२१ साउन, काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा तीन दिन ‘बन्धक’ बनाइएको र विज्ञप्ति बनाएर पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइएको दाबी गरेकी छन्।
उनले बिहीबार पत्रकार सम्मेलन गरेर त्यस्तो दाबी गरेकी हुन्। आफूलाई एमालेमा आउन निरन्तर दबाब र प्रलोभन दिइएको पनि उनले बताइन्।
आफू उपचारका लागि नेपालगन्ज जान लागेको समयमा एमालेका लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफूलाई गाडीमा बुटवल पुर्याएको आरोप उनले लगाएकी छन्।
‘साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहें,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुईतीनवटा माइनटजस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो।’
त्यति भइसकेपछि घर जान पाइने र बाहिर आएर जबर्जस्तीबारे खण्डन गर्ने भनेर सोचे पनि झनै कडाइ गरेर साउन १९ गते पनि मुख्यमन्त्री निवासमै राखिएको उनले बताएकी छन्।
असह्य मानसिक पीडा भएपछि साउन २० गते बिहानै आफू त्यहाँबाट भागेको उनको दाबी छ।
अपराह्न पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको उनले बताएकी छन्।
‘जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें, त्यसबेला म मानसिक रुपमा निकै थकित भएकाले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ,’ उनले भनेकी छन्।
राजनीति र सरकारको खेलमा यस्तो घटना आफूले पहिलो पटक बेहोरेको उल्लेख गर्दै उनले उनले आफू माओवादी केन्द्रप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्।
आफ्नो नाम अघि सारेर एमाले लुम्बिनी प्रदेश दलले फैलाएका भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुटो भएको उनले बताएकी छन्।
माओवादी केन्द्रसँग नजिक रहँदै आएकी उनी केही समययता सम्पर्कविहीन बनेकी थिइन्।
एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा अस्तित्वमै रहँदा सोही पार्टीबाट उनले चुनाव जितेकी थिइन्। पति उत्तरकुमार वलीको मृत्यु भएपछि तत्कालीन नेकपाबाट उपचुनाव लडेर उनी प्रदेशसभा सदस्य भएकी थिइन्।
लुम्बिनीमा सत्ता टिक्छ कि ढल्छ भनेर चौतर्फी चासो बढिरहेको छ। सत्ता टिकाउने र गिराउने खेलमा यस्तो घटना भइरहेको भनी राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।
हेर्नुहोस् विज्ञप्ति
