प्रेरक प्रसंग : अनुभवको अनुमान

संकेतिक तस्वीर

भारत रत्नबाट सम्मानित इन्जिनियर विश्वेश्वरैया आफ्नो विषयको गमभीर ज्ञानको कारण समस्त भारतभर चर्चित छन् । उनै विश्वेश्वरैया त्यस समय रेलमार्फत कतैको यात्रामा थिए । उनी रेलको जुन डिब्बामा थिए, सो डिब्बामा अंग्रेज अधिकारी पनि थिए । रेल आफ्नै गतिमा चलिरहेको थियो । अचानक विश्वेश्वरैया आफ्नो स्थानबाट हतार हतार उठेर आकस्मिक रुपमा रेल रोक्न प्रयोग गरिने जन्जिर ताने । ती अंग्रेज अधिकारीले उनलाई त्यसो गर्नबाट रोक्न खोजे । तर उनले जन्जिर तानेरै छाडे । केही बेरमै रेल रोकियो । रेल रोकिनासाथ रेलका सुरक्षा अधिकारीसहित कर्मचारीको टोली आएर उनीसित यसरी रेल रोक्नुको कारण सोधे ।

रेल अधिकारीको प्रश्नपछि विश्वेश्वरैयाले भने, केही अगाडि रेलको लिकमा समस्या आएको छ । यही गतिमा रेल चलाउदा पल्टिने सम्भावना समेत रहन्छ । त्यसैले केही अगाडिसम्म विस्तारै सावधानीपूर्वक रेल चलाउनु आवश्यक छ । यही सूचना तपाईंहरुलाई दिन मैले यो जन्जिर तानेको हुँ ।’ त्यहाँ उपस्थित कसैलाई पनि उनको भनाइमा विश्वास भएन । ज्योतिषको जस्तो विश्वेश्वरैयाको भविष्यवाणी माथि कसैले पनि विश्वास गरेनन् । तर केही अघि पुग्दा नपुग्दै रेलको लिक साँच्चै बिग्रेको पाइयो। यो देख्दा रेलका अधिकारी र यात्रु अवाक् बने ।

उनीहरु सबैले विश्वेश्वरैयालाई धन्यवाद दिदै यो जान्न चाहे कि उनले रेलको लिकमा समस्या आएको कसरी अनमान गरेका थिए ? उनले भने‘, जब रेल आफ्नै गतिमा दौडिरहेको थियो, त्यतिखेर म ध्यानपूर्वक यसको पांग्रा र लिकको घर्षणबाट निस्कने आवाज सुनिरहेको थिएँ । त्यो आवाज समान्य थिएन । रेलको लिकमा समस्या हुँदा निस्कने आवाज थियो त्यो । मैले त्यसैका आधारमा जुन अनमान गरेको थिएँ, आखिर त्यो सत्य सावित भइछाड्यो । यो मेरो अहिलेसम्मको अनुभवको अनुमान हो ।’

Exit mobile version