सत्तापक्षका सांसदले अवरोध गरेपछि स्थगित भएको छ।

आइतबार दुई बजेका लागि बोलाइएको संसद् बैठक दिउँसो ३ बजेर ५८ मिनेट जाँदा सुरू भएको थियो।

सभामुख प्रदीप भण्डारीले बैठक सुरू गरे लगत्तै सत्तारूढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उठेर मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसदलाई यहाँ बस्न दिनुहुन्न भन्दै  विरोध गरेका थिए।

यसअघि आजै बसेको कार्यव्यवस्था समितिको बैठमा सत्तारूढ नेकपाका सांसदहरूले सूचना टाँसेर केही दिन संसद रोक्न गरेको मागको प्रस्ताव दाहाल-नेपाल पक्षसहित अरू दलले मानेका थिएनन्।

उनले कारबाहीमा परेका १६ जनालाई बाहिर निकालेर बैठक सुरू गर्नुपर्ने भन्दै विरोध गरेपछि प्रचण्ड माधव पक्षका सांसदहरूले त्यसको प्रतिरोध गरेका थिए।

प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव छल्न ओली पक्षले अराजनीतिक अडान देखाएको भन्दै  बैठक सुरू गर्न माग गरेका थिए।

तर सत्ता पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुखले आगामी फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन्।

माघ ७ मा तीन मिनेट चलेर सुरू हिउँदे अधिवेशन त्यसपछि एकैचोटी आज बसेको हो।

Exit mobile version